+
+
Shares

करोडौं कस्तूरी उपन्यास अंश : सपना

सानो छँदा निदाएर होइन, ब्युँझिएरै सपना देख्थें ।
हाम्रो झुप्रो घर टाढाबाट हेर्दा खरको थुप्रोजस्तै देखिन्थ्यो । त्यस्तो घरमा तलो हुने कुरै भएन । घरको छानामा प्रशस्त घिरौंला, लौका, फर्सी फलेका थिए । कहिलेकाहीँ त लाग्थ्यो, कतै हाम्रो घरको छानोले नै नधान्ने पो हो कि ? फर्सी त छानै प्वाल पारेर धुरीबाट भित्र भान्छामा या ओछ्यानमा खस्ने पो हो कि ? आमाले भन्नुभयो- ‘छानामा गएर घिरौंला र फर्सी टिप् त बाबु ।’

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २६ गते ९:१५

पहिले
सानो छँदा निदाएर होइन, ब्युँझिएरै सपना देख्थें ।
हाम्रो झुप्रो घर टाढाबाट हेर्दा खरको थुप्रोजस्तै देखिन्थ्यो । त्यस्तो घरमा तलो हुने कुरै भएन । घरको छानामा प्रशस्त घिरौंला, लौका, फर्सी फलेका थिए । कहिलेकाहीँ त लाग्थ्यो, कतै हाम्रो घरको छानोले नै नधान्ने पो हो कि ? फर्सी त छानै प्वाल पारेर धुरीबाट भित्र भान्छामा या ओछ्यानमा खस्ने पो हो कि ? आमाले भन्नुभयो- ‘छानामा गएर घिरौंला र फर्सी टिप् त बाबु ।’
karosauko-kasturiबाँसको सानो भर्‍याङ चढेर म छानामा गएँ । आमाले फेरि भन्नुभयो- ‘बर्खाले गर्दा छानो गलेको छ, बिस्तारै टेक् है । नत्र छानामा प्वाल पर्छ !’

ठूलो मान्छे जाँदा छानोले धान्न सक्तैन भनेर आमाले म सानो मान्छेलाई पठाउनुभएको । म सानो मान्छेले पनि छानोमा बिस्तारै टेक्नुपर्ने भयो । आफ्नो तौललाई कसरी हलुङ्गो बनाएर छानोमा टेक्नुपर्छ भन्ने मलाई थाहा थियो ।

बाँसको भर्‍याङ चढेर त्यति सानो झुप्रो घरको छानो हुँदै धुरीमा पुग्दा पनि मलाई भर्‍याङ लगाएर पृथ्वीबाट चन्द्रमामा उक्लिरहेको भान भयो । लाग्यो, मैले चन्द्रमामा फलेका घिरौंला, फर्सी र लौकाहरु टिप्दै छु ।

धुरीबाट टाउको उठाएर यसो माथि हेरें, टाउकोमाथि बादल, आकाश र आकाशका परिवारबाहेक कोही थिएनन् । घाम, जून र ताराहरुजस्तै सपनाहरु पनि आकाशमै हुन्छन् जस्तो लाग्यो । ती सपनाहरुलाई बेलाबेलामा बादलले छोप्छ ।

पृथ्वी आकाशमा छ, मान्छे पृथ्वीमा । स्कुलका सरले भनेको सम्झें- ‘पृथ्वीको क्षेत्रफल एकाउन्न करोड बहत्तर हजार (५१,००,७२,०००) वर्ग किलोमिटर छ ।’ लाग्थ्यो, पृथ्वी विशाल छ तर मेरो सपनाको पृथ्वी, पृथ्वीभन्दा पनि विशाल छ । ब्यूँझिएरै देख्ने सपनामा पनि म आकाशजस्तै अनन्त आकाशको ओतमा मनको पृथ्वीको भ्रमण गरिरहेको हुन्थें ।

लाग्यो, यति सानो घरको धुरीमा चढ्दा त मैले यति ठूलाठूला सपना देखेको छु भने अझ हाम्रो गाउँको सबैभन्दा ठूलो र अग्लो सालको रूखमाथि टुप्पामा, अझ परपर देखिएका ती गगनचुम्बी पहाडका टुप्पामा, अझ सगरमाथाको टुप्पामा पुग्न सके कस्तो सपना देख्थें हुँला ? साँच्चै, चन्द्रमामा नै पुग्न सके झन् कस्तो सपना देख्थें हुँला ?

यो विशाल ब्रहृमाण्डको एउटा सानो ग्रह पृथ्वी, पृथ्वीको एउटा सानो देश नेपाल, नेपालको एउटा सानो जिल्ला चितवन, चितवनको एउटा सानो गाविस पार्वतीपुर, पार्वतीपुरको एउटा सानो गाउँ पश्चिम रङ्गीला, पश्चिम रङ्गीलाको एउटा सानो झुप्रो हाम्रो घर, त्यही घरको एउटा सानो मान्छे म । मलाई ब्रहृमाण्डले देख्छ कि देख्तैन होला ? देख्छ भने कत्रो देख्छ होला ?

यति सूक्ष्म अस्तित्व लिएर बाँचेको म ब्रहृमाण्ड जत्रै सपना देख्थें । आकाशका ताराहरुले मलाई आफूजत्रै देख्छन् होला जस्तो सोच्थें । लाग्थ्यो, यो ब्रहृमाण्डमा अणुबराबर सानो अस्तित्व भए पनि मेरो शक्ति अणुको जत्तिकै छ । किनभने, मसँग ननिदाई देख्ने सपना छ ।

अहिले
त्यो सपनाको आकाश, जहाँ मेरो जीवनका घाम, जून र ताराहरु थिए, जहाँ म आˆना रहरका जहाजहरु उडाउँथें, जहाँ कल्पनासागरबाट उडेको बाफ बादल बन्थ्यो र दुःखको मरूभूमिमा बर्सन्थ्यो । अहिले त्यो आकाश कहाँ गयो होला ? ती घाम, जून र ताराहरु कहाँ अस्ताए होलान् ? दुःखको मरूभूमिमा बर्सने वर्षा कहाँ गयो होला ?

आफूभित्र खुब खोजें । सपनाको आकाश अलिकति बाँकी बसेको रहेछ । आकाशको अर्को नाम अनन्त हो । तर मेरो कल्पनापुरको आकाश त साँघुरिएर एउटा घरको सिलिङजत्रै पो भएछ । घाम, जून र ताराहरु मधुरा बल्बजस्ता भएछन् । सायद यी कोइलाको पिण्ड हुने तयारीमा छन् । यति सानो सपनाको आकाशमा अब मेरा खिया लागेका रहरका जहाजहरु कसरी उड्लान् खै ?

जे भए पनि कल्पनापुर पुगेर एउटा उपन्यास लेख्नु थियो मलाई । त्यसैले सानै आकाश भए पनि एकपटक भावनाको जहाज सपनाको आकाशमा उडाएर कल्पनापुर जाने तयारी गरें ।
… … …
र यसरी गएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?