Comments Add Comment

चितवन जिल्ला प्रशासनमा पास लिनेको भिड

१२, चैत, चितवन । भारतले नाकाबन्दी लगाउँदा जिल्ला प्रशासन कार्यालय चितवनमा डिजेल तथा पेट्रोलको कुपन लिनेहरुको भिड लाग्ने गर्दथ्यो ।

अहिले सरकारले कोरोना भाइरसको प्रकोप नफैलियोस् भनेर सात दिने लकडाउन गरेका बेला जिल्ला प्रशासन कार्यालय चितवनमा ‘पास’ बनाउनेहरूको भिड लाग्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा राजनीतिक दलको फोर्स लगाएर पास लिनेदेखि विभिन्न समयमा काम लाग्छ भनेर पास लिन आउनेहरू बढ्न थालेका छन् ।

मंगलबार र बुधबार बिहान पास बनाउने आउनेहरुले दुःख दिएको प्रशासनका कर्मचारीहरु बताउँछन् । लकडाउनको दोस्रो दिन दिउँसो १२ बजेसम्म झण्डै चार सयभन्दा बढीले सवारी पास लिएका छन् ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पास लिन आउने भिड देखेर आफूहरू तीन छक परेको बताए ।

‘मान्छेहरुले यसलाई नेपाल बन्द वा अन्य कुनै चुनावी उत्सव ठानेको जस्तो गरेर पास माग्न आएका छन्,’ सहायक प्रजिअ शर्माले भने, ‘सचेत मान्छेहरु नै अग्रभागमा देख्दा म आफै अचम्मित हुन्छु ।’

उनले कयौं मानिसहरुलाई पास नदिइ सम्झाइ बुझाइ गरेर फर्काएको बताए । अत्यावश्यक काम बाहेकका कसैलाई पनि पास दिने नीति नरहेको उनको भनाइ छ ।

‘स्वास्थ्य क्षेत्रका, दूध, पेट्रोल तरकारी बोक्ने, डिस्चार्ज भएर बेजिल्ला जानेहरुलाई पास दिएका छौं,’ शर्माले भने, ‘बेकामेहरु पनि पास लिइराखौं भनेर आउँछन् ।’

मलामी २५ जना !

जिल्ला प्रशासन कार्यालय चितवनले मलामी २५ जनाभन्दा बढी नजान सर्वसाधारणलाई भनिएको जनाएको छ ।

सरकारले २५ जनाभन्दा बढी एकै ठाँउमा भेला नहुन निर्देशन गरेकोले मलामी जानुपरेमा २५ जनाभन्दा बढी नजान अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘कतै कोही बित्नुभयो भने हामीलाई खबर गर्नुहुन्छ, हामीले त्यहीँ सुझाव दिने गरेका छौं,’ शर्माले भने ।

कसैको मृत्यु भएर सागर जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न पनि उनले आग्रह गरे ।

कोरोना भाइरसको संक्रमण फैलिन नपओस् भनेर सावधानी अपनाइएकोले यसमा सचेत बन्नुपर्ने शर्माको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment