- सुरक्षाको कारण रौतहटका गाउँमा रहेका प्रहरी चौकी गाभिएपछि बन्दोबस्तीका सामान लगेर नजिकको ईलाका प्रहरी कार्यालयमा जाँदै प्रहरी
गौतम श्रेष्ठ
९ भदौ, गौर । सुरक्षाको कारण देखाउँदै रौतहट जिल्लाका दुई दर्जन भन्दा बढी प्रहरी चौकीहरुलाई स्थानान्तरण गरी ईलाका प्रहरी कार्यालयहरुमा गाभिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुको लामो समयदेखि जारी आन्दोलनले परिस्थिति असहज भएको भन्दै ग्रामीण भेगका चौकीहरुलाई स्थानान्तरण गरिएको हो ।
शान्ति सुरक्षाको दृष्टिकोणले अनिश्चितकालसम्म चौकीहरु स्थानान्तरण गरिएको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तिया, इलाका प्रहरी कार्यालय पिप्रारजवडा लगायतका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टका सुरक्षाकर्मीलाई नजिकका पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ ।
जिल्ला सुरक्षा समन्वय समितिको निर्णयअनुसार जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार भएपछि ती स्थानमा यथावत रूपमा प्रहरी परिचालन गरिने पनि उनले बताए ।
मंगलबार रौतहटको गौरस्थित कबिर चोकमा प्रहरीको गोली लागि मठीया गाविस ६ महुलिया टोलका महिन्द्र ठाकुरको छोरा राजकिशोर यादवको मृत्यु भएपछि स्थानीयले मठीया गाविसको प्रहरी चौकीमा आगो लगाइदिएका थिए ।
स्थानीय त्रसित
परिस्थिति असहज भएपछि स्थानीय प्रशासनले गौरमा दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । सो घटनापछि रौतहटवासीमा त्रास बढेको छ । सुरक्षाकर्मीले ताकेर गोली प्रहार गरेको स्थानीयको आरोप छ । तर स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्रमा प्रदर्शन गर्दै प्रहरीहरुमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको बताउँदै आएको छ ।
कविर चोकमा जम्मा भएको युवा समूहलाई पछाडि हटाउने प्रयास गर्दा पनि प्रर्दशनकारी उग्र भएको र अश्रुग्यास, हवाई फायर गर्दा पनि ढुंगामुढा गर्न नछोडे पछि प्रहरीले बाध्य भएर गोली चलाएको जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रवक्ता डिएसपी सुधिर राज शाहीले बताए ।
सुरक्षाकर्मीले आवश्यक्ता भन्दा बढी बल प्रयोग गर्दै अन्याय गरेको र जथाभावी गोली प्रहार गरेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ताले आरोप लगाए ।
‘ठाकुरको मृत्युपछि राजनीतिक दलका नेताहरुलाई शव राखिएकोस्थल जिल्ला अस्पतालमा पनि प्रवेश गर्न दिएको छैन,’ अध्यक्ष गुप्ताले भने, ‘राणाकालको जस्तो व्यवहार गर्दै सरकारले घोर अन्याय नै गरेको छ ।’
शव जिम्मा लगाउने तयारी
ठाकुरको शव राखिएको स्थानमा प्रहरीको बाक्लो उपस्थिति छ । साथै सो स्थानमा दलका नेता र सर्वसाधारणलाई पनि प्रवेश गर्न दिइएको छैन ।
जिल्ला अस्पताल गौरमा राखिएका मृतक ठाकुरको शव आफन्तजनको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
लगातार १२ दिनसम्मको बन्दका कारण निकै सास्ती खेपीरहेका स्थानीयले अहिलेको आन्दोलन राजनीतिक मुद्दा भएकाले शीर्ष नेताहरुले तुरुन्त सम्बोधन गर्दै समस्या समाधान गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया 4