२८ भदौ, काठमाडौं । एमाओवादीका मधेसी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका छन् – मधेससँगको तपाईको प्रेम नक्कली थियो ?
सोमबार प्रचण्डसहितका एमाओवादी नेताहरुले पार्टीका असन्तुष्ट मधेसी नेताहरुसँग छलफल गरेका थिए । छलफलमा नेताहरुले मधेसलाई अधिकार दिने बेलामा नेतृत्वबाट धोका भएको भन्दै मधेससँगको प्रेमबारे प्रचण्डमाथि प्रश्न उठाएका हुन् ।
दुई वर्षअघि सर्लाहीको हरिवनमा भएको कार्यक्रममा मधेसबाट चुनाव लड्ने घोषणा गर्दै प्रचण्डले ‘मधेससँग लभ परेको’ बताएका थिए । त्यसपछि केही समय प्रचण्डले मधेसका जिल्लाहरुमा भएको कार्यक्रममा ‘मधेससँग लभ परेको’ भन्न छाडेनन् ।
संविधानसभामा पनि उनी काठमाडौं १० बाट पराजित भए पनि सिराहा ५ बाट निर्वाचित भए, जसले उनलाई मधेसको जनप्रतिनिधि बनायो ।
तर, अहिले मधेसका जनता मरिरहँदा प्रचण्ड मौन बसेको भन्दै एमाओवादीकै नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
एमाओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चाका संयोजक रामकुमार शर्माले अनलाइनखबरसँग भने-‘मधेससँग मेरो लभ पर्यो भन्नहुन्थ्यो । तर, मधेसका जनता मरिरहँदा किन लभ तोड्दै हुनुहुन्छ ? के त्यो प्रेम नक्कली थियो ? हामीले उहाँलाई प्रश्न गरेका छौं ।’
छलफलमा एमाओवादीका मधेसी नेताहरुले कम्तिमा थारु पहिचानसहितको प्रदेश बनाउन, समानुपातिक समावेशी सुनिश्चित गर्न र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने सुनिश्चित गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
‘अझै केही दिन समय छ, संविधानमा हस्ताक्षर गर्नु अघि १० पटक सोच्नुस् भनेका छौं’ शर्माले भने ।
यथास्थितिमा जारी हुने नयाँ संविधानले मुलुकको संकट समाधान नगर्ने र राष्ट्रियता पनि बलियो नबनाउने एमाओवादीका मधेसी नेता तथा सभासदको धारणा थियो ।
शर्माले भने-‘मधेसलाई कति दिन सेनाको ब्यारेक बनाउने ? दमन गरेर अहिले जसरी संविधान जारी गर्न खोजिएको छ । उसले एकातिर दिपावली हुँदा अर्कोतिर आगो लाग्छ ।’
एमाओवादीका मधेसी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई तपाईले त निर्वाचन क्षेत्र फेर्नुहोला तर, हामीले के गर्ने ? के मूल लिएर जनतामा जाने भन्दै प्रश्न गरेका थिए ।
छलफलमा एमाओवादी सभासद प्रभु साहले आफू संविधानसभाको प्रक्रिया बस्न नसक्ने बताए । जनताले दिएको म्याण्डेट विपरीत आफू जान नसक्ने उनले बताएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाकै प्रक्रियाबाट बाहिर नजाने आग्रह गरेका थिए । संविधान बनेपछि बाँकी अधिकार लागि आन्दोलनमा जाने प्रचण्डको प्रस्ताव थियो ।
तर, साहले आफू मधेसको अधिकार कटौती भएको अवस्थामा संविधनसभामा भाग लिन नसक्ने बताएका छन् ।
प्रतिक्रिया 4