+
+

विद्यार्थी हत्यापछि सिद्धनाथ क्याम्पस अशान्त, छानबिन माग गर्दै तालाबन्दी

रासस रासस
२०७४ साउन ३२ गते ८:३९

३२ साउन, कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ ।

शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको रहस्यमय ढंगबाट हत्या गरिएको दाबी गर्दै अखिल क्रान्तिकारीले घटनाको यथासक्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिन क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले बताए ।

उनले घटना सुनियोजित भएको भन्दै विद्यार्थी हत्याको छानबिन नहुँदासम्म दबाब दिने जानकारी दिए ।

त्यसैगरी क्याम्पस प्रशासनसँग क्रान्तिकारी विद्यार्थी संगठनले जीर्ण अवस्थामा रहेको छात्राबासको मर्मत सम्भार गर्नसमेत माग गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला कमिटी सदस्य तथा पूर्व सिद्धनाथ विज्ञान क्याम्पस एकाइ कमिटी अध्यक्षसमेत रहेका मृतक जाग्रीको शव शनिबार बिहान छात्राबासमा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो ।

घटनालगत्तै सुक्ष्म अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको छानबिनका क्रममा तालीम प्राप्त कुकुर प्रयोगदेखि घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिएका केही व्यक्तिको छानबिनमा पोलिग्राफ मेसिनको समेत प्रयोग गरेको छ । प्रहरीले हालसम्मको घटनास्थलदेखि विवरणसम्म हेर्दा जाग्रीको हत्याभन्दा आत्महत्या हुनसक्नेतर्फ बढी संकेत गरिरहेको छ ।

त्यसैगरी अखिल क्रान्तिकारी कञ्चनपुरले मंगलबार मृतक जाग्रीको निधनको शोकमा भीमदत्तनगरमा शोकसभाको आयोजना समेत गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ घर भएका विद्यार्थी जाग्री विज्ञान क्याम्पसमा अध्ययनसँगै केही समययता चमेनागृहसमेत सञ्चालन गर्दै आएका थिए । मृतक जाग्रीको सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको थियो ।

त्यसैगरी सिद्धनाथ विज्ञान क्याम्पसका अध्यापन गराउँदै आएका प्राध्यापकले रु २० हजार र यहाँस्थित रेडियन्ट उमाविले रु १० हजार गरी जम्मा रु ३० हजार आर्थिक सहयोग गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?