२३ मंसिर, काठमाडौं । नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वाग्रहको गन्ध आएको बताएको छ । तर, एमालेका नेताहरु बयानका लागि जाने भएका छन् ।
अख्तियारले हालैमात्र पूर्वमन्त्री, सांसद, सचिवहरु लगायतका २९ जनालाई वयानका लागि बोलाएको थियो । एमालेका पूर्वमन्त्री एवं सांसद सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, वंशीधर मिश्र, इच्छाराज तामाङ, जर्नादन ढकाल र विजय पौडेललाई पनि अख्तियारले पत्र काटेको छ ।
चितवनमा मंगलबार सम्पन्न एमालेको तराई मधेसका अगुवा कार्यकर्ताको दुई दिने भेलामा यसबारे छलफल भएको थियो । भेलाले पारित गरेको १६ बुँदे प्रस्तावमा अख्तियारबारे समेत बोलिएको छ र, उसले अख्तियारको यो कदममा पूर्वाग्रहको गन्ध आएको बताएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भने-जुन समय रोजिएको छ र जस्ता व्यक्तिहरुलाई पत्र काटिएको छ, यो हेर्दा प्रतिशोध साँध्न खोजिएको जस्तो देखिएको छ ।’
एमालेले यसलाई आफ्नो प्रारम्भिक टिप्पणी भनेको छ । र, अख्तियारको कदमप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको भेलाले ध्यानाकर्षण गराएको छ ।
साथै अख्तियारले पत्र काटेका नेताहरु वयानका लागि अख्तियारमा जाने भएका छन् । ‘उहाँहरु जानुहुन्छ र आफ्ना कुरा राख्नुहुन्छ’ ज्ञवालीले भने-गलत छ भने पनि प्रतिवाद गर्न जानुपर्छ ।’
प्रतिक्रिया 4