८ पुस, काठमाडौं । भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसीयारीले भाजपाका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी भन्दैमा नेपालमा हिन्दु राज्य नआउने बताउनु भएको छ ।
नेपाली जनताको चाहना छिटो नयाँ संविधान जारी होस् भन्ने रहेको भन्दै उहाँले भन्नुभयो-‘संविधानसभा मार्फत नेपाली जनताले हिन्दु राष्ट्र चाहे अवश्य पनि आउँछ तर भाजपाका नेता नरेन्द्र मोदी, अध्यक्ष राजनाथ सिँह र मैले चाहेर यहाँ हिन्दु राष्ट्र हुँदैन ।’ यद्यपि मोदी र सिंहले कहिल्यै पनि नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा नगरेको उहाँले स्पष्ट पार्नुभयो ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा भाजपा उपाध्यक्ष कोसियारीले बहुसंख्यक हिन्दु रहेको राष्ट्रलाई सबैले हिन्दु बाहुल्य राष्ट्र भन्ने र हिन्दुत्व संस्कार भएकोले कसैले पनि नष्ट पार्न नसक्ने बताउनुभयो । नेपालमा राजतन्त्रात्मक वा बेलायती मोडल जस्तो सुकै भए पनि प्रजातन्त्र र विकास हुनु पर्ने भारतीय चासो भएको स्पष्ट पार्दै उहाँले नेपालमा स्थिर सरकार बने आफैंले भारतका मन्त्रीहरुसँग नेपाली नेताहरुलाई लगेर पञ्चेश्वर बाध निर्माणको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले अब छिटो संविधानसभा गठन गरेर अधिकांश दलहरु मिलेर सरकार बनाएर जनताको मतको सम्मान गर्न दलहरुलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो-‘भारतमा अटल विहारी बाजपेयीले २४ दलको सरकार ६ वर्षसम्म चलाउन सक्छन् भने नेपालमा प्रमुख दलहरु मिलेर सरकार बनाउन किँन सक्दैनन ?’
भाजपा उपाध्यक्ष भगतसिंह कोसीयारीले नेपालमा संघीय राज्य हुनु पर्ने तर, कुन मोडलको संघीयता भन्ने कुरा नेपालका राजनीतिक दलहरुले निधो गर्नु पर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया 4