+
+

डीआईजी बढुवामा ४ ब्याचका एसएसपीबीच प्रतिस्पर्धा

ज्येष्ठता र कार्यक्षमता विवादमा अल्झियो बढुवा

२०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका ३६ जना अहिले डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । चार टोलीबीच आफ्नो स्वार्थ केन्द्रित लविइङ हुँदा डीआईजी बढुवा पेचिलो बनेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ वैशाख १३ गते ८:०९

१३ वैशाख, काठमाडौं । ज्येष्ठता कि कार्यक्षमता अनुसार बढुवा गर्ने भन्ने विषयमा विवाद हुँदा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा रोकिएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले रिक्त रहेका ३ डीआईजी दरबन्दीमा कार्यक्षमताका आधारमा बढुवा गर्न प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरलाई सुझाव दिएका छन् । तर कार्यक्षमतालाई मात्रै आधार मानेर बढुवा गर्दा विवाद हुने भन्दै विचार गर्नुपर्ने राय आईजी कुँवरले राखेको उनी निकट स्रोतको भनाइ छ ।

‘गृहमन्त्रीज्यूले कार्यक्षमता अनुसार बढुवा गर्ने संकेत गर्नुभयो । ज्येष्ठतालाई पन्छाएर कार्यक्षमतालाई मात्रै केन्द्रमा राखेर बढुवा गर्दा विवाद हुन सक्ने आईजी सापले ब्रिफिङ गर्नुभएको थियो । लगत्तै आईजीसाप इन्टरपोलको कार्यक्रममा गएपछि बढुवा रोकियो’ आईजी कुँवर निकट स्रोतले अनलाइनखबरसँग भन्यो ।

यो विवाद समाधान नहुँदै प्रहरी महानिरीक्षक कुँवर १० वैशाखमा इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन हुने १९औं ‘हेड अफ एनसीबी कन्फरेन्स’मा सहभागी हुन फ्रान्स गएका थिए । १३ वैशाखमा कार्यक्रम सकिएपछि उनी नेपाल फर्कने छन् ।

ज्येष्ठता र कार्यक्षमतामा कुरा अल्झिदा यो पटकको डीआईजी बढुवा भने निकै रोचक र पेचिलो बनेको छ । यस पटक तीन फरक–फरक मितिमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका चार ब्याचीहरुबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवामा प्रतिस्पर्धा सुरु भएको छ ।

कोको छन् प्रतिस्पर्धी ?

२०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका ३६ जना अहिले डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । अझ यो बढुवामा २०५४ सालमा भर्ना भएकाहरु डीआईजी बढुवा भएमा २०५३ सालमा भर्ना भएकाहरुको ब्याचबाट प्रहरी महानिरीक्षक (आईजी) हुने सम्भावना समाप्त हुन्छ ।

यही कारण खास प्रतिस्पर्धा अहिले २०५३ र २०५४ मा इन्सपेक्टरमा भर्ना भएका टोलीमा देखिएको छ । २०५३ मा इन्सपेक्टर भएका एसएसपीहरु आफूहरु बढुवा नभए पनि कुनै पनि हालतमा २०५४ को टोलीलाई बढुवा गर्न नहुने लबिइङमा छन् ।

यता २०५४ मा इन्सपेक्टरमा भर्ना भएकाहरु भने अहिले नै डीआईजी बढुवा भएको अवस्थामा २०५३ को टोलीलाई समेत उछिन्दै लामो समय आईजी बन्न सकिने हुँदा अहिले नै बढुवाका लागि लबिङमा छन् ।

कृष्णहरि शर्मा पोखरेल

२०५१, २०५२ को टोलीमा भर्ना भएकाहरु बढुवा भएमा उनीहरु आईजी हुने सम्भावना रहँदैन र २०५३ र २०५४ को टोलीलाई समेत कुनै असर पर्दैन । बढुवामा नपर्ने सम्भावना भएका २०५३ र २०५४ का एसएसपीहरु भने बरु २०५१, २०५२ का टोलीबाटै डीआईजीमा बढुवा होस् भन्ने चाहन्छन् । चार टोलीबीच आफ्नो स्वार्थ केन्द्रित लबिइङ हुँदा डीआईजी बढुवा पेचिलो बनेको छ ।

२७ कात्तिक २०५२ मा इन्सपेक्टरमा भर्ना भएका कृष्णहरि शर्मा पोखरेल एसएसपीमा बढुवा भएको मितिले सबैभन्दा सिनियर छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत शर्मा ९ माघ २०७७ मा एसएसपीमा बढुवा भएका थिए ।

शर्मा भन्दा अघि ५ चैत २०५१ मा भोलाबहादुर रावल, धु्रवराज राउत र गणेश चन्दले इन्सपेक्टरको नियुक्त लिएका थिए । तर एसएसपी बढुवामा भने शर्मा भन्दा उनीहरु पछि छन् । रावल र राउत १२ मंसिर २०७८ मा एसएसपीमा बढुवा भएका थिए । तर चन्द भने उनीहरु भन्दा पछि २०५३ र २०५४ को टोलीसँगै १ साउन २०७९ मा एसएसपीमा बढुवा भएका थिए ।

शर्मा, रावल, राउत र चन्द जो बढुवा भए पनि २०५३ र २०५४ को टोलीलाई आईजी हुन कुनै असर पर्दैन । तर प्रहरी नियमावलीले ज्येष्ठता बाहेक कार्यक्षमतालाई आधार मानेर बढुवा गरिने प्रावधान राखेर कार्यक्षमतामा उनीहरुभन्दा अब्बल भन्दै २०५३ र २०५४ को टोली बढुवाका लागि लबिइङमा छन् ।

नयाँ होइन द्वन्द्व

५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका र १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएकाहरुबीच अहिले बढुवाको मुख्य रस्साकस्सी देखिएको छ ।

यी दुई टोलीबीचको द्वन्द्व नयाँ भने होइन । राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर आएदेखि नै उनीहरुबीच टकराव सुरु भएको थियो ।

आफूहरु डीएसपी बढुवा हुने बेलामा राष्ट्रिय अनुसन्धानबाट आएर डीएसपी बढुवा भएका थिए । राष्ट्रिय अनुसन्धानबाट आएकाहरु एक वर्ष पहिला भर्ना भएको सिनियर टोली भन्दै २०५४ को टोलीलाई छुटाएर ३० पुस २०६४ मा डीएसपीमा बढुवा भएका थिए । उनीहरुकै कारण २०५४ का टोलीको डीएसपी बढुवा दुई वर्ष पछि धकेलिएको थियो । २०५४ का टोलीहरु २६ मंसिर २०६६ मा बल्ल डीएसपीमा बढुवा भएका थिए ।

त्यसपछि एसपी र एसएसपीमा भने २०५३ र २०५४ का टोलीहरुको एकै पटक क्रमशः ३१ असार २०७४ र १२ मंसिर २०७८ मा भएको थियो ।

अहिले २०५३ को टोलीबाट डीआईजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी छन् । २०५३ मा इन्सपेक्टर भर्ना भएका अरु एसएसपीहरु पनि बढुवाको प्रतिस्पर्धामा रहे पनि उनीहरु पनि २०५४ को टोली भन्दा पछि छन् । २०५४ को टोलीबाट दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी डीआईजीको मुख्य प्रतिस्पर्धामा छन् ।

उनीहरुका साथै जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल प्रतिस्पर्धामा छन् ।

त्यसैगरी गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मा दास, लोकेन्द्र श्रेष्ठ, शारदाप्रसाद चौधरी पनि बढुवाको प्रतिस्पर्धामा छन् ।

डीआईजी बढुवाका लागि ३६ प्रतिस्पर्धी भए पनि रिक्त पदसंख्या भने जम्मा ३ मात्रै छ । ५६ वर्षे उमेर हदका कारण अतिरिक्त प्रहरी महानिरीक्षक सन्दीप भण्डारी ५ वैशाखमा र एआईजी मीरा चौधरी थारु ७ वैशाखमा अवकाशमा गएका थिए ।

७ वैशाखमै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी विकासराज खनाल पनि उमेर हदकै कारण अवकाशमा गएका थिए ।

दुई एआईजी अवकाशमा जाने भएपछि उक्त ठाउँमा पदपूर्ति गर्न भन्दै गृहमन्त्रालयले डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई ३ वैशाखमा एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

उनीहरु दुई जना एआईजी बढुवामा सिफारिस भएसँगै रिक्त हुने दुई डीआईजी पद र विकासराज खनाल अवकाशमा गएसँगै रिक्त भएको एक पद गरी अहिले नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी रिक्त भएको हो ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?