१४ भदौ, काठमाडौं । भारतीय गृहमन्त्री एवं सत्तारुढ दल बीजेपीका नेता राजनाथ सिंहले नेपालमा रहेका भारतीयहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । उत्तर प्रदेशको महाराजगञ्ज आएका गृहमन्त्री सिंहले आइतबार नेपालको सीमामा खटिएका सीमा सुरक्षाबलका अधिकारीहरुसँग भेटघाट गरेपछि उनले नेपालमा रहेका भारतीयका विषयमा कुरा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
‘यद्यपि मधेसी समस्या नेपालको आन्तरिक मामिला हो, तर भारत सरकारले नेपालमा बसोबास गरिरहेका १ करोड भारतीयहरुको संरक्षण गर्नुपर्छ,’ राजनाथको भनाइ उधृत गर्दै पत्रकार पीयुष श्रीवास्तवले इण्डिया टुडेमा समाचार लेखेका छन् ।
मधेसको आन्दोलनमा भारतीय नेताको भौतिक सहयोग ?
इण्डिया टुडेले राजनाथको भनाइ सम्बन्धी सोही समाचारमा नेपालका मधेसी समुदायका विषयमा विवादास्पद समाचार छापेको छ । उसले मधेसीहरु भारतीय रहेको र उनीहरुले नेपाली नागरिकता लिएको उल्लेख गरेको छ ।
नेपालको आन्तरिक मामिलामा विवादास्पद टिप्पणी गर्दै उक्त समाचारमा यस्तो लेखिएको छ :
मधेसीहरु भारतीय हुन्, जो वर्षौं अगाडि नेपालमा बसाइँ सरेका थिए । जब धेरैले नेपाली नागरिकता पाए, तिनीहरुको बहुसंख्याले अहिलेसम्म नागरिकताविहीन छन् । मधेसीहरुलाई धेरै राजनीतिक एवं सैन्य संगठनहरुले नेपाल छाड्न धम्की दिँदै आएका छन् । जे भए पनि उनीहरुलाई बीजेपीले लामो समयदेखि समर्थन गर्दै आएको छ ।
योगी आदित्यनाथ, गोरखपुरका बीजेपी सांसद र गोरखनाथ मन्दिरका महन्तले नेपाल सरकार विरुद्ध भइरहेको मधेसीहरुको आन्दोलनलाई लजिस्टिक सपोर्ट गर्दै आइरहेका छन् । मधेसीहरु हिन्दुहरु हुन् । तथापि भारतीय मुस्लिम र क्रिश्चियनहरु पनि त्यहाँ छन् ।
युपी, बिहार र पश्चिम बंगालसँग जोडिएको नेपालको दक्षिणी भूभागलाई मधेस भनेर चिनिन्छ । जहाँको तराई क्षेत्रमा ३० प्रतिशत नेपालको जनसंख्याको बसोबास छ । तर, ४० प्रतिशत यहाँका नागरिकसँग अहिलेसम्म नेपाली नागरिकता र मतदानको अधिकार छैन । आफूहरुलाई नेपाल सरकारले वेवास्ता गरेको उनीहरुको दाबी छ ।
श्रीवास्तवले लेखेको सोही समाचार डेलीमेलमा पनि प्रकाशित छ ।
प्रतिक्रिया 4