+
+

बन्दैछ हाइब्रिड कार, हाइड्रोजन र पेट्रोल–डिजल दुवै हाल्न मिल्ने

हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८१ वैशाख १६ गते ९:१३
काठमाडौंका सडकमा गुडिरहेका सवारी साधनहरु । फाइल फोटो ।

१६ वैशाख, काठमाडौं । पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

यदि यो प्रयास सफल भएमा गाडी धनीहरुलाई पेट्रोल–डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ । दुवै प्रकारका इन्धनको विकल्प सहितको यस हाइड्रोजन प्रयोगको प्रविधिलाई ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ नाम दिइएको छ ।

‘हाइड्रोजन कम्बसन इन्जिन’ विकासका लागि सक्रिय रिन्यु जेन रेसोर्सेस नेपालका कार्यकारी अधिकृत डा. प्रमोद टण्डनले पेट्रोल वा डिजलबाट चल्ने गाडीलाई हाइड्रोजनबाट पनि चलाउन मिल्ने गरी इन्जिन विकास गरी आगामी जेठ महिनाभित्रै परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।

इन्टरनेशनल हाइड्रो पोलिटिक्समा बेलायतबाट पीएचडी गरेका टण्डनले अनलाइनखबरसँग भने, ‘हाइड्रोजन कम्बसन इन्जिन नेपालमै विकास गर्ने सम्बन्धी समझदारी पत्रमा गत वर्ष ६ नोभेम्बरमा हस्ताक्षर भएको थियो, विभिन्न चरणहरु पार गर्दै हामी नेपालका लागि नौलो र वातावरणमैत्री हाइड्रोजन कम्बसन इन्जिनको प्रदर्शन गर्ने अन्तिम तयारीमा आइपुगेका छौं ।’

सुरुमा पेट्रोलबाट चल्ने कारको इन्जिनलाई हाइड्रोजनबाट पनि चल्ने गरी विकास गर्न लागिएको उनले बताए ।

पहिलो चरणको यो प्रविधि सफल भएमा दोस्रो चरणमा नेपालमै शतप्रतिशत हाइड्रोजन राखेर परीक्षण गरिने र त्यसपछि भारतमा समेत यो प्रविधि प्रदर्शन गर्ने लक्ष्य अनुसार काम गरिरहेको उनले बताए । डा. टण्डन भन्छन्, ‘हाइड्रोजन कम्बसन इन्जिनको सबैभन्दा ठूलो विशेषता के हो भने अहिले चल्तीमा रहेका सवारी साधनकै इन्जिनमा सामान्य फेरबदल गरेर, थोरै खर्चमा सञ्चालन गर्न सकिन्छ ।’

‘नेपालमा नौलो प्रविधि’

नेपालमा पेट्रोल, डिजल र ग्याँसबाट चल्ने गाडीहरु बढी प्रयोगमा छन् । पछिल्लो समय ब्याट्रीबाट चल्ने गाडीहरुको किनबेच पनि भइरहेको छ । यसबीचमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने हाइड्रोजन फ्युलसेल कार भित्राएपछि त्यसले धेरैको ध्यान तानेको छ ।

हाइड्रोजन कम्बसन इन्जिन

अहिले रिन्यु जेन रेसोर्सेस नेपालले विकास गर्न लागेको ‘डुअल मोडल’ इन्जिन विकसित मुलुकहरुमा सफल परीक्षण भइसकेको र व्यापारिक प्रयोजनमा समेत गइरहेको छ । तर नेपालमा हालसम्म यस्तो प्रविधिको विकास नभएकाले यसलाई नौलो मानिएको छ । हाइड्रोजन नभएको अवस्थामा शतप्रतिशत पेट्रोल/डिजल राखेर चलाउन समेत सकिने भएकाले यस प्रविधिलाई तुरुन्त व्यापारिक प्रयोजनमा लैजान सकिने दाबी गरिएको छ ।

रिन्यु जेन रेसोर्सेसका हाइड्रोजन विज्ञ डा. प्रकाश थापा भन्छन्, ‘तत्कालीन अवस्थामा हाइड्रोजन इन्धनको रिफ्युलिङ स्टेशन उपलब्ध नभएको खण्डमा गाडी चलाउँदाचलाउँदै हाइड्रोजन इन्धन सकियो भने पेट्रोल/डिजलबाटै चलाउन मिल्छ, यो प्रविधि दक्षिण एसियामै नौलो हो । यसले नेपालको लागि सम्भावनाको नयाँ द्वार खोल्ने विश्वास छ ।’

कति लाग्छ खर्च ?

हाइड्रोजन कम्बसन इन्जिन विकास प्रक्रियालाई नजिकबाट नियालिरहेका त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका सहायक प्राध्यापक लक्ष्मण मोत्राका अनुसार यो प्रविधि आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ । त्यसैले अब हाइड्रोजन कम्बसन इन्जिनको युगमा प्रवेश गर्नुपर्ने उनको मत छ ।

उनी भन्छन्, ‘अहिले चलनचल्तीमा आएको हाइड्रोजन फ्युल सेल मोडलभन्दा थोरै परिवर्तन गरेर डुअल मोडलमा हाइड्रोजनसँगै पेट्रोल–डिजल राखेर चलाउन सकिने भएको हुँदा आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ ।’

हाल हाइड्रोजन कम्बसन इन्जिन परीक्षणको तयारीको काममा व्यस्त रन्यु जेन रिसोर्सेस नेपालका प्रोजेक्ट म्यानेजर युवराज ढकालका अनुसार डुअल मोडल अर्थात् हाइड्रोजन कम्बसन इन्जिन अहिले नेपालमा पेट्रोलियम पदार्थबाट चलिरहेका सबैजसो सवारी साधनमा प्रयोग गर्न मिल्छ । र, यो काम थोरै मात्र खर्चमा गर्न सकिन्छ ।

तर काम गर्दा लाग्ने खर्च भने उनले खुलाउन चाहेनन् । ‘पेट्रोल वा डिजलबाट चल्ने एउटा कारलाई हाइड्रोजनबाट पनि चलाउन मिल्ने बनाउन थोरैमात्र खर्च लाग्ने हाम्रो निष्कर्ष छ’, ढकाल भन्छन्, ‘कति खर्चमा तयार हुन्छ भन्ने कुरा यसको परीक्षणको काम सकिएपछि खुलासा गर्दा राम्रो होला ।’

अहिले गाडी तथा सम्बन्धित उपकरण विकासको प्रक्रिया चलिरहेको भन्दै उनले आगामी जेठ महिनाभित्र परीक्षण गरेर देखाउने बताए । उनले थपे, ‘लागतको हिसाबले अहिले सडकमा गुडिरहेका लाखौं सवारीलाई विद्युतीय बनाउन सकिने सम्भावना अत्यन्त न्यून छ । यस्तो अवस्थामा हाइड्रोजन कम्बसन इन्जिन नेपालका लागि निकै नै उपयोगीसिद्ध हुने विश्वास छ ।’

त्यसका लागि आवश्यक पर्ने हाइड्रोजन उत्पादनलाई बढावा दिन पाइलट प्रोजेक्ट सञ्चालनको गृहकार्यसमेत भइरहेको ढकाल बताउँछन् । ‘२०० किलोवाट हाइड्रोजन उत्पादनका लागि नेपालका हाइड्रोपावर कम्पनीका साथै विदेशी हाइड्रोजन कम्पनीसँग समझदारी समेत भइसकेको छ,’  उनले भने, ‘पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनको चरणमा छ ।’

कार्यान्वयनमा समस्या

गत ४ माघमा बसेको मन्त्रिपरिषद बैठकले ग्रिन हाइड्रोजन नीति स्वीकृत गरेको थियो । तर त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि बनाउन भने बाँकी छ । त्यसैले यसको कार्यान्वयनमा भने अझै समस्याहरु छन् ।

अहिलेका सरकारी ऐन नियमले नेपालका लागि नितान्त नयाँ हाइड्रोजन ऊर्जाको प्रयोगलाई समेट्दैन । त्यसैले यसको प्रयोगसम्बन्धी एकीकृत मापदण्ड बनाउने र प्रचलित कानुनी व्यवस्थामा संशोधन गर्ने तयारी भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल बताउँछन् ।

काठमाडौं विश्वविद्यालयले भित्र्याएको हाइड्रोजनबाट चल्ने कार । कानुन नबन्दा प्रयाेगमा आउन सकेको छैन ।

काठमाडौं विश्वविद्यालयको हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापा यदि सरकारले हाइड्रोजन प्रयोग सम्बन्धमा कार्यविधि बनाएमा सन् २०३० देखि २०४० सम्म नेपालको हाइड्रोजन विश्व बजारमा जान सक्ने बताउँछन् ।

‘सन् २०५० सम्म १३ ट्रिलियन डलरको बजार हुँदैछ । यसमा नेपालको स्थान अन्य देशले बढी देखेको छ,’ काठमाडौंमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कार्यपत्र प्रस्तुत गरेका थापा भन्छन्, ‘नेपाल सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्ने मुलुकमा पर्ने देखिएको बेलायतको एक अध्ययनले देखाएको छ ।’

ग्रिन हाइड्रोजन स्वच्छ ऊर्जा

पानीबाट उत्पादित हाइड्रोजन सवारी साधनमा दुई तरिकाबाट प्रयोग गर्न सकिन्छ, पहिलो ‘फ्युल सेल’ र दोस्रो ‘हाइड्रोजन कम्बसन इन्जिन’ ।

‘फ्युल सेल’ एक एलेक्ट्रोकेमिकल सेल हो जसले (हाइड्रोजन) इन्धनको रासायनिक ऊर्जालाई विद्युतमा परिवर्तन गर्दछ । टोयोटा मिराइ, ह्युण्डाई नेक्सोजस्ता ‘फ्युल सेल’ मोडलले विश्वव्यापी रुपमा हाइड्रोजनको सवारी साधन प्रयोगलाई बढावा दिइरहेका छन् ।

हाल नेपालमा ऊर्जाको रुपमा जीवाश्म इन्धन (पेट्रोल, डिजल, मट्टितेल, ग्याँस र कोइला)को प्रयोग हुँदै आएको छ । यी इन्धन खाना पकाउन, उज्यालो पैदा तथा सवारी साधन र उद्योग कलकारखाना चलाउन बढी मात्रामा प्रयोग हुन्छन् ।

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बढ्दा उपभोक्ता मर्कामा पर्दै आएका छन् । साथै यस्ता गाडीहरुबाट अत्यधिक कार्बन उत्सर्जन पनि हुने भएकाले प्रदूषणको मार पनि खपिरहनु परेको छ ।

त्यसैले गत मंसिरमा दुबईमा आयोजित कोप–२८ सम्मेलनमा सहभागी नेपालसहितका १५४ राष्ट्र–सरकार प्रमुखहरुले जीवाश्म इन्धनको युग अन्त्यको सुरुवात गर्ने सहमति जनाएका थिए । नेपाल सरकारले पनि आगामी सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्य गर्ने लक्ष्य राखेको छ ।

जीवाश्म इन्धनको तुलनामा ब्याट्रीबाट चल्ने गाडी (इलेक्ट्रिक भेइकल–ईभी)हरु बढी वातावरणमैत्री मानिन्छन् । ब्याट्री चार्ज गरेर चलाउन मिल्ने यी गाडीहरुबाट कार्बन उत्सर्जन नभए पनि तिनमा प्रयोग हुने ब्याट्री काम नलाग्ने भएपछि व्यवस्थापनको पाटो भने विश्वव्यापी चुनौतीको रुपमा रहेको छ ।

साझा यातायातको इलेक्ट्रिक बस ।

साथै यसको सुरुको लागत खर्च, भइरहेको इन्जिनमा व्यापक फेरबदल गर्नुपर्ने, विश्वमा दुर्लभ पदार्थ; जस्तै निकेल, लिथियम, कोबल्ट आदिको प्रयोग, ठूला सवारी साधनमा प्रयोग हुन नसक्नेजस्ता सीमितता र पर्याप्त भौतिक संरचनाको अभाव जस्ता कारणले ईभी आफैंमा दिगो विकल्प हुन सक्ने कि नसक्ने भन्ने बहस चलिरहेको छ ।

साथै भारी तौलका ब्याट्री गाडीमा जडान गर्नुको साटो हलुको हाइड्रोजन प्रयोग गर्दा गाडीले बढी भारबहन पनि गर्न सक्छ । त्यतिमात्र होइन ब्याट्री वा पेट्रोलियम पदार्थले भन्दा हाइड्रोजनबाट करिब ३ देखि ४ गुणा बढी दूरी पार गर्न सकिने भएकाले सवारी साधनमा हाइड्रोजनको प्रयोग उपयुक्त हुने डा. टण्डन बताउँछन् ।

त्यसैले सबैभन्दा उत्तम विकल्पको रुपमा हाइड्रोजन ऊर्जालाई लिइएको छ । यसबाट वातावरण प्रदूषण नहुने भएकाले विश्वव्यापी माग पनि छ । त्यसैले जलस्रोतमा धनी देशहरुले जीवाश्म इन्धनमा ठूलो धनराशी खर्च गर्नुको साटो हाइड्रोजनको उत्पादन तथा प्रयोगमा बढावा दिए प्रदूषण कम गर्न र पेट्रोलियम पदार्थ माथिको परनिर्भरता घटाउन सहयोग पुग्छ ।

हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । त्यही पानीलाई बिजुली प्रयोग गरेर टुक्र्याउँदै हाइड्रोजनलाई अलग गरिन्छ । यसका लागि इलेक्ट्रोसाइसिस पद्धति प्रयोग गरिन्छ । यसरी अलग गरिएको हाइड्रोजनलाई भण्डारण गरेर राख्न सकिन्छ र चाहिएकोबेला प्रयोग गर्न सकिन्छ ।

नेपाल जलस्रोतमा धनी देश भएकाले ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना पनि प्रचुर छ । त्यसैले पूर्वऊर्जा र अर्थमन्त्री जनार्दन शर्मा अब ग्रिन हाइड्रोजनको युगमा नेपाल प्रवेश गर्नुपर्ने बताउँछन् ।

‘कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम बराबरको विदेशी मुद्रा पेट्रोलियम पदार्थ आयातमा खर्च हुन्छ, व्यापार घाटामा पनि करिब १३ प्रतिशत यसकै हिस्सा छ,’ उनी भन्छन्, ‘त्यसैले मैले पटक–पटक भन्ने गरेको छु नेपालमा उत्पादन हुने हाइड्रोजन र एमोनिया विश्व बजारमै प्रतिस्पर्धी बन्ने सम्भावना विभिन्न अध्ययनले देखाएको छ । त्यसैले ग्रिन हाइड्रोजनको आन्तरिक उपयोग बढाउने तथा निर्यात समेत गर्ने लक्ष्य राखेर काम गरौं ।’

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?