Comments Add Comment

धेरै युवा विदेश पठाउनेमा प्रधानमन्त्रीको गृहजिल्ला तेस्रो

यी हुन् धेरै जनशक्ति ‘निर्यात’ गर्ने १० जिल्ला

२७ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालको धनुषा जिल्लाबाट सबैभन्दा धेरै व्यक्ति कामका लागि विदेश गएका छन् । एक वर्षमा यस जिल्लाका १३ हजार ७ सय २३ जना नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

अघिल्लो वर्षमा पनि धनुषा एक नम्बरमै थियो । आर्थिक वर्ष २०७५/७६ मा धनुषाबाट २२ हजार ५३३ युवा धनुषाबाट विदेश पुगेका थिए । यो वर्ष विदेशीनेको संख्या उल्लेख्य घटे पनि धनुषालाई कसैले उछिन्न सकेन ।

प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा पनि युवाहरुलाई स्वदेशमा टिकाउन नसक्नेमा अगाडि देखिएको छ । पूर्वको बढी विकास भएको मानिने जिल्ला झापाबाट १० हजार ९ सय २८ जना युवाहरु कामको खोजीमा विदेशिएका छन् । अघिल्लो वर्ष चौंथो स्थानमा रहेको झापाबाट १५ हजार ५११ जना वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या आर्थिक वर्ष २०७५/७६ मा करिब ३३ प्रतिशतले घट्यो । त्यसैबमोजिम जिल्लागत संख्यामा पनि गिरावट आयो । तर, बढी युवा विदेश पठाउने १० जिल्लाको सुचीमा भने खासै फेरबदल आएको छैन । सुचीमा ९ वटा जिल्लाहरु पुरानै छन् ।

दशौं स्थानमा मात्रै नयाँ जिल्ला आइपुगेको वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

‘धेरै युवा विदेश जाने जिल्लाको सूचीमा यो वर्ष पनि ठूलो परिवर्तन देखिएन,’ उनले भने, ‘पूर्वी तथा मध्यतराई र केही पहाडी जिल्लाहरु यस्तो सूचीमा अटाए ।’

बितेको वर्ष पनि दोस्रो स्थानमा सिरहा छ । आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ५५६ जना सिरहाबाट वैदेशिक रोजगारीमा गए । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा यो संख्या १७ हजार १७१ थियो ।

चौंथो स्थानमा पूर्वी तराईको मोरङ छ । मोरङबाट मात्रै एक वर्षमा ९ हजार २२७ युवा कामदार भिसा लिएर उडे । अघिल्लो वर्ष यो संख्या १३ हजार ८९३ थियो । सो वर्ष धेरै युवा विदेशिने जिल्लाको सूचीमा मोरङ पाँचौं स्थानमा थियो ।

 मध्यतराईको रेकर्ड कायमै

आव २०७४/७५मा तेस्रो स्थानमा रहेको मध्यतराईको महोत्तरी जिल्ला बितेको वर्षमा पाँचौंमा झर्‍यो । गत वर्ष महोत्तरीबाट विदेशिने युवाको संख्या झण्डै आधा घटेको देखिन्छ ।

यो जिल्लाबाट गत वर्ष ८ हजार ८०३ जनाले कामका लागि देश छाड्नुपर्‍यो । अघिल्लो वर्ष यो संख्या १५ हजार ७६३ थियो ।

सुनसरी जिल्ला धेरै युवा विदेश पठाउनेको सूचीमा छैठौं नम्बरमा छ । संख्या घट्दा पनि यो जिल्ला अघिल्लो वर्षभन्दा एक स्थान माथि आएको छ । यो जिल्लाबाट गत एक वर्षमा मात्र ६ हजार ६९२ जनाले विदेश जाने नयाँ श्रम स्वीकृत पाए । अघिल्लो वर्ष सुनसरीबाट विदेशिनेको संख्या १० हजार २३४ थियो ।

सातौं नम्बरमा सर्लाही जिल्ला छ । सर्लाहीबाट विदेश जानको संख्या पनि करिब आधा नै घट्यो । गत वर्ष सर्लाहीबाट विदेश जानेको संख्या ६ हजार ४४५ थियो । त्यो भन्दा अघिल्लो वर्ष यो संख्या १२ हजार २ सय २४० थियो ।

दाङको इन्ट्री

आठौं स्थानमा नवलपरासी छ । नवलपरासीबाट गत वर्ष ६ हजार २३६ जना विदेशिए । अघिल्लो वर्ष ९ औं स्थानमा रहेको नवलपरासीबाट ८ हजार ९०३ जना कामदार बाहरिएका थिए ।

यो वर्ष नवौं स्थानमा सप्तरी छ । यो जिल्लाबाट एक वर्षमा ५ हजार ३५२ जना युवा विदेशिएका थिए ।

अघिल्लो वर्ष सप्तरी धेरै युवा विदेसिने जिल्लाको सूचीमा सातौं स्थानमा थियो । सो वर्ष सप्तरीबाट ११ हजार २१५ युवा बाहिरएकोमा बितेको वर्षमा आधा घटेको देखिन्छ ।
गत आवमा दशौं स्थानमा दाङको इन्ट्री भयो । एक वर्षमा दाङबाट ४ हजार ९१९ जना बाहिरिएका छन् । यसअघि दाङ धेरै युवा विदेशिने मुख्य १० जिल्लाको सूचीमा अटाएको थिएन ।

अघिल्लो वर्ष भने दशौं स्थानमा रुपन्देही थियो । गत वर्षमा रुपन्देही जिल्ला मुख्य १० भित्र परेन । गत वर्ष ११ औं स्थानमा रहेको रुपन्देहीबाट ४ हजार ५८३ जना विदेश उडेका थिए ।

त्यसैगरी १२ औं स्थानमा रहेको तनहुँबाट ४ हजार ५५५, १३ औंमा रहेको चितवनबाट ४ हजार १९०, १४ औंमा रहेको स्याङ्जाबाट ३ हजार ७४० र १५ औंमा रहेको मकवानपुरबाट ३ हजार ६६५ युवाले विदेशको बाटो रोजेका थिए ।

गत आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्यामा भारी गिरावट देखिएको थियो । अघिल्लो आवको तुलनामा १ लाख १८ हजार थोरै युवाहरु रोजगारीका लागि विदेशिएका छन् ।

सरकारको तथ्यांकअनुसार गत आवमा कुल ५ लाख ८ हजार ८ सय २८ जना नेपाली विदेश उडेकोमा २ लाख ३६ हजार २११ जना मात्र नयाँ श्रम स्वीकृतिवाला हुन् ।

यो वर्ष नयाँ स्वीकृति लिएर विदेश जानेहरु घट्दा विदेशबाट फर्किएर पुन सोही कम्पनीमा श्रम नवीकरण (रि–इन्ट्री) गरेर जानेको संख्या बढेको छ । मलेसियाको रोजगारी बन्द हुँदा त्यसको असरले कामका लागि विदेशिने नेपालीको संख्या पातलिएको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा विदेशिने कामदारको कुल संख्या ६ लाख १२ हजार ६ सय ८५ थियो, जसमा नयाँ कामदार ३ लाख ५४ हजार ८२ थिए । यस हिसाबले अघिल्लो वर्षको तुलनामा यस वर्ष विदेशिनेको संख्या करिब १ लाख ४ हजार कम छ । यो १५ प्रतिशतको गिरावट हो ।

गत वर्ष १३४ देशमा कामका गर्न नेपाली कामदारले श्रम इजाजत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment