१५ भदौ, काठमाडौं । सरकार र मधेसी मोर्चावीच उत्पन्न तनावले हिंसात्मक रुप लिइरहेका बेला मंगलबार अनलाइनखबरले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न गर्यो- अध्यक्षज्यू, तपाईको विचारमा अब यो संकटको निकास कसरी निकाल्न सकिन्छ ?
सरकार र मधेसी मोर्चावीच विगतमा भएको ८ बुँदे सहमति कार्यान्वयन भएको अवस्थामा स्वतः समस्या समाधान हुने यादवले अनलाइनखबरलाई बताए ।
तर, त्यो सम्झौताका धेरै विषयलाई अहिलेकै संविधानको मस्यौदाले सम्बोधन गरिसकेको प्रधानमन्त्री सुशील कोइरालाले बताइसकेका छन्, अझै कार्यान्वयन गर्नुपर्ने विषय के छ र ? यस्तो प्रश्न गर्दा यादवले भने, ‘मेरो आग्रह छ, त्यो सम्झौता एकपटक सुशील कोइरालालाई पढाइदिनोस् ।’
कसरी खोज्न सकिन्छ निकास ?
मधेसको आन्दोलनलाई साम्य पार्न र तपाईहरुको माग पूरा गर्न कसरी सकिन्छ ? यसका लागि सरकारले अब के-के गर्नुपर्छ ? अनलाइनखबरको अर्को प्रश्नमा यादवले भने- ‘संविधान स्वायत्त मधेस प्रदेशको खाकासहित आउनुपर्यो । आदिवासी जनजातिको प्रादेशिक स्वायत्तताको अधिकार संविधानमा सुनिश्चित हुनुपर्यो । समानुपातिक र समावेशी अधिकार संविधानमा उल्लेख हुनुपर्यो । पहिचानलाई मान्यता दिनुपर्यो ।’
नेता यादवले थपे- ‘मोर्चासँग पहिल्यै भइसकेको सम्झौता कार्यान्वयन हुनुपर्यो, गोली हान्न भएन ।’
अहिलेकै मस्यौदामा संशोधन हाल्दा के हुन्छ ?
यतिबेला संविधानसभामा मस्यौदा विधेयकमाथि संशोधन प्रस्ताव हाल्ने सातदिने कार्यसूची कार्यान्वयन भइरहेको छ । यस्तो बेलामा मधेसी मोर्चाले राखेका मागहरुलाई अहिलेकै संशोधन प्रक्रियाबाट नयाँ संविधानमा घुसाएर अघि बढ्न सकिन्छ कि सकिँदैन ? यसबारे फोरम नेता यादवले लचकदार जवाफ दिएका छन् ।
मस्यौदामा संशोधन प्रस्तावकै माध्यमबाट समस्या समाधान गर्न सकिने संकेत गर्दै उनले भने- ‘के गरेर जान्छन्, त्यो उनीहरु (सरकार)को विषय हो, तर हामीले भनेका र पहिले सहमति गरेका विषयहरुको सम्बोधन हुनुपर्छ ।’
आफूहरुले भन्दै आएको ‘पूर्ण समानुपातिक’ विषयमा चाहिँ सम्झौता हुँदा ‘कम्प्रोमाइज’ मा आउन सकिने यादवले बताए । तर, अहिलेको मस्यौदामा संघीयता, प्रादेशिक स्वायत्तता, समानुपातिक, समावेशिता एवं पहिचानको कुनै व्यवस्था नगरिएको उनले जिकिर गरे । उनले भने- ‘अहिलेको संविधानमा यी कुनै कुराहरु छैनन् ।’
‘सरकार हिटलरी दमनमा उत्रियो’
फोरम अध्यक्ष यादवले सरकार वार्ताप्रति सम्वेदनशील हुनुको साटो हिटलरी शैलीको दमनमा उत्रिएको आरोप लगाए ।
‘सरकार वार्ताप्रति सम्वेदनशील छैन, अझै नौटंकी गर्दैछ,’ यादवले भने-‘सरकार हिटलरी शैलीको दमनमा उत्रिएको छ, टाउकोमा ताकेर गोली हान्ने काम गरिरहेको छ ।’
सरकारले घोर साम्प्रदायिकता देखाएको यादवले आरोप लगाए । उनले भने-‘सरकार घोर साम्प्रदायिक देखियो, कर्णाली र सुर्खेतको आन्दोलनलाई तत्कालै सम्बोधन गरियो, किनभने उनीहरु सगोत्री थिए ।’
अझै पनि सरकार र आन्दालनेकारीवीच सहमति भएन भने के हुन्छ ? मधेसको जनजीवन तहस-नहस भइरहेको छ । शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रुप लिन थालिसकेको छ…. । अनलाइनखबरको चासोमा यादवले भने-‘अझै पनि टेरेनन् भने के-के हुन्छ, के-के हुन्छ ।’
मिडियासँग गुनासो
फोरम नेता यादवले अहिलेको परिस्थितिमा मिडियाले पनि सन्तुलित एवं जिम्मेवार भूमिका खेलिदिन आग्रह गरे । ‘तपाई मिडियाकर्मी साथीहरुले यस्तो बेलामा जिम्मेवार भइदिनुपर्यो । हिंसा राज्यले मच्चाएको हो, हामीले हैन भन्ने बुझिदिनुपर्यो ।’
प्रतिक्रिया 4