+
+

वर्तमान सरकार राष्ट्रवादी : उपप्रधानमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १२:०२

Kamal Thapa

३० पुस, दमक । उपप्रधानमन्त्री कमल थापाले नयाँ संविधान जारी भएपछि मुलुक नयाँ चरणमा प्रवेश गरेकाले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासको मार्गमा सबैको ध्यान जानुपर्ने बताएका छन् ।

बिहीबार बिहान झापाको दमक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री थापाले अहिले विभिन्न अप्ठ्यारा देखापर्नु स्वाभाविक भएको बताउँदै अब मुलुकको आर्थिक रुपान्तरणको लक्ष्यमा सबै एक भई जुट्नुपर्ने औंल्याए ।

वर्तमान सरकार राष्ट्रवादी सरकार भएको टिप्पणी गर्दै उनले मुलुक लामो समयदेखि विभिन्न खाले समस्यामा अल्झिएर समय खेर फाल्नुपरेकाले अब त्यस्तो हुन नदिन राजनीतिक दलमा बुद्धिमत्ता आउनुपर्छ भने । अन्तरक्रिया कार्यक्रममा उनले संविधान विशिष्ट प्रजातान्त्रिक ढङ्गले जारी भएको तथा यसमा असहमति राखेर मधेसवादी लगायतका केही दलले असन्तुष्टी राख्दा आत्तिनुपर्ने अवस्था नभएको भनाइ राखे ।

मधेसमा जारी आन्दोलनको अर्थ नभएको उल्लेख गर्दै उनले अब जनतालाई दुःख दिएर तथा जङ्गलमा बन्दुक पड्काएर आफ्ना माग स्थापित गराउने गलत राजनीतिक चरित्र उपयुक्त बाटो हुन नसक्ने ठोकुवा गरे । ‘मधेसवादी आन्दोलन र नाका अवरोध गरेर माग पूरा हुँदैनन्’, उनले भने । सरकार संविधान संशोधनमार्फत नै मधेसको मागलाई सम्बोधन गर्न हदैसम्मको लचक भएको स्पष्ट पारे । मधेसको गतिरोध छिट्टै अन्त्य हुने उल्लेख गर्दै मन्त्री थापाले भने, ‘अब आन्दोलन होइन, मुलुकको राष्ट्रियता बलियो बनाउन तथा मुलुकलाई समृद्ध बनाउन हातेमालो गरेर अघि बढौँ ।’

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले सरकारले चाँडै नै स्थानीय निकायको निर्वाचन गर्न दलसँग परामर्श गरेर अगाडि बढेको बताए । स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा लक्ष्यअनुरुप तल्लो तहमा विकास निर्माणका काम सन्तोषजनक रुपमा हुन नसकेको मन्त्री थापाको टिप्पणी थियो ।

त्यस अवसरमा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगरपालिकाले विकास निर्माणलगायत विभिन्न क्षेत्रमा सञ्चालन गर्न लागेका आधा दर्जन योजना पूरा गराउन सहयोगको माग राखेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?