३० पुस, काठमाडौं । सरकारले अन्तराष्ट्रिय समुदायलाई भूकम्प पछिको पुनर्निर्माण महाअभियान माघ २ गतेदेखि सुरु हुने जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाएर सहयोगका लागि आग्रह गरेका हुन् ।
उनले माघ २ गतेदेखि रानीपोखरी र बुङमतीबाट पुनर्निर्माण महाअभियान सुरु गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री ओलीले लिखित मन्तव्य राख्दै भूकम्प प्रभावित जिल्लाहरुमा तत्कालका लागि अत्यावश्यक सामाग्री पुर्याइने र भौतिक संरचनाहरु निर्माणको काम सुरु गर्ने बताए ।
भूकम्प लगत्तै नेपाल सरकारले आयोजना गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा सहभागी भइ सहयोगको प्रतिबद्धता जनाउनेहरु सबैलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए । नेपालको विकासका लागि फेरि पनि अन्तराष्ट्रिय समुदायको सहयोग आवश्यक परेको भन्दै ओलीले थप सहयोग पाउने अपेक्षा नेपाल सरकारले गरेको बताए ।
संविधान जारी भएपछि असन्तुष्ट पक्षले आन्दोलन जारी राख्दा देश अशान्त भएको, सोही अशान्तिका कारण सीमामा अवरोध भएपछि इन्धन आपूर्तिमा समस्या भएको र यसले पुनर्निर्माणको कामसमेत ढिलाइ भएको ओलीले बताए । तर, अब असन्तुष्ट दलहरुसँग छलफल गरी समस्या समाधानको नजिक पुगेको भन्दै ओलीले अब पुनर्निर्माणको कामले पनि गति लिने बताए ।
बालुवाटारमा नेपालस्थित सबै कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी थिए ।
प्रतिक्रिया 4