+
+

दुई पटक किरिया गरेका भूपाल जिवितै भेटिए, नयाँजन्म गराउन भकारीमा

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १५:१८

३० पुस, मोरङ । निधन भयो भन्दै परिवारले दुईपटक किरिया गरेका मोरङआइतबारेका एक युवक घर फर्किएका छन् । उनलाई नयाँ जन्म गराउन आफन्तले भकारीमा लुकाएर राखेका छन् ।

मरेको भनेर किरिया गरिसकेको मान्छेलाई त्यत्तिकै घरभित्र छिराउँदा धार्मिक दोष लाग्ने भन्दै गाउँले र धर्मशास्त्रीले दिएको सल्लाहअनुसार आफन्तले पुस २९ देखि ९ दिनसम्मका लागि  कसैले नदेख्ने गरी भकारीभित्र लुकाएर राखेका हुन् ।

पथरी शनिश्चरे–५ आइतबारेका सुस्तःमनस्थितिको अपाङ्गता भएका (बोल्न नसक्ने) १८ वर्षीय भूपाल अधिकारी आठ महिना पहिले अचानक हराएका थिए । त्यसको केही हप्तापछि पथरी शनिश्चरे–१ स्थित शान्ति सामुदायिक वनमा रहेको डम्पिङ साइटमा एक मानव कङ्काल फेला परेको थियो ।

त्यो कङ्काललाई नै गाउँले र आफन्तले हराएका भूपाल नै हुन् भनेर लुगाका आधारमा होमा हो मिलाउँदै पुष्टि गरेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय पथरीका तात्कालीन निरीक्षक रुद्र चुँडालले जलाएर नष्ट नगर्ने गरी माटोमा गाडेर मात्र अन्त्येष्टि गर्न कङ्काल आफन्तको जिम्मा लगाएका थिए । भूपालका ठूलो बुबा रुद्र प्रसादले पहिलोचोटि मरेको भनेर भूपालको किरिया गरेका थिए ।

छोराको मृत्यु भएको खवर सुनेर वैदेशिक रोजगारमा गएकी आमा मनमाया घर फर्केपछि फेरि उनले छोरा भूपालको काजकिरिया गरेकी थिइन् ।

बाबु टेकबहादुर अधिकारी सँधै रक्सीले मातेर हिँडिरहने र घरपरिवारको समेत वास्ता गर्ने गर्दैनन् । यसैले निधन भयो भनेर दुई–दुईचोटि किरिया गरेका व्यक्ति आठ महिनापछि अचानक फर्केर आएपछि गाउँले र घरपरिवार छक्क परेका थिए ।

केहीले भूपाललाई भूत हो भन्दै गाउँमा बस्न दिनुहुँदैन पनि भनेका थिए । तर निधन भएको भनेका भूपाल जीवित नै भएको पक्का भएपछि गाउँलेले भूपाललाई तीन दिनअघि इलाका प्रहरी कार्यालयमा हाजिर गराए । फर्केको व्यक्ति भूपाल नै भएको पुष्टि भएपछि आफूहरुले घरमा लैजान दिएको र तत्कालको कङ्काल कस्को भनेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आमा मनमायाले प्रहरीबाट बुझेर भूपाललाई घर लगेपनि गाउँले र पण्डितले शुद्धशान्ति नगरी घरमा राख्न नहुने भन्दै दबाब दिए । गाउँलेको दबावमा आफूहरुले पनि भूपाललाई मङ्गलबारदेखि भकारीमा कसैले नदेख्ने गरी लुकाएर नयाँ जन्म गराउन पूजापाठ गरिरहेको हजुरबुबा पर्ने भुवनेश्वर पोखरेलले बताए ।

स्थानीय पञ्चायत उच्चमाविमा रहेको सुस्तःमनस्थिति स्रोत केन्द्रमा पढ्दै गरेका भूपाल बेलाबेला खोलातिर बालुवा खन्न पनि जाने गर्दथे । सोही क्रममा उनलाई आफन्त र गाउँलेले ट्र्याक्टरले किचेर मारेको आशङ्का गरेपछि प्रहरीले एक ट्र्याक्टर चालकलाई तत्काल पक्राउ गरेर केहीदिन थुनामा राखे पनि मृत्यु पुष्टि नभएपछि छाडेको थियो ।

हाल पथरीस्थित काकाको घरमा भकारीभित्र लुकाएर राखिएका छोरा भूपाललाई भकारीभित्रै शौच गराउने र खानापानी दिने काम आमा मनमायाले नै गरिरहेकी छन् । फर्केर आएका भूपाललाई इसारामा कसैले कहाँ गएका थियौ भनेर सोध्दा सिक्किम गएको थिएँ भनेर भन्ने गरेका छन् ।

तर उनी सिक्किम गएको नभई नेपालभित्रैका कसैले घरायसी काममा लगाउन लगेको हुनसक्ने स्थानीयवासीको शङ्का छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?