कमल मादेन
जनसंख्याको बदलिँदो अवस्थासँगै नेपालमा जातजातिहरुको अवस्थितिमा उलटपुलट भएको छ । पछिल्लो तथ्यांक अनुसार पहाडे बाहुन र नेवार लगायतका केही जातिहरु घटेका छन् भने क्षेत्री, मधेसी, मुसलमान र कामीको जनसंख्या प्रतिशत घटेको छ । पहाडे जनजातिको पनि प्रतिशत घटेको छ ।
राष्ट्रिय जनगणना २०६८ ले १२५ जाति तथा समुदायहरुको पहिचान गरेको छ । तीमध्ये सबैभन्दा बढी संख्यामा आदिवासी जनजाति अन्तर्गत ६३ समुदाय सुचीकृत छन् । तिनको संख्याको ३५.८० प्रतिशत छ । तीमध्ये पहाड र हिमालका ४९ तथा तराईका १४ समुदाय समावेश छन् । तराईका जनजातिहरु भने देशभरका १ हजार १ सय ९७ गाविसमा शून्यको संख्यामा छन् ।
मधेसी अन्य जातअन्तर्गत ३५ समुदाय समेटिएको छ । दलित अन्तर्गत पहाडे र तराई दलित भनेर क्रमशः ५ र १० समुदाय उल्लेख छ । ब्राह्मणमा पहाडे ब्राह्मण र मधेसी ब्राह्मण छुट्टाछुट्टै छ । मधेसी ब्राह्मणलाई तराई ब्राह्मण, कायस्त, नुराङ र राजपुत गरी ४ जातमा विभक्त गरिएको छ ।
बढेका जाति | घटेका जाति |
---|---|
क्षेत्री | पहाडे बाहुन |
यादव | नेवार |
तेली | राई |
मुसलमान | दमाई |
कामी | मगर |
ठकुरी | तामाङ |
सार्की | थारु |
चमार | लिम्बू |
कोइरी | गुरुङ |
पहाडे क्षेत्री अन्तर्गत क्षेत्री, ठकुरी र सन्यासी (गिरी, पुरी, वन, भारती इन्यादि)गरी ३ समुदाय छन् । त्यसैगरी अन्यमा बंगाली, मारवाडी र पंजाबी गरी ३ अनि मुसलमानमा १ समुदाय सुचीकृत छ ।
थपिएका जाति
मधेसी अन्य जातअन्तर्गत अमत, धान्डी, धान्कार/धारीकार, कथबानियन, कोरी, नथुवा, राजधोब र सर्बरिया ०६८ को जनगणनाामा थपिएका हुन् ।

आदिवासी जनजाति अन्तर्गत आठपहरिया, बाहिङ, बान्तावा, चाम्लिङ, खालिङ, कुलुङ, लोहरुङ, मेवाहाङ बाला, नाछिरिङ, साम्पाङ, थुलुङ, याम्फू (राईबाट छुट्टिएका) यसैपटक थपिएका हुन् ।
त्यसैगरी आदिवासी जनजातितर्फ डोल्पो, घले (गुरुङबाट छुट्टिएका), खवास, ल्होमी, ल्होपा र तोप्केगोला पनि यसै पटक थपिएका हुन् ।
संख्या बढी भएका जाति
यस लेखमा १ प्रशितभन्दा बढी संख्या भएका जाति तथा समुदायहरु कहाँ के कति संख्यामा छन् भन्ने संक्षिप्तरुपमा विवेचना प्रस्तुत गरिएको छ । लेखमा उल्लेख भएका धेरैजसो तथ्यांकहरु ‘सोसियल इन्क्लुजन एटलस् अफ नेपाल : इथ्निक एण्ड कास्ट ग्रुप्स’ (२०१४) र ‘नेपाल एटलस् अफ इथ्निक एण्ड कास्ट ग्रुप्स’ (२००६)बाट साभार गरिएका हुन् ।
नेपालमा रहेका १२५ जात तथा समुदायमध्ये १८ को संख्या १ प्रतिशतभन्दा बढी छ । तीमध्ये सबैभन्दा बढी संख्या क्षेत्री र घटी संख्या कोइरीको छ ।
क्षेत्रीहरु बढे
नेपालमा क्षेत्रीहरु १६.६४ प्रतिशत अर्थात ४३ लाख ९८ हजार ५३ संख्यामा छन् । क्षेत्रीको संख्या ०५८ देखि ०६८ सम्ममा १.४२ प्रतिशत बृद्धि भएको देखिन्छ । त्यो बृद्धि दर १ प्रतिशत भन्दा बढी संख्या हुनेमा सबैभन्दा बढी हो । क्षेत्रीहरुको संख्या अहिले पनि बढिरहेको अनमान लगाउन सकिन्छ । क्षेत्रीहरु ८ लाख ४ हजार ५ सय ५७ संख्यामा बढेका हुन् ।
क्षेत्रीहरु दार्चुलामा ७०.६४ प्रतिशत छन् । त्यसैगरी क्षेत्रीको बाहुल्यता रहेको अर्को जिल्ला बाजुरा हो । बाजुरामा क्षेत्री ६५.३८ प्रतिशत छन् ।
क्षेत्रीको संख्या नै बढी भएको जिल्ला भने काठमाडौ हो । तर प्रतिशतमा भने काठमाडाैंमा बाहुन बढी छन् । काठमाडौमा क्षेत्री ३ लाख ७८ हजार ९ सय २४ संख्यामा छन् । क्षेत्रीको संख्या १ लाखभन्दा बढी अछाम, बैतडी, बझाङ, दैलेख, डोटी, झापा, कैलाली, कन्चनपुर, काठमान्डु, मोरङ, रुकुम, सल्यान र सुर्खेतमा छ ।
क्षेत्रीहरु सबैभन्दा कम मुस्ताङ र रसुवामा क्रमशः २ सय ६३ र १ हजार १ सय ३९ संख्यामा छन् ।
पहाडे बाहुन घटे
पहाडे ब्राह्मण ३२ लाख २६ हजार ९ सय ३ संख्यामा छन् । त्यो कुल जनसंख्याको १२.१८ प्रतिशत हो । पहाडे ब्राह्मण ०५८ भन्दा ०६८ मा ०.५६ प्रतिशत घटेका छन् ।
तर, काठमाडौमा भने ०६८ मा ८४.८६ प्रतिशत वृद्धि भएको छ । पहाडे ब्राह्मण काठमाडौमा ०५८ मा दोस्रो स्थानमा थिए । तर, ०६८ मा कुल जनसंख्याको २३.५१ प्रतिशत पुगी सबैभन्दा बढी हुनेमा दर्ज भएको छ ।
काठमाडौमा पहाडे ब्राह्मण ४ लाख १० हजार १ सय २६ संख्यामा छन् । दश बर्षअघि मात्र २ लाख २१ हजार ८ सय ५५ संख्यामा मात्र थिए ।
उसो त काठमाडौमा देशभरका पहाडे ब्राह्मणमध्ये १२.७० प्रतिशत छन् । ती ०५८ जनगणनामा १ लाख भन्दा बढी काठमाडौ, झापा, चितवन, कास्की, मोरङ, रुपन्देही र स्याङजा जिल्लामा थिए । ०६८मा उल्लेखित ६ जिल्ला बाहेक नवलपरासीमा पनि १ लाख कटेको छ । तर, स्याङ्जा भने पहाडे ब्राह्मण ०६८ को जनगणनामा १५ हजार ५७ संख्यामा घटेका छन् ।
मगर
नेपालमा मगरहरु ७.२९ प्रतिशत अर्थात १८ लाख ८७ हजार ७ सय ३३ संख्यामा छन् । मगर ०५८ भन्दा ०६८ मा ०.०२ प्रतिशत घटेको छ । मगर देशभरमा सबैभन्दा बढी पाल्पामा ५२.२९ प्रतिशत छ । पाल्पामा मगर १ लाख ३६ हजार ५ सय ८८ संख्यामा छन् । पाल्पापछि धेरै मगर नवलपरासीमा १ लाख १२ हजार ३ सय ३१ संख्यामा छन् । रोल्पा, रुपन्देही र तनहुँ जिल्लाहरुमा पनि मगर १ लाखकै हाराहारीमा छ ।
माथि उल्लेख भएका ४ जिल्लासँग जोडिएको स्याङ्जामा मगरको संख्या ६२ हजार ६४ छ । मगरहरु स्याङ्जा सहितका ५ जिल्लामा कुल जनसंख्याको २७.७८ प्रतिशत छन । म्याग्दी, रुकुम, पाल्पा लगायतका जिल्लाका १ सय ८७ गाविसमा मगरको संख्या ५० प्रतिशत भन्दा बढी छ ।
थारु
तराई आदिवासी जनजाति अन्तर्गत सुचीकृत थारु ६.५६ प्रतिशत छन् । तिनको संख्या ०५८ भन्दा ०६८ मा २ लाख ३ हजार ५ सय ९१ बृद्धि भए पनि त्यसयता ०.१९ प्रतिशत घटेका छन् । थारुको संख्या १७ लाख ३७ हजार ४ सय ७० छ ।
बर्दियामा थारुहरु ५३ प्रतिशत छन् । उक्त जिल्लामा थारुको संख्या २ लाख २६ हजार ८९ छ । तर, संख्याको हिसाबले सबैभन्दा बढी थारु भएको जिल्ला कैलाली हो, जहाँ थारुको संख्या ३ लाख २२ हजार १ सय २० छ ।
थारुहरु दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा क्रमशः २९.५, १५.६५, ५३, ४१.५८ र २५ प्रतिशत छन् । उल्लेखित ५ जिल्लामा थारुको संख्या ३२.१५ प्रतिशत छ । सुनसरीमा थारु मात्र ११.९८ प्रतिशत छन् । तराईका ९६ गाविसमा थारुको संख्या ५० प्रतिशत भन्दा बढी छ ।
तामाङ
नेपालमा तामाङ ५.८१ प्रतिशत छन् । कुल जनसंख्यामा प्रतिशतको हिसाबले तामाङको जनसंख्या १० वर्षमा घटेको छ । तर, तामाङको संख्या भने ०६८ मा २ लाख ५७ हजार ५ सय २६ बृद्धि भएको छ । तामाङ मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र धाधिङमा क्रमशः ४७.८ ४२.८४, ३४.४२, ३४.०१ र २२.०९ प्रतिशत छन् । रसुवामा अझ बढी ६८.७८ प्रतिशत छन् । त्यस्तै अर्घाखाँची, बैतडी, जाजरकोट, कालीकोट, रुकुम, रोल्पा र सल्यानमा १ सय भन्दा कम संख्यामा छन् ।
नेवार
नेपालमा नेवारका संख्या ४.९९ प्रतिशत छन् । नेवार ०५८ मा ५.४८ प्रतिशत थिए । नेवार काठमाडौंँ ०५८ सम्म सबैभन्दा बढी संख्यामा थिए । संख्यामा नेवारलाई काठमाडौंमा ०६८ देखि पहाडे ब्राह्मणले उछिनेको छ ।
नेवारहरु काठमाडौमा अहिले मात्र २१.९६ प्रतिशत अर्थात ३ लाख ८३ हजार १ सय ३६ संख्यामा छन् । काठमाडौ जिल्लामा नेवार पहाडे ब्राह्मण भन्दा २६ हजार ९ सय ९० संख्यामा कम छन् । नेवार भक्तपुर र ललितपुरमा क्रमशः ४५.५८ र ३३.२३ प्रतिशत छन् । नेवारको संख्या बाजुरा, दार्चुला, डोल्पा, हुम्ला र कालीकोटमा १ सय भन्दा कम छ ।
हुम्लामा नेवार मात्र २६ को संख्यामा छन । १९ गाविस तथा नगरपालिकामा नेवारको संख्या ५० प्रतिशत भन्दा बढी छ । देशभर १ हजार ३ सय २० गाविसमा नेवार शुन्य संख्यामा छन् ।
कामी
कामी जातिको संख्या नेपालमा ४.७५ प्रतिशत छ । ती ०.८१ प्रतिशत बढेका छन् । क्षेेत्रीपछि बढी बृद्धि प्रतिशत कामीमा भएको छ । तिनको संख्या ७५ जिल्लामा झण्डै समानरुपमा छ । ती सबैभन्दा बढी कैलालीमा ६५ हजार ८७ छन् । त्यसपछि सुर्खेतमा ६४ हजार १ सय ४९ संख्यामा छन् । मनाङमा कामीहरु सबैभन्दा कम २ सय ४६ संख्यामा छन् । काठमाडौमा १८ हजार ४ सय ८ संख्यामा छन् । म्याग्दी र बाग्लुङका ५ गाविसमा कामीको संख्या ५० प्रतिशत भन्दा बढी छ ।
मुसलमान
नेपालमा मुसलमान ४.३९ प्रतिशत छन् । सबैभन्दा बढी बाँके जिल्लामा १८.९८ प्रतिशत छन् । तर, संख्याका आधारमा मुसलमान सबैभन्दा बढी रौतहटमा १ लाख ३५ हजार ५ सय १९ जना छन् ।
कपिलवस्तुमा पनि मुसलमान १ लाख ३ हजार ८ सय ५६ संख्यामा छन । मुसलमान ०५८ भन्दा २०६८ मा ०.१२ प्रतिशत बृद्धि भएको छ । मुसलमानहरु ताप्लेजुङ, मुस्ताङ, मनाङमा क्रमशः २, ३ र ४ जनाको संख्यामा मात्रै छन् ।
यादव
मधेसी अन्य जात समुदाय अन्तर्गत सुचीकृत यादव ३.९८ प्रतिशत छन् । ०६८ मा यादवको संख्या १ लाख ५९ हजार २ सय १५ बृद्धि भएको छ । ०५८ मा यादव ८ लाख ९५ हजार ४ सय २३ संख्यामा थिए । यादवको संख्या सप्तरीदेखि रौतहटसम्मका ६ जिल्लामा १६.७९ प्रतिशत छ ।
यादवहरु प्रतिशतका आधारमा सबैभन्दा बढी सिरहा जिल्लामा २४.३८ प्रतिशत छन् । यादवको संख्या १ लाख भन्दा बढी धनुषा, सप्तरी, सर्लाही र सिराहा जिल्लामा छ । यादवहरु मुस्ताङ, मनाङ र जाजरकोटमा मात्र ४/४ जना छन् । यादवको संख्या ३३ गाविसमा ५० प्रतिशत भन्दा बढी छ ।
राई
नेपािलमा राईहरु २.३४ प्रतिशत छन् । राई ०५८ मा २.७९ प्रतिशत थिए । राईको बाहुल्य सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ्ग, भोजपुर जिल्लामा छ । धनकुटा र इलाममा पनि राई मनग्यै छन । सबैभन्दा बढी राई खोटाङ र भोजपुरमा छन् । ती २ जिल्लामा राई कुल जनसंख्याको ३४.२५ प्रतिशत छ । राई ०६८ को जन गणनामा टुकि्रएर आठपहरिया/अठप्रे, बाहिङ, बान्तावा, चाम्लिङ, खालिङ, कुलुङ, लोहरुङ, मेवाहाङ बाला, नाछिरिङ, साम्पाङ, थुलुङ, याम्फुका रुपमा अलग्गै सुचीकृत भएका छन् । ०५८ को जनगणनामा नै उल्लेखित भाषा बोल्नेको संख्या छुट्टै दर्ज भएको थियो ।
गुरुङ
गुरुङको १.९७ प्रतिशत अर्थात ५ लाख २२ हजार ६ सय ४१ छ । गुरुङहरु कास्की, लम्जुङ, गोर्खा, चितवन जिल्लामा बढी छन् । तर प्रतिशतका आधारमा मनाङमा गुरुङ बढी छन् । मनाङमा गुरुङ ५२.४ प्रतिशत छन् । तर, उक्त जिल्लामा गुरुङको संख्या मात्र ३ हजार ४ सय २६ मात्र छ ।
गुरुङ २०६८ को जन गणनामा ०.४२ प्रतिशत घटेका छन् । गुरुङको संख्या ५६ गाविसमा ५० प्रतिशतभन्दा माथि र ६२ गाविसमा २५ देखि ५० प्रतिशतसम्म छ ।
दमाई
नेपालमा दमाईको संख्या १.७८ प्रतिशत छ । उनीहरु अर्थात ४ लाख ७२ हजार ८ सय ६२ संख्यामा छन् । दमाईलाई पश्चिममा धोली पनि भनिन्छ । दमाईको संख्या ०.०६ प्रतिशतले घटेको छ । दमाई सबैभन्दा बढी कैलाली, सुर्खेत र झापामा क्रमशः १७ हजार १ सय ९२, १५ हजार ७ सय ८१ र १५ हजार २ सय ६ संख्यामा छन् । कामीजस्तै दमाई पनि ७५ जिल्लामा बाहुन बराबरी छन् । देशभर दमाईको संख्या १५ गाविसमा मात्र १५ प्रतिशत भन्दा बढी छ । त्यसैगरी १ हजार ८ सय १४ गाविसमा दमाईको संख्या १ देखि ५ प्रतिशत छ ।
ठकुरी
ठकुरी १.६१ प्रतिशत अर्थात ४ लाख २५ हजार ६ सय २३ संख्यामा छन् । तिनको संख्या ०.१४ प्रतिशत बृद्धि भएको छ । ती दैलेख र कालीकोटमा बढी छन् । ती २ जिल्लामा ठकुरी क्रमशः ३६ हजार ८ सय १६ र ३४ हजार ३ सय ५० संख्यामा छन् । मध्य पश्चिमाञ्चलका १० गाविसमा ठकुरीको संख्या ५० प्रतिशत भन्दा बढी छ । त्यसैगरी कालीकोट र जुम्ला लगायतका जिल्ला अर्न्गतका ५७ गाविसमा ठकुरीको संख्या २५ देखि ५० प्रतिशत छ । ठकुरी मनाङ र सोलुुखुम्बुमा मात्र ११ र १३ संख्यामा छन् ।
लिम्बू
पूर्वी नेपालमा बसोबास गर्ने लिम्बूहरु १.४६ प्रतिशत अर्थात ३ लाख ८७ हजार ३ सय संख्यामा छन् । ०५८ मा लिम्बू १.५८ प्रतिशत थिए । लिम्बूको घनत्व ताप्लेजङ, पाँचथर, तेह्रथुममा छ । अघिल्ला ३ जिल्लामा लिम्बूको जनसंख्या ४० प्रतिशत छ ।
धनकुटा र इलाममा पनि लिम्बूको संख्या उल्लेखनीय छ । ताप्लेजुङ र पाँचथरका ४३ गाविसमा लिम्बूको संख्या ५० प्रतिशत भन्दा बढी छ । त्यसैगरी ८९ गाविसमा लिम्बूको संख्या २६ देखि ५० प्रतिशत छ ।
सार्की
नेपालमा सार्कीहरु १.४१ प्रतिशत छन् । सार्की ०६८ को जन गणनामा ०.०१ प्रतिशत बढेको छ । सार्की गोर्खा, धादिङ र बाग्लुङमा अन्य जिल्लामा भन्दा बढी छन् । ती ३ जिल्लामा सार्की क्रमशः २० हजार ५ सय ५९, १६ हजार २ सय ४२ र १४ हजार ९ सय १८ संख्यामा छन् । रसुवामा सार्कीको संख्या मात्र ४ छ ।
तेेली
मधेसी अन्य जातअन्तर्गत सुचीकृत तेली १.४० प्रतिशत अर्थात ३ लाख ६९ हजार ६ सय ८८ संख्यामा छन् । तेली ०६८ मा ०.०६ प्रतिशत बृद्धि भएको छ । तेली सप्तरी, सर्लाही र धनुषामा सबैभन्दा बढी क्रमशः ४६ हजार ७ सय १३, ४१ हजार ३ सय २३ र ३९ हजार २ सय ११ संख्यामा छन् ।
चमार
चमारलाई हरिजन र राम भनेर पनि चिनिन्छ । चमार १.२७ प्रतिशत छन् । ०६८ मा चमार ०.०८ प्रतिशत बृद्धि भएको छ । सप्तरीदेखि पर्सा र नवलपरासीदेखि कपिलवस्तुसम्मका ११ जिल्लामा चमारको संख्या २१ हजार देखि ३६ हजारसम्म छ ।
ती ११ जिल्लामा देशभरका चमारमध्ये ८३.५५ प्रतिशत छन् । चमारको बसोबास भारतीय सीमाक्षेत्रमा बढी छ ।
कोइरी
कोइरी मधेसी जात हो, जसलाई कुशवाहा पनि भनिन्छ । कोइरी जात १.१६ प्रतिशत छन् । कोइरीकोे संख्या ०५८ मा ०.०५ प्रतिशत बढेको छ । ती सर्लाही, सिराहा, धनुषा, महोत्तरी, सुनसरी जिल्लामा बढी छन् । कोइरी ५ जिल्लामा कोइरी क्रमशः ६१ हजार १९, ३८ हजार ३ सय २५, ३८ हार १ सय ७६, ३६ हजार १ सय ७१ र ३० हजार ५ सय ३७ संख्यामा छन । कोइरी अर्घाखाँची, डडेलधुरा, दार्चुला र डोल्पा जिल्लामा छैनन् । कोइरीजस्ता शब्दावली भएको तराईमा मधेसीको अर्को जात कोरी पनि छ, जुन पश्चिम तराईमा बसोबास गर्छन् ।
अझै थपिँदैछन् जातजाति
नेपालमा अझै जाति तथा समुदाय पहिचान/सुचीकृत हुने क्रममा छन् । जनजातिको सुचिमा पहिचान अझै भै नसकेको जनजाती अन्य भनेर १ हजार २ सय २८ संख्या मुक्तसिंह तामाङ र ओम गुरुङ सम्पादित पुस्तक ‘सोसियल इन्क्लुजन एटलस् अफ नेपाल : इथ्निक एण्ड कास्ट ग्रुप्स’ (पृष्ठ ७ र ९) मा उल्लेख गरिएको छ ।
अन्य दलित भनेर जनगणना १ लाख ५५ हजार ३ सय ५४ को पहिचान हुन बाँकी देखाइएको छ । त्यसैगरी तराई अन्य, बिदेशी र पहिचान नभएका अन्य भनेर जम्मा १ लाख २५ हजार ७ सय ३९ जना जनाइएको छ । त्यो कुल जनसंख्याको १.०४ प्रतिशत हुन आउँछ । आगामी जनगणना २०७८ मा फेरि जात तथा समुदाय निश्चय नै थपिने छन् ।
तालिकाः १ प्रतिशत भन्दा बढी संख्या भएका जातिहरु
क्र.स | समुदाय | संख्या | प्रतिशत | संख्या बढी भएका जिल्ला |
---|---|---|---|---|
१ | क्षेत्री | ४३,९८,०५३ | १६.६ | काठमाडौ, दार्चुला, बाजुरा, अछाम, बझाङ, दैलेख, डोटी, झापा, कैलाली कन्चनपुर, मोरङ, रुकुम, सल्यान, सुर्खेत |
२ | पहाडे ब्राह्मण | ३२,२६,९०३ | १२.१८ | काठमाडौ, झापा, चितवन, कास्की, मोरङ, रुपन्देही |
३ | मगर | १८,८७,७३३ | ७.१२ | पाल्पा, स्याङजा, रोल्पा, रुपन्देही, तनह |
४ | थारु | १७,३७,४७० | ६.५६ | बर्दिया, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा |
५ | तामाङ | १५,३९,८३० | ५.८१ | रसुवा,मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, धाधिङ |
६ | नेवार | १३,२१,९३३ | ४.९९ | भक्तपुर, ललितपुर, काठमाडौ |
७ | कामी | १२,५८,५५४ | ४.७५ | कैलाली, सुर्खेत |
८ | मुसलमान | ११,६४,२५५ | ४.३९ | बाँके, रौतहट, कपिलवस्तु |
९ | यादव | १०,५४,४५८ | ३.९८ | सप्तरी, धनुसा, सर्लाही र सिराहा |
१० | राई | ६,२०,००४ | २.३४ | खोटाङ्ग, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, |
११ | गुरुङ | ५,२२,६४१ | १.९७ | मनाङ, कास्की, लम्जुङ, गोर्खा, चितवन |
१२ | दमाई/धोली | ४,७२,८६२ | १.७८ | कैलाली, सुर्खेत, झापा |
१३ | ठकुरी | ४,२५,६२३ | १.६१ | ठकुरी दैलेख, कालीकोट |
१४ | लिम्बू | ३,८७,३०० | १.४६ | ताप्लेजङ, पाँचथर, तेह्रथुममा |
१५ | सार्की | ३,७४,८१६ | १.४१ | गोर्खा, धादिङ, बाग्लुङ |
१६ | तेली | ३,६९,६८८ | १.४० | सप्तरी, सर्लाही, धनुषा |
१७ | चमार/हरिजन/राम | ३,३५,८९३ | १.२७ | सप्तरी देखि पर्सा र नवलपरासी देखि कपिलवस्तुसम्म |
१८ | कोइरी/कुसवाह | ३,०६,३९३ | १.१६ | सर्लाही, सिराहा, धनुषा, महोत्तरी, सुनसरी |
श्रोतः ‘सोसियल इन्क्लुजन एटलस् अफ नेपाल : इथ्निक एण्ड कास्ट ग्रुप्स’ (२०१४)
प्रतिक्रिया 4