कपिलदेव खनाल
१४ माघ, नुवाकोट । पासाङ ल्हामु राजमार्गअन्तर्गत नुवाकोटको मदानपुरमा शनिबार भएको मिनीट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
मिनीट्रकमा यात्रा गरिरहेका अन्य १० भन्दा बढी यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको चतुराले गाविस-७ की ५५ वर्षीया ठुली तामाङ र मदानपुर-७ का ५ वर्षीय बालक युवराज लामा छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले मदानपुरबाट विवाहका पाहुना लिएर ओखरपौवातर्फ जाँदै गरेको बा.२ख ३९ नम्बरको मिनीट्रक मदानपुर-९ केउरेनीमा सडकबाट करिब तीस मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ पठाका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ । साँघुरो सडक र क्षमताभन्दा बढी यात्रु बोकेका कारण मिनीट्रक दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसैबीच प्रहरीले मिनीट्रकका चालक सूर्य तामाङलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।