२५ पुस, काठमाडौं । स्वदेशी लगानीमा नै ठूला आयोजनाहरु निर्माण गर्ने तयारीमा रहेको सरकारले जनतासँग लगानी प्रतिवद्धता खोजेको छ । यसका लागि ऊर्जा मन्त्रालयले वेबसाइट नै लञ्च गरेको छ ।
सोमबार ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वेबसाइट लञ्च गर्दै विद्युत आयोजनाको शेयर जनताको हातहातमा पुर्याउन लागेको बताए । उनका अनुसार सार्वसाधारणले माथिल्लो अरुण, दुधकोशी, तमोर र सुनकोशी-३ सहितका आयोजनामा शेयर लगानी गर्न सक्नेछन् ।
मन्त्री शर्माका अनुसार यसमा गैरआवासीय, आम नागरिक, सरकारी/संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछन् ।
कसरी जनाउने लगानी प्रतिवद्धता ?
ऊर्जा मन्त्रालयले यसका लागि आफ्नो वेबसाइटमा छुट्टै पेजको व्यवस्था गरेको छ । यसमा जानासाथ लग इन गर्नुपर्छ । नयाँ प्रयोगकर्ताहरुले नयाँ इकाउन्ट बनाउनुपर्छ, यसका लागि लगइन भन्दा तल ‘क्रिएट न्यू एकाउन्ट’ भन्ने बटम छ ।
त्यसमा गएर इमेल र पासवर्ड हाल्नुपर्छ । र, तपाईको इमेलमा नोटिफिकेसन आउँछ । त्यो नोटिफिकेसनमा क्लिक गरेपछि मात्रै तपाईको एकाउन्ट एक्टिभ हुनेछ ।
र, तपाईले शेयर लगानी फारम भर्न सक्नुहुनेछ । पहिलो पेजमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नु पर्नेछ । त्यसपछि तपाईले अर्को पेजमा जानुपर्नेछ र, लगानीकर्ताको प्रकार छान्नुपर्छ । यसमा गैरआवासीय, आम नागरिक, सरकारी/संस्थानका कर्मचारी र वैदेशिक रोजगारीका चार क्याटगोरी रहेका छन् ।
अर्को चरणमा इच्छाएका व्यक्तिको विवरण भर्नुपर्छ । अर्को पेजमा लगानी योजना भर्नुपर्छ । यसमा तपाईले लगानी गर्ने कुल रकम उल्लेख गर्नुपर्छ र यो पाँच वर्षको हुनेछ ।
यसरी फारम भर्दा तपाईले कुन आयोजनामा लगानी गर्ने हो भनेर छनौट गर्ने विकल्प छैन । मन्त्रालयका अनुसार यो लगानी प्रतिवद्धता जनाउनासाथ पैसा जम्मा गर्नुपर्दैन । पछि यसबारे ऊर्जा मन्त्रालयले सूचना निकाल्छ र तपाईले प्रतिवद्धता अनुसार लगानी गर्नुपर्नेछ ।
प्रतिक्रिया 4