२९ साउन, काठमाडौं । सप्तरीदेखि पर्सासम्मको मधेस-प्रदेशलाई पहाड र हिमालसँग जोडियोस् भन्दै एमालेका मधेसी नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली एवं मधेसबाटै प्रतिनिधित्व गर्ने नेता माधवकुमार नेपाललाई बुधबार घेराबन्दी गरे ।
पहाडसँग नजोडिएको मधेस प्रदेश माग्दै आएका फोरम नेता उपेन्द्र यादवले सोही दिन संसदमै भने-सप्तरीदेखि पर्सासम्मको मधेस प्रदेशले पहिचान त पाउँछ, तर त्यसको सामथ्र्य हुँदैन ।
मधेसका बुद्धिजिवी र अगुवाहरुले मधेसवादी दलकै कारण मधेसी जनतालाई कंगाल प्रदेश दिन खोजिएको भन्दै बरु सप्तरी सिराहा चाहिँदैन, तर पहाडी जिल्लाहरु चाहियो भन्न थालिसकेका छन् ।
मधेसमात्रको प्रदेश माग्दै आएका मधेसवादी दलहरु अहिले आफैं लाजले घरबाहिर निस्कन नसक्ने अवस्थामा पुगेको बाराका पत्रकार शुभासप्रसाद साहले बताए । उनका अनुसार पहाडबाट अलग हुनुपरेकोमा मधेसी जनताले मधेसवादी दलका नेतालाई दोषी देख्न थालेका छन् ।
‘हिजो मधेस प्रदेश माग्नेहरु आज साँच्चिकै मधेस प्रदेश पाए पनि भित्रभित्रै लाज मानेर बसेका छन्, पहाडविनाको मधेस प्रदेश सबैभन्दा कंगाल हुन्छ भन्ने उनीहरुलाई पनि थाहा छ’ मधेस अधिकारका लागि कलम चलाउने पत्रकार साहले भने ।
मधेस प्रदेश पाएपछि मधेसी जनताको प्रतिक्रिया बुझ्न रौतहट हुँदै जनकपुर पुगेका पत्रकार राजु श्रेष्ठका अनुसार पहाड र हिमालबाट अलग गरिएकोमा मधेसका सर्वसाधारण चिन्तित छन् ।
श्रेष्ठ भन्छन्- बबन सिंहदेखि फोरमका नेता प्रदिप यादवसम्मले पहाडबिनाको मधेस प्रदेश ‘मेघा-बिहार’ हुन सक्ने प्रतिक्रिया दिएका छन् । हिजो मधेसको मात्र प्रदेश माग्नेहरु आज साँच्चिकै त्यो प्रदेश पाउँदा पनि सन्तुष्ट छैनन् ।
एमालेका मधेसी नेता असन्तुष्ट
एमालेका मधेसी नेताहरुले पहाड र हिमालविनाको मधेस प्रदेश कंगाल हुने र त्यहाँ जातीय र सामाजिक सन्तुलन बिग्रने भन्दै कम्तिमा रामेछाप, दोलखा, सिन्धुली र उदयपुरलाई पनि मधेस प्रदेशमै मिसाउनुपर्ने माग गरेका छन् ।
एमाले केन्द्रीय सदस्य तथा जनकपुरका नेता श्रीप्रसाद साहले भने- कथित मधेसवादीको माग पूरा गर्ने नाममा मधेस र पहाडका जनतालाई अलग गर्न खोजिएको छ, यसले राष्ट्रिय हित पनि गर्दैन, मधेसका जनताको हित पनि गर्दैन ।’
एमालेका सभासद शत्रुघ्न महतोले सीमांकनको राति अन्तिम बेलासम्म पनि सिन्धुली र रामेछापमात्रै भए पनि प्रदेश नम्बर २ मा पार्न नेताहरुलाई लबिङ गरेका थिए ।
‘मधेसलाई पहाडबाट अलग गर्नु भनेको विहारीकरण गर्नु हो’ महतोले चेतावनीकै भाषामा आफ्ना नेताहरुलाई भनिसकेका छन् ।
अहिले मधेसवादी दलका कार्यकर्ताहरु मधेस प्रदेशको पक्ष वा विपक्ष कता लाग्ने भन्नेमा अन्योलग्रस्त छन् । एमालेका मधेसी नेता कार्यकर्ता भने खुलेरै बिरोधमा छन् । कांग्रेसभित्र अलमल छ ।
पत्रकार साह भन्छन्-‘मधेसी जनता पहाड र भित्री मधेसबाट अलग हुन चाहँदैनन् । पहाडको जल, जंगल र जडिबुटी अनि मधेसको जमिनको प्रयोगबाट मात्रै सम्बृद्ध प्रदेश बन्छ भन्ने आम मधेसीको बुझाइ हो ।’
जातीय समीकरण र प्राकृतिक स्रोत सम्पन्नताका लागि पनि मधेस प्रदेशमा पहाडका जिल्ला मिसाउनुपर्छ भनेर आफूहरुले अभियान चलाएको युवा संघका मधेस ब्यूरो प्रमुख सञ्जिव झा बताउँछन् । ‘कथित मधेसवादीको स्वार्थका लागि मधेसी जनताको सम्बृद्धिको सपना सौदा गर्न सकिन्न’ उनले भने ‘हामी पहाडबाट अलग भएर बस्न सक्दैनौं’ ।
मधेसवादी दलले मधेसमा आम हड्तालसहितको आन्दोलन घोषणा गरे पनि मधेसी जनताले साथ नदिएको एमाले नेताहरुको दाबी छ । सम्भवतः यही भएर मधेसी नेता उपेन्द्र यादव, राजेन्द्र महतोहरुको ध्यान पश्चिमको थारु आन्दोलनतिर बढी केन्द्रित भएको छ ।
मधेसवादी नेताहरुले पहाड चाहियो भनेर मुख नखोले पनि झापा, मोरङ सुनसरी मागेर आन्दोलन गर्ने सोच बनाएका छन् । तर, सप्तरी सिराहा नै पूर्व लगेर पहाड दिनुपर्ने माग गरिरहेका मधेसी जनताले यो मुद्दामा पनि साथ दिने अवस्था छैन ।
पत्रकार साह भन्छन्- विगतमा मधेसको आन्दोलनमा जनता आफैं उत्रिन्थे, अहिले चोकमा केही मधेसवादी दलका कार्यकर्ताबाहेक कोही देखिँदैनन् ।
प्रतिक्रिया 4