गौतम श्रेष्ठ
६ पुस, रौतहट । रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक किशोरको मृत्यु भएको छ । घटनापछि कर्फ्यू लागेको छ ।
शनिबार विद्यार्थी नेता पक्राउ परेपछि तनावग्रस्त बनेको गौरमा आइतबार विहानबाट प्रदर्शनकारी र प्रहरीबीच विभिन्न चोकमा झडप सुरु भएको थियो ।
वीपी चोकमा भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर तेजापाकड गाविस १ का १५ वर्षका शेष तबरेज आलमको मृत्यु भएको छ ।घटनापछि वीपी चोक क्षेत्र साँझ सम्म पनि तनावग्रस्त बन्यो ।
झडपका क्रममा सुरक्षाकर्मीले १८ राउण्ड हवाइ फायर गरेका छ भने १२ राउण्ड रबरको गोली र तिन दर्जन भन्दा बढी अश्रुग्यासको सेल हानेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अश्रु ग्यास र हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआए पछि तथा प्रदर्शनकारीहरुले ढुङ्गामुढा सँगै पेट्रोल बम समेत प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी नरहरी बराल ले बताए ।
मृतक कक्षा १० का विद्यार्थी
जिल्ला प्रहरी कार्यालयको गेटमा सेन्ट्री बसेका प्रहरीले चलाएको गोली लाग्दा तबरेजको मृत्यु भएको हो । मृतक तबरेज गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयको कक्षा १० का विद्यार्थी हुन् ।
गौरकै पोखरीया टोलमा डेरा भाडा लिएर पढन बसेका विद्यार्थी मारिएपछि गौरको अवस्था तनावपूर्ण बनेको । प्रत्यक्षदर्शीका अनुसार तबरेज आन्दोलनमा सहभागी थिएनन । उनी सोही बाटो भएर डेरातर्फ फर्कँदै थिए ।
आन्दोलनका क्रममा प्रहरीले ताकेर गोली हान्दा विद्यार्थीको मृत्यु भएको भन्दै मधेसी मोर्चाका नेताहरुले आपत्ति जनाएका छन् ।
अनिश्चीतकालीन कर्फ्यू जारी
स्थितिलाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाममा साँझ ४ बजेबाट कर्फ्यू आदेश जारी गरेको छ ।
अर्को सूचना नभएसम्मका लागि गौर नगरपालिका क्षेत्रभित्र कर्फ्यू लगाएको प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलले बताए । प्रशासनले ४ बजेबाट कर्फ्यू घोषणा गरे पनि साँझ ६ बजेसम्म पनि प्रदर्शन भएको छ ।
सुरक्षाकर्मी र आन्दोलनकारबीच गौरको वीपी चोक, अदालत चोक र बैंक चोकमा साँझसम्मै झडप भएको थियो ।
प्रतिक्रिया 4