+
+

चीनका आधाजसो सहरमा किन भास्सिइरहेको छ जमिन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते ११:१०

काठमाडौं । शोधकर्ताहरुका अनुसार चीनका आधाभन्दा धेरै ठूला सहरहरु डुबिरहेका छन् । जमिन मुनिको पानी दोहन हुँदा तथा तीव्र रुपमा बढ्दो सहरीकरणसँगै जमिनमा बढ्दो बोझका कारण यस्तो भैरहेको बताइन्छ ।

कतिपय सहरहरुमा निकै तीव्र गतिमा जमिन भास्सिइरहेको छ । ६ मध्ये १ सहरमा प्रतिवर्ष झण्डै १० मिलिमिटरको दरले जमिन धस्सिइरहेको शोधकर्ताहरुको भनाइ छ ।

पछिल्ला केही दशकहरुमा चीनमा तीव्र रुपमा सहरीकरण भएको छ, जसका कारण ती क्षेत्रबाट अत्यधिक मात्रामा भूमिगत पानी निकालिएको छ ।

उता सामुद्रिक तटीय सहरहरुमा भने जलस्तर बढेका कारणले लाखौँ मानिसहरु बाढीको खतराको चपेटामा परेका छन् ।

चीनको कुन क्षेत्र सबैभन्दा धेरै प्रभावित ?

यद्यपि चीनसँग यस प्रकारको समस्यासँग जुधेको लामो इतिहास छ ।

सन् १९२० को दशकमा सांघाइ तथा तियान्जिन दुबै लगातार भास्सिइरहेका थिए । सांघाइ पछिल्लो शताब्दीमा ३ मिटरभन्दा धेरै तल धस्सिइसकेको छ ।

सांघाइ सहर

पछिल्लो केही दशकमा देशमा तीव्ररुपमा विस्तार भैरहेका विभिन्न सहरहरुमा ठूलो परिमाणमा भूस्खलन देखिएको छ ।

यो समस्या कति तीव्र रुपमा बढिरहेको छ, यसलाई बुझ्नका लागि चीनका विभिन्न विश्वविद्यालयका शोधकर्ताहरुको एक टिमले २० लाखभन्दा धेरै जनसंख्या भएका ८२ वटा सहरमा अध्ययन गर्यो ।

ती सहरको समुद्री सतहदेखिको उचाइ मापनका लागि सेन्टिनल १ उपग्रहले संकलन गरेका तथ्यांक उपयोग गरियो । सन् २०१५ देखि २०२२ सम्मको तथ्यांकमा यो देखियो कि ४५ प्रतिशत सहरी क्षेत्रको समुद्री सतहदेखिको उचाइ प्रतिवर्ष ३ मिलिमिटरले घटिरहेको छ ।

जबकि १६ प्रतिशत सहरी क्षेत्रमा यस्तो गिरावट प्रतिवर्ष १० मिलिमिटर भन्दा धेरै देखिएको छ ।

वैज्ञानिकहरुका अनुसार यो गति निकै तीव्र थियो । यो कति गम्भीर स्थिति हो, यसको अनुमान सहजै लगाउन सकिन्छ, किनकि त्यसरी तीव्र रुपमा जमिन भास्सिइरहेका चिनियाँ सहरहरुमा ६ करोड ७० लाख मानिसहरु बस्दछन् ।

भूस्खलन विभिन्न कारणले गर्दा हुन्छ, जसमा भूविज्ञान तथा भवनहरुको वजन मुख्य कारण हुन् । यद्यपि शोधकर्ताहरुका अनुसार जमिनको धसानको मुख्य कारण चाहिँ भूमिगत जलको दोहन हुनु हो ।

जमिन धस्सिनुको खास कारण के हो ?

स्थानीय जनसंख्याको उपयोगका लागि सहर तथा आसपासको क्षेत्रमा भूमिगत जलको दोहन उच्च मात्रामा भैरहेको छ ।

जापानको ओसाका तथा टोक्यो सहित एसियाका अन्य प्रमुख सहरी केन्द्रहरुमा पनि जमिन भास्सिने समस्या आइसकेको छ ।

यो समस्या ह्युस्टन, मेक्सिको सिटी तथा दिल्ली सहित विश्वभरका विभिन्न प्रमुख सहरी क्षेत्रमा पहिलेदेखि नै देखिइसकेको छ ।

चीनमा शोधकर्ताहरुको टीमले १६ सयभन्दा धेरै कुवाहरुको अध्ययनका क्रममा पानीको बहिर्गमनले जमिन भास्सिएको पत्ता लगाएको छ ।

इस्ट एंग्लिया विश्वविद्यालयका प्राध्यापक रोबर्ट निकोलस भन्छन्– मलाई लाग्छ कि जमिन भास्सिनुमा भूमिगत जलको बहिर्गमन मुख्य कारण हो ।

सहरी परिवहन व्यवस्था तयार गर्नका लागि तथा खनिज एवम् कोइलाका लागि हुने उत्खननबाट पनि जमिनको धसान सुरु हुन्छ ।

देशका सबैभन्दा ठूला कोइला उत्पादक क्षेत्रमध्येको एक पिंगडिंगशानको उत्तरी इलाकामा प्रतिवर्ष १०९ मिलिमिटरको तीव्र गतिमा जमिन धस्सिइरहेको छ ।

यो समस्याको समाधान के हो ?

शोधकर्ताहरुका अनुसार जलवायु परिवर्तनका सहरी जनसंख्याको अगाडि बाढीको खतरा बढेको छ । समुद्री जलस्तर बढ्ने तथा जमिन भास्सिने दुबै कारणले यस्तो खतरालाई बढाइरहेको छ ।

सन् २०२० मा चीनको झण्डै ६ प्रतिशत क्षेत्र समुद्री सतहबाट कम उचाइँमा अवस्थित छ । आउँदो १ सय वर्षमा यो स्थिति देशको २६ प्रतिशत इलाकामा निम्तिन सक्दछ ।

शोधकर्ताहरुका अनुसार समुद्रको जलस्तर बढ्नुका साथै जमिन तीव्र रुपमा धस्सिइरहेको छ, जसबाट लाखौँ मानिसहरुमाथि बाढीको खतरा मडारिएको छ ।

यद्यपि शोधबाट के पनि पत्ता लागेको छ भने विस्तारै भास्सिइरहेको जमिनलाई केही प्रभावकारी उपायहरु अपनाएर भास्सिन तथा डुब्नबाट जोगाउन सकिन्छ ।

जापानको ओसाका तथा टोक्यो सहित एसियाका अन्य प्रमुख सहरी केन्द्रहरुमा पनि जमिन भास्सिने समस्या आइसकेको छ ।

प्राध्यापक निकोल्स भन्छन्– २० औँ शताब्दीमा टोक्यो सहरमा बन्दरगाह आसपासको भूमि पाँच मिटरसम्म धस्सिएको थियो । सन् १९७० को दशकमा टोक्योमा पिउने पानी अन्य क्षेत्रबाट आउँथ्यो । कुवाको पानी उपयोगलाई रोक्नका लागि त्यहाँ एउटा कानून पनि लागू गरियो । ती यावत् प्रयासबाट जमिन भास्सिने क्रमलाई नियन्त्रणमा लिइयो ।

चिनियाँ सहरहरु भास्सिइरहेको सम्बन्धी पछिल्लो शोध साइन्स जर्नलमा प्रकाशित छ ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?