+

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

२०८१ वैशाख  १६ गते १३:५७ २०८१ वैशाख १६ गते १३:५७
प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

सुन्दर देखिन कसलाई मन नपर्ला र ? त्यसैले मानिसले आफूलाई सुन्दर देखाउन अनेक उपाय अपनाउँछन् । पछिल्लो समय प्लास्टिक सर्जरी सौन्दर्यको लागि एक महत्वपूर्ण विकल्प भएको छ । मानिसहरू यसलाई आफ्नो अनुहारको संरचना परिवर्तन गर्न, सानो नाक ठूलो बनाउन, ठूलो ओठ सानो बनाउन लगायत विभिन्न अंगको सौन्दर्य बढाउन प्रयोग गर्छन् ।

धेरैलाई लाग्न सक्छ, प्लास्टिक सर्जरी प्लास्टिकद्वारा गरिने उपचार हो । तर प्लास्टिक ग्रीक शब्द हो । यसको ग्रीक भाषामा मिलाउनु वा बनाउनु भन्ने अर्थ लाग्छ । प्लास्टिक सर्जरी कुनै पनि चीजलाई आफ्नो प्रतिकूल मोड्नु वा ढाँचा परिवर्तन गर्नु भन्ने हुन्छ । अर्थात् शरीरको कुनै पनि भागलाई आफूले चाहेको अनुरूप फेरबदल गर्नु भन्ने बुझ्न सकिन्छ ।

प्लास्टिक सर्जरीसँगै कस्मेटिक सर्जरी सौन्दर्यकै लागि गरिने शल्यक्रिया हो । कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीकै एउटा अंग हो । यी दुईबीचको भिन्नताको बारेमा कुरा गर्ने हो भने कस्मेटिक सर्जरी शरीरको कुनै पनि अंगको सौन्दर्यमा केन्द्रित हुन्छ । यसले अंगहरुलाई इच्छाअनुसार आकार दिन्छ ।

कुनै घटना वा चोटका कारण बिग्रिएको अनुहारलाई ठीक गर्न भने प्लास्टिक सर्जरी गरिन्छ । छाला जल्यो वा क्षति पुगेमा त्यो भागमा प्लास्टिक सर्जरी गरिन्छ ।

अनुहारको सौन्दर्यका लागि कस्मेटिक सर्जरी

अनुहारको सौन्दर्यका लागि गरिने सर्जरी कस्मेटिक सर्जरी हो । कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने प्रक्रियाका रुपमा पनि लिने गरिन्छ । विशेषगरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउने, स्तनलाई बढाउने घटाउनेदेखि लिएर सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ ।

कस्मेटिक सर्जरीका प्रकार

कस्मेटिक सर्जरी स्थायी र अस्थायी दुई प्रकारको हुन्छ । कस्मेटिक सर्जरीबाट अनुहारको मात्र होइन शरीरका धेरै अंगलाई सुन्दर बनाउन सकिन्छ ।

नाकको शल्यक्रिया, स्तनको शल्यक्रिया, कपाल प्रत्यारोपण, बोटोक्स इन्जेक्सन, अनुहारको छालालाई चाउरीरहित बनाउने शल्यक्रिया, पेटको बोसो हटाउने शल्यक्रिया आदि कस्मेटिक सर्जरीभित्र पर्छन् ।

कुन अवस्थामा कसरी गरिन्छ कस्मेटिक सर्जरी ?

कुनै व्यक्तिको आइ लिड (आँखाको ढकनी) बिग्रिएको छ र यसको सर्जरी गराउनु छ भने आँखाको ढकनीमा बढी भएको छाला र बोसोलाई काटेर फालिन्छ । आइ लिडको सर्जरी सहज र छोटो समयमा हुन्छ ।

कसैलाई नाक थेप्चो छ, चुच्चो बनाउनुपर्‍यो भने नाकको कस्मेटिक सर्जरी गर्नुछ भने कान पछाडिबाट वा करङबाट अलिकति कुरकुरे हड्डी निकालेर तथा सिलिकन नाकभित्र हालेर नाकलाई अग्लो बनाइन्छ । अनुहार चाउरी परेको छ भने त्यसलाई तन्काएर जवान बनाइन्छ ।

केही साइडइफेक्ट हुन्छ कि ?

कस्मेटिक सर्जरी, शल्यक्रियामार्फत गरिने भएकाले यो स्थायी रुपमा रहन्छ । तर अनुहारलाई बुढ्यौलीबाट त रोक्न सकिंदै त्यसैले आठदेखि १० वर्षपछि चाउरीपन, आइ लिड झोलिने समस्या हुनसक्छ ।

कस्मेटिक सर्जरी गर्दा कहिलेकाहीं शरीरले प्रत्यारोपण गरेको कुरालाई अस्वीकार गर्न सक्छ, यस्तो अवस्थामा पहिलेकै अवस्थामा फिर्ता गर्नुपर्ने हुनसक्छ । कतिपय अवस्थामा भने हेर्दा सोचेको जस्तो राम्रो नहुने पनि हुनसक्छ ।

जुनसुकै शल्यक्रियामा पनि हुनसक्ने साइड-इफेक्ट  घाउमा संक्रमण हुने, पाक्ने हुनसक्छ ।

कति खर्च लाग्छ ?

अन्य शल्यक्रियाको तुलनामा कस्मेटिक सर्जरी अलि महंगो हुन्छ । तर विदेशको तुलनामा नेपालमा कस्मेटिक सर्जरी सस्तो पर्छ । त्यसैले विदेशमा बस्ने नेपालीहरू नेपाल आएको बेला कस्मेटिक सर्जरी गर्छन् । अनुहारको कुन भागको कस्मेटिक सर्जरी गर्ने हो खर्च त्यसमा भर पर्छ । अनुहारको कस्मेटिक सर्जरी गर्न लगभग ६० हजारदेखि दुई लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ ।

कस्मेटिक सर्जरी डा. सुयोग मैनाली सौन्दर्य
डा. सुयोग मैनाली
लेखक
डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन

मेडिकल काउन्सिल दर्ता नम्बर : ७६८० अध्ययन : एमबीबीएस,एमएस (प्लास्टिक सर्जरी) काठमाडौंस्थित सुयोग काठमाण्डु क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक, हाल सोही संस्थामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय