७ माघ, काठमाडौं । रसिलो र खरो अभिव्यक्तिका लागि माहिर एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचान कपटी शब्द भएको बताएका छन् ।
आफ्नै निवास बालकोटमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने-‘आफ्नो नामका पछाडि थर लेखिएकै छ । नाम छ, थर छ, पहिचान त पाइएकै छ नि ।’
सँगै रहेका पार्टी उपमहासचिव विष्णु पौडेललाई देखाउँदै उनले भने-‘विष्णुप्रसाद पौडेल । उहाँको पहिचान यही हो । उहाँलाई पहिचानको विष्णुप्रसाद राज्य दियो भने के त्यो राज्यका सबै विष्णुप्रसाद पौडेल हुन्छन् ?’
पहिचानको माग जनतालाई अलमल्याउने, द्वन्द्व र हिंसा फैलाउन भएको उनले बताए । संविधानसभामा भएको तोडफोडका क्रममा आफूमाथि चारपटक माइकले हानेको तर, एकपटक मात्र लागेको उनले बताए । उनले अघि भने-‘गोरुलाई नाङ्गै देख्दा मलाई लाज लाग्दैन ।’
हेर्नुहोस् भिडियो
बोको हराम जस्तो बनाउन खोजिएको भन्दै उनले भने-‘सुडान, रुवाण्डाको जस्तो हाम्रो बाटो होइन । अन्त कतैबाट बोकाउन खोजिएको हामी बोक्न तयार छैनौं ।’
आफूहरु माघ ८ अघि नै दौड पूरा गर्न तयार रहेको तर, सम्वाद समितिका सभासद डा. बाबुराम भट्टराईले तीन महिना आफ्नो खुट्टा समाएको बताए ।
उनले भने-‘एउटा पाइला कुद्न खोज्यो समाएको छ, अर्को पाइला चाल्न खोज्यो समाएको छ ।’
एमाले अध्यक्ष ओलीले सविधानसभामा माओवादीले वितण्डा मच्चाइरहेको बताए । उनले भने-‘जब संविधानसभा सकियो, त्यसपछि तोडफोड भयो । अचम्मैसँग तोडफोड गरे । कुन गाउँबाट आएको जस्तो लाग्छ, हेर्दा मान्छेजस्तै छन् ।’
संविधानसभामा डा. बाबुराम भट्टराईले महाभारत हुन्छ भनेको तर्फ संकेत गर्दै उनले भने-‘मध्यरातमा महाभारत हुन्छ भनेको के रहेछ भनेको त मलाई माइक्रोफोनले हान्ने पो रहेछ ।’
०४७ सालमा घाटमा पुगिसकेको भूत फर्किएको भट्टराईको टिप्पणीको पनि उनले जवाफ दिए । आफूले ०४७ सालको संविधान फर्काउन नखोजेको भन्दै कुनै पनि खालको प्रतिगमन नेपालमा फर्कन नसक्ने उनले स्पष्ट पारे ।
माओवादीमा अहिले तानाशाहको भुत सवार रहेको भन्दै उनले भने-‘मसान जगाउन सजिलो हुन्छ, बसाउन गाह्रो हुन्छ । त्यही भएर अझै आफैं कुटिएको ।’
माओवादीहरुले भन्ने गरेको जनसंविधान र अग्रगामी संविधान भनेको के भन्दै ओलीले आफूहरुले शान्ति, लोकतन्त्र र समतामूलक समाजसहितको संविधान बनाउन खोजेको बताए ।
यो समाचार पनि पढ्नुहोस् – सहमतिमा संविधान बन्नै सक्दैन : ओली
प्रतिक्रिया 4