सिनेमामा डिजिटल प्रबिधि

पाँचसात वर्षअघिसम्म महिनामा बल्लतल्ल दुई तीनवटा चलचित्र बन्थे । तैपनि दर्शकको भीड हुन्नथियो । कुनै कुनै चलचित्रले मात्र सफलता हासिल गर्थे । तर अहिले समयले काँचुली फेरेको छ । सबै चलचित्रमा दर्शकको आकर्षण नभएपनि चलचित्र निर्माणको संख्या बढेको छ । यसमा राजनीतिक कारण त एउटा हो नै । त्यो भन्दा महत्वपूर्ण कुरा यसमा प्रविधिले काम गरेको निर्माता निर्देशकहरुको भनाई छ ।

हरेक क्षेत्रमा प्रविधिले फड्को मार्दै जाँदा सिने क्षेत्र पनि यही क्रममा अगाडि बढेको छ । हिजोआज नेपाली चलचित्रमा डिजिटल प्रविधि नौलो हुन छाडेको छ । पाँच वर्षअघि निर्माण भएको कागबेनीले नेपाली दर्शकलाई डिजिटल प्रविधिको स्वाद दिएपछि यसको अनुसरण हृवात्तै हुन थालेको हो । कागबेनीपछि निर्देशक आलोक नेम्वाङको सानो संसार भन्ने चलचित्र पनि डिजिटल प्रबिधिमा आयो । यसले सबैतिरबाट प्रशंसा बुटुल्न थालेपछि निर्माताहरु यसतर्फ आकषिर्त हुन थाले । कागबेनी, सानो संसार, म तिमीबिना मरिहाल्छु, सलाम छ मायालाई, गिरफ्तार, सिलसिला, हाम्रो गन्तव्य, कहाँ भेटिएला लगायतका चलचित्र हुँदै पछिल्लो समयमा अरु धेरै चलचित्रमा डिजिटल प्रविधिको प्रयोग भएको छ ।

‘पूरानो एनालग प्रविधीमा बनेका चलचित्र भन्दा सफा र राम्रो दृष्य देखिने भएकाले डिजिटललाई धेरैले रुचाएका हुन्’ निर्देशक शोभित बस्नेतले भन्नुभयो -’डिजिटल प्रविधिले नेपाली चलचित्रको मुहार फेर्न थालेको छ ।’ यस्तै भनाई छ निर्माता तथा निर्देशक अशोक शर्माको पनि । ‘लगानीकर्तालाई बजेट घटाउन र जतिसुकै हलमा पनि एकैचोटी फिल्म देखाउन सकिने भएकाले डिजिटल प्रविधि अझै विस्तार हुनेछ’ उहाँले भन्नुभयो ।

डिजिटल प्रविधिमा बनाइएका चलचित्र डिजिटल प्रविधि जोडिएका सवै हलमा एकैचोटी देखाउन सकिन्छ । काठमाण्डूका बिभिन्न हल सहित बिर्तामोड, धरान, दमक, विराटनगर, राजविराज, जनकपुर, वीरगन्ज, नारायणघाट, पर्सा, पोखरा, नेपालगन्ज लगायत देशका दर्जनौं सिनेमा हलमा डिजिटल प्रविधी जोडिएको छ । सबैतिर एकैचोटी चलचित्र चलाउन सकिने भएकाले व्यापार राम्रो हुने भएकाले निर्माताहरु पनि डिजिटल प्रविधितिरै आकषिर्त छन् ।

निर्माण तीव्र

एनालग प्रविधि आफैंमा झण्झटिलो र ढिलो प्रविधि हो । डिजिटल प्रविधि भित्रिएपछि सबैतिर जस्तै सिनेमामा पनि सजिलो भएको छ । पहिले एनालग प्रविधि हुँदा बर्षमा सरदर ३० वटा चलचित्र बन्थे । तर डिजिटल प्रविधि भित्रिएपछि ७० देखि ८० वटासम्म बन्न थालेका छन् । लगानी पनि घटेको छ । यसले निर्माता, निर्देशकसँगै कलाकारहरुलाई पनि उत्साहित बनाएको छ ।

 

 

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु