+
+
Shares

लुम्बिनी क्षेत्रमा बुद्धकालीन पुरातात्विक वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १४ गते १८:१३

Lumbini-abases

सलमान खान

१३ भदौ, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रस्थित आमा गाविस-४ अमहावाको दानव नदीमा बुद्धकालीन पुरातात्विक वस्तु फेला परेको छ ।

स्तम्भ र इनारजस्तो देखिने ईंट्टा र ढुङ्गाले बनेको जमीनमुनि रहेको उक्त वस्तु नदीले जमीन कटान गरेपछि फेला परेको हो । नदीको किनारमा गत भदौ १ गते उक्त बुद्धकालीन पुरातत्विक वस्तु फेला परे पनि संरक्षणको अभाव रहेको छ ।

लुम्बिनी क्षेत्रको दानव नदीमा पुरातात्विक वस्तु फेला परेको छ । सन् १९६४ को रिपोर्टमा त्यहाँको जमिनमुनि एक प्राचीन नगरको अवशेष रहेको उल्लेख थियो

माथि चारपाटे र तल गोलो आकारमा रहेको प्राचीन ईट्टा र ढुङ्गाले बनेको उक्त वस्तु के हो भन्ने अहिलेसम्म कुनै पुष्टि भएको छैन । इनारजस्तो देखिने उक्त वस्तु नदीभित्र ३० फिटभन्दा तल रहेको स्थानीय माझीहरु बताए । नदीमा आएको बाढीले किनारामा कटान गर्दा उक्त वस्तु सतहमा फेला परेको हो ।

फेला परेका सो वस्तुसँगै सेतो र कालो ढुङ्गा (बेल्क एण्ड वाइट स्टोन), घैटो, खपडा (माटोलाई आगोमा पोलेर बनाइने सामाग्री) लगायतका विभिन्न किसिमका बुद्धकालीन पुरातत्विक वस्तु फेला परेको स्थानीयहरुले बताएका छन् ।

संरक्षणको अभाव

Lumbini-abases-1बुद्धकालीन वस्तु फेला परेको करिब २ साता बितिसक्दा पनि सरकारले संरक्षणका लागि चासो नदेखाएको स्थानीयहरुले बताएका छन् ।

पुरातत्विक वस्तुलाई संरक्षण गरी बुद्ध सर्किटभित्र राख्न स्थानीयहरुले माग गरेका छन् । नदी किनारमा उक्त वस्तुलाई संरक्षण नगरे नदीमै नष्ट हुने उनीहरुको चिन्ता छ । ‘बुद्धकालमा नदीको छेऊमा पम्पापुर नामक एक राज्य थियो । त्यहाँ बाक्लो वस्तीसमेत थियो’, स्थानीय सय वर्षीय वृद्ध बलदारो लोदले अनलाइनखबरसँग भने ‘अब त्यही बुद्धकालीन राज्यका प्राचीन वस्तुहरु फेला पर्न थालेका छन् ।’

लोदले भने, ‘यदी त्यहाँ उत्खनन् गर्ने हो भने जमीनमुनि प्राचीन नगरको अवशेष पाइने धेरै सम्भावाना छ ।’

स्थानीय दुर्योधन बढईका अनुसार पुरातत्विक वस्तु फेला परेको स्थानबाट पहिले नदी करिब ५ सय मिटर पूर्वमा बग्ने गरेको थियो । तर, विस्तारै नदीले आफ्नो मुहान पश्चिमतिर परिवर्तन गर्दै आएर जमीन कटान गरेपछि बुद्धकालीनका पुरातात्विक वस्तुहरु त्यहाँ फेला पर्न थालेको हो ।

पुरातत्विक वस्तु फेला परेको स्थानको जमीन मुनि प्राचीन नगरको अवशेष रहेकोमा कुनै शंकाको विषय नरहेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत कृष्ण केसीले अनलाइनखबरसँग भने ।

केसीका अनुसार सन् १९६४ मा सो स्थानमा उत्खनन् कार्य भएको थियो । त्यसबेलाको रिपोर्टमा पनि जमिनमुनि एक प्राचीन नगरको अवशेष रहेको उल्लेख गरिएको थियो ।

हाल फेला परेको वस्तुको तल्लो भाग गोलो आकारमा रहेकाले प्राचीन इनार हुने सक्ने, तर माथिल्लो भाग चारपाटे आकारमा भएको हुनाले प्राचीन नगरको स्तम्भको संम्भावना समेत रहेको केसीले बताए । ‘हामीले अनुसान्धानका लागि नमुना लिएर पुरातत्विक विभाग काठमाण्डौमा पठाएका छौं,’ उनले भने, ‘त्यो वस्तु के हो भन्नेबारे रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ ।’

Lumbini-abases-2

हाल फेला परेको वस्तु र स्थलको संरक्षण आवश्यक रहेको बताउँदै केसीले संरक्षणका लागि लुम्बिनी विकास कोष र पुरातत्विक विभाग दुवैको पहल आवश्यक रहेको बताए ।

नदीले जमिन कटान गरेपछि मायादेवी मन्दिरमा रहेको प्राचीन ईट्टाले जस्तै बनेको देखिने उक्त वस्तु बुद्धकालीन वा बुद्धकाल भन्दा एक दुई सय वर्ष अघि वा पछिको पनि हुन सक्ने केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?