+
+

आमिर खानका घतलाग्दा कुरा : पिकेको नग्न एलियनदेखि मिस्टर पर्फेक्सनिस्टसम्म

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते ८:३२

कपिल शर्मा शो ११ वर्षदेखि प्रसारण भइरहेको छ । तर, म अहिलेसम्म यहाँ एक पटक पनि आएको थिइनँ । यसपालि आएँ । किन ?

किनभने म पछिल्लो दुई-अढाइ वर्षदेखि एकदमै खराब स्थितिमा गुज्रिरहेको थिएँ । भावनात्मक रूपमा कमजोर हुँदै थिएँ । त्यस दुई-अढाइ वर्ष मैले कमेडी विथ कपिल हेरें । र, यसले मलाई धेरै राहत दियो । किनभने जब म डिप्रेसनमा थिएँ, कपिलले मलाई हँसायो ।

त्यसैले मलाई लाग्यो, यो शोमा म आउनुपर्छ । धेरै खुसी लाग्छ कपिल, देशभर, दुनियाँभरका मान्छेलाई हँसाउनुहुन्छ । मान्छेको मन बहलाउनुहुन्छ ।

(प्रायः आमिर खान अवार्ड शो वा कतिपय औपचारिक समारोह, टिभी शो, पार्टीमा सहभागी हुँदैनन् । कपिल शर्मा शो, जुन बलिउड फिल्म प्रबर्द्धन र प्रचारको प्रभावशाली मञ्च मानिन्छ, त्यहाँ अहिलेसम्म उनी आएकै थिएनन् ।)

मलाई किन ‘मिस्टर पर्फेक्सनिष्ट’ भनियो ?

मलाई जुन ‘मिस्टर पर्फेक्सनिष्ट’को ट्याग लगाइएको छ, त्यसमा एक व्यक्ति जिम्मेवार छन् । उनको नाम हो, शवाना आजमी ।

त्यसबेला म भर्खर-भर्खरै फिल्म उद्योगमा थिएँ । ‘दिल’ फिल्मको सुटिङ चलिरहेको थियो । दिलमा इन्द्र कुमार निर्देशक थिए र बाबा आजमी जी क्यामेराम्यान थिए । बाबा आजमी चर्चित क्यामेराम्यान थिए, जसको घरमा हामी प्रायः जमघट गरिरहेका हुन्थ्यौं ।

एकदिन हामी निकै गहन छलफलमा थियौं । अहिले याद छैन, के विषयमा कुरा भइरहेको थियो । यद्यपि गम्भीर छलफल चलिरहेको थियो ।

सोही बेला शवाना जी चिया लिएर आइन्, हाम्रो लागि । उनी भन्दै थिइन्, ‘आमिर तपाईंलाई चियामा कति चिनी लगाइदिनुपर्छ ?’

म छलफलमा यति धेरै व्यस्त थिएँ कि उनले के सोधिरहेकी छिन् भनेर सोच्न सकिनँ । उनले सोधिरहेकी थिइन्, ‘आमिर चिनी कति चाहिन्छ ?’

म उनीतर्फ फर्किएँ । मेरो दिमागलाई उनको प्रश्न बुझ्न पाँच सेकेन्ड लागेन । मैले तुरुन्तै सोधें, ‘गिलास कति ठूलो छ ?’

उनले कप देखाउँदै भनिन्, ‘यो कप हो ।’

म त्यो छलफलको धपेडीमा थिएँ । यद्यपि मलाई के पनि लागिरहेको थियो भने उनले जे प्रश्न सोधिरहेकी छन्, त्यसको पनि सही जवाफ फर्काउँ । मैले सोधें, ‘गिलास कत्रो छ ? चम्चा कत्रो छ ?’

उनले देखाइन् । तब मैले जवाफ फर्काएँ, ‘एक चम्चा चिनी भए हुन्छ ।’ र, लगत्तै म छलफलमा सरिक भएँ ।

यो किस्सा शवानाले जहाँ पनि सुनाउन थालिन् । यसो भन्दै, ‘आमिरलाई चिनी कति खाने भनेर सोधियो भने उनले पहिला कपको आकार सोध्छन्, चम्चाको आकार सोध्छन् र त्यसपछि यति खाने भनेर त्यसको मात्रा बताउँछन् ।’

यही किस्सा भन्ने सुन्ने उपक्रमसँगै मलाई मिस्टर पर्फेक्सनिष्टको ट्याग मिल्यो ।

म सही लुगा छनोट गर्न जान्दिनँ

मलाई धेरैजसो सल्लाह–सुझाव आमाले दिन्छिन् । त्यसपछि दिदी बहिनीले पनि यसो गर, उसो नगर भनिरहेका हुन्छन् । यस्तो लगाउनु, उस्तो नलगाउनु भनिरहेका हुन्छन् । आज मैले जे लगाएको छु, त्यो पनि उनीहरूकै रोजाइ हो । उनीहरू भन्छन्, म सही पहिरन छनोट गर्न जान्दिनँ ।

त्यसपछि रिना (पूर्व जेठी श्रीमती) ले मलाई थप्पड हानिन्

मेरो जेठो छोरो जुनैद खान जन्मिने दिनको कुरा हो यो । रिना (श्रीमती) प्रसव पीडामा थिइन् । हामी अस्पतालमा थियौं । एउटा असल श्रीमानको हैसियतले म उनलाई ढाडस दिइरहेको थिएँ, गहिरो सास लिने र छाड्ने अभ्यास गर्दै । तर, उनलाई असह्य पीडा भइरहेको थियो । जब म ‘स्वाँस्वाँ फ्याँफ्याँ’ गर्न थालें, उनले मलाई एक थप्पड दिइन् । यसो भन्दै, ‘स्टप दिस ननसेन्स ।’ उनले मेरो हात पनि टोकिन् ।

जबकि मेरो ध्यान भने यहाँ के भइरहेको छ भन्नेमा केन्द्रित भयो । त्यसबेला मैले के कुरा थाहा पाएँ भने, जब मान्छेलाई एकदमै पीडा हुन्छ, त्यसबेला उनको अनुहारको भावभंगी पूरै वेदनाले भरिएको हुनुपर्ने हो । तर, त्यस्तो नहुँदो रहेछ । जब असह्य पीडाको स्थिति हुन्छ, त्यसबेला मान्छेको अनुहार भावशून्य हुने रहेछ । किनभने उनले पीडाको तीव्रता समेत भेउ पाउन सकिरहेका हुँदैन रहेछन् । मैले प्रसव पीडाको बेला रिनाको अनुहारमा यस्तै देखें । प्रसवको बेला हरेक महिलालाई यस्तो हुन्छ ।

यो अनुभव मेरो लागि नितान्त नयाँ थियो । अत्यन्तै पीडाको क्षण कस्तो भावभंगी हुनुपर्छ भन्ने कुरा आफैंमा फरक थियो ।

जब हामी घर फर्कियौं तब मैले रिनालाई यो कुरा भनें, ‘तिमी प्रसूति पीडाको क्षणमा स्तब्ध र आश्चर्य भावमा थियौ ।’

मेरो कुरा सुनेर उनी धेरै रिसाइन् । उनले भनिन्, ‘मलाई त्यस्तो दुखिरहेको थियो, तिमी मेरो हाउभाउ याद गर्दै थियौ ?’

के हुन्छ भने, हामीले हरेक समय कुनै न कुनै व्यक्ति भेटिरहेका हुन्छौं र त्यसबाट केही न केही हाउभाउ, चरित्र टिपोट गरिरहेका हुन्छौं ।

मेरो छोराछोरीले मसँग सल्लाह नै लिंदैनन्

मेरो बालबच्चा मेरो कुरा सुन्नै चाहँदैनन् यार । कहिलेकाहीं म सोच्छु, हाम्रो पुस्ता बीचमा अल्झियो । हामी आमाबुवाको कुरा सुन्थ्यौं । उनीहरूको कुरा मान्थ्यौं । हामीलाई लाग्यो कि, हाम्रो कुरा सुन्नेछन् । हाम्रो पनि समय आउनेछ ।

तर, जब हामी आमाबुवा बन्यौं, अहिलेका छोराछोरीहरू बदलिए । हाम्रो कुरा नै सुन्दैनन् । पहिले हामीलाई आमाबुवाले गाली गर्थे, अहिले बालबच्चाले हामीलाई गाली गर्छन् ।

यो फिल्म उद्योगमा मेरो हितैषी छन्, जग्गु (ज्याकी श्राफ) । त्यसबेला उनको छोरो टाइगर भर्खर–भर्खर फिल्म उद्योगमा आइरहेका थिए । जग्गुले मसँग भन्यो, ‘टाइगर मेरो छोरा हो । ऊसँग एकपटक भेट, कुरा गर । कस्तो छ ऊ ? हेरिदेऊ ।’

फिल्म उद्योगका अरू पनि केही मान्छे मलाई फोन गर्छन् । र भन्छन्, ‘मेरो बच्चालाई भेट्नुहोस् । उनलाई सही सल्लाह–सुझाव दिनुहोस् । तपाईंसँग संगत गराउनुहोस्, कसरी काम गर्नुहुन्छ भनेर सिकाउनुहोस् ।’ तर, मेरो आफ्नै बच्चा भने मसँग कत्ति पनि रुचि राख्दैनन् ।

उनीहरू मेरो सल्लाह लिंदैनन् । जब म सल्लाह–सुझाव दिन्छु उनीहरू बेवास्ता गर्छन् ।

मेरी बहिनी मभन्दा राम्रो कलाकार

मेरी बहिनी फरहात मभन्दा राम्रो अभिनय गर्न सक्छे । म वितेको ३०–३५ वर्षदेखि अभिनय गरिरहेको छु । तर, मभन्दा अब्बल उनी छिन् ।

जब म सहायक निर्देशकको रूपमा काम गर्दै थिएँ, त्यसबेला १८ वर्षको थिएँ । त्यसअघि नै मैले एउटा फिल्म बनाएको थिएँ । त्यसको नाम थियो, ओपन विन्डो । त्यो फिल्म सार्वजनिक त भएन तर सिक्नका लागि बनाएको थिएँ । त्यसमा मेरी बहिनी फरहातले मुख्य भूमिका निर्वाह गरेकी छिन् । उनी यति राम्रो काम गर्छिन् । मैले कति भन्दा–भन्दा थाकिसकें कि, अभिनय गर । तर, उनी मेरो कुरा सुन्दिनन् ।

अवार्ड लिन म किन जान्नँ ?

जिन्दगीमा एउटा कुरा अत्यन्तै मूल्यवान् छ, समय । समय मूल्यवान् छ, त्यसको सही प्रयोग गर्नुपर्छ ।

(प्रायः अमिर अवार्ड समारोहमा जाँदैनन् । यसबारे उनलाई अनेक प्रश्न सोधिने गरेको छ । यसपालि भने उनले कूटनीतिक जवाफ दिए, त्यो समयको बर्बादी हो भन्ने आशयमा ।)

पिकेमा कसरी मलाई नग्न बनाइयो ?

राजकुमार हिरानी र अभिजातले पिकेको स्क्रिप्ट सुनाउँदै मलाई भनेका थिए, ‘एक एलियन धर्तीमा आउँछन्, जो नग्न हुन्छ । उनले त्यहाँ एकजना मान्छे देख्छन् र कौतूहलपूर्वक दौड्दै नजिक जान्छन् । सो मान्छेले एलियनको घाँटीमा चम्किरहेको माला देख्छन् । माला तानेर लैजान्छन् । एलियनले मान्छेबाट रेडियो लिन्छन् ।’

अमिर खान

मैले सोधें, ‘तपाईंहरू मलाई के गर्नुहुन्छ ? नग्न बनाउनुहुन्छ ? व्यावहारिक रूपमा यो कसरी छायांकन हुन्छ ?’

राजुले भन्यो, ‘होइन, म तपाईंको लागि सर्ट जस्तै केही बनाउँछु । तर, त्यो अगाडिको भागमा हुन्छ, पछाडि हुँदैन ।’ त्यसका लागि राजस्थानको कुनै मरुभूमि जस्तो ठाउँमा सुटिङ हुनेवाला थियो, जहाँ मान्छेहरू धेरै हुने छैनन् । सुटिङ युनिटको पनि एकदमै कम मान्छे मात्र त्यहाँ हुनेछन् ।

सुटिङको दिन आयो । कस्ट्युम डिजाइनरले मलाई त्यो लुगा लगाइदियो । म रेडियो भिरेर बाहिर निस्किएँ । राजुले भनेको थियो, फोन चलाउन पाइने छैन । सबैको फोन लुकाइएको थियो ।

त्यहाँ म रेल आइरहेको र त्यहाँ एकजना मान्छे हिंड्दै गरेको देख्छु । अनि त्यतैतर्फ दौडन्छु । मेरो दृश्य यस्तो थियो । तर, जब म दौडनेछु त्यो लुगा फुत्कनेवाला छ । त्यो दृश्यमा मलाई यति धेरै कठिन भएको थियो कि म तीव्रताका साथ दौडनुपर्ने तर त्यसो गर्न सकिने स्थिति थिएन ।

एक–दुई पटक अभ्यास गरेपछि मैले राजुलाई भनें, ‘यो निकालौं यार ।’ मैले दृश्य राम्रो दिनु थियो त्यसैले सो लुगा निकालेर मिल्काइदिएँ । सुटिङ युनिटका सबैलाई टाढा बस्न भनें । अनि कपडा खोलेर म दौडिएँ ।

पिके फिल्ममा नग्न देखिनुपर्ने हुँदा मलाई धेरै सकस भएको थियो । सोच्दा लाज लाग्थ्यो । तर, काम त राम्रो गर्नुथियो । त्यसैले राजुलाई मैले भनें, ‘म तिम्रो अगाडि नग्न हुनु कुन ठूलो कुरा भयो ! यो कपडा निकालौं ।’ तब मलाई कुनै लाज महसुस भएन । मैले सही ढंगले आफ्नो काम गरें ।

महाराष्ट्र बन्द थियो, त्यसैले म कलाकार भएँ

यो प्रसंग म कलेज पढ्दाको हो । मेरो अभिभावक फिल्म उद्योगमा भए पनि हामीलाई सकेसम्म यस क्षेत्रमा ल्याउन चाहँदैनथे । किनभने यो एकदम अस्थिर क्षेत्र हो भन्ने उहाँहरूको बुझाइ थियो ।

म कलेज जान्थें । त्यहाँ थिएटरको समूह थियो । मलाई त्यो समूहमा एकदमै रुचि थियो । महेन्द्र जोशी नामका निर्देशक थिए, जोसँग काम गर्न रहर थियो । यद्यपि कलेजमा हुने नाटकमा मलाई मौका मिलेन । किनभने म अडिसनमा फेल भएँ ।

तर, म पछाडि हटिनँ । किनभने एउटा नाटकमा मौका नमिले पनि अर्कोमा प्रयास गरौंला । मैले नोटिस बोर्डमा देखें, कुनै गुजराती नाटकको रिहर्सल भइरहेको छ । गुजराती मलाई आउँदैन, मराठी मलाई आउँदैन । तर, गुजराती नाटकमा कोरस थियो । अर्थात् उनीहरूलाई भीड चाहिएको थियो । मलाई लाग्यो, त्यहाँ त मैले मौका पाउनेछु ।

तब मैले आवेदन दिएँ । म भीडमा उभिनका लागि छनोट भएँ । त्यहाँ मेरो एउटा डायलग थियो, जसका लागि तीन महिनादेखि अभ्यास गरेको थिएँ । तर, नाटक मञ्चन हुने बेला महाराष्ट्र बन्द भयो । सोही बन्दको कारण एकदिन रिहर्सलमा हाजिर हुन नपाएपछि मलाई नाटकबाट निकालियो ।

मेरो आँशु निस्कियो । थिएटर नजिक चौर थियो । त्यही गएँ । रोएँ । एकदमै नरमाइलो लाग्यो । यस्तैमा दुई जना साथी आए । उनीहरूमध्ये एकले भन्यो, ‘सुन, उसले डिप्लोमा फिल्म बनाउँदैछ, पुना इन्ष्टिच्युटमा । उसलाई कलाकारको जरुरत छ ।’ मैले तुरुन्तै मन्जुरी जनाएँ । अर्को दिन पुना गएर फिल्म खेल्न थालें ।

त्यो फिल्म अर्को विद्यार्थीले हेरेछन्, जसको नाम हो राजीव सिंह । उनले पनि मलाई आफ्नो फिल्ममा अफर गरे । त्यो दुई फिल्म हेरेर केतन मेहेताले होली फिल्ममा अनुबन्धन ग¥यो । होली फिल्म हेरेपछि मन्सुर र नासिर साहेबले मलाई उनीहरूको फिल्ममा लिए । त्यो फिल्म थियो, कयामत से कयामत तक ।

अब कुरा आयो, महाराष्ट्र बन्दको । त्यसदिन यदि महाराष्ट्र बन्द नभएको भए म स्टार बन्थें वा बन्दिनथें ? थाहा छैन ।

थ्री इडियट्समा मेरो चरित्र निर्माण कसरी भयो ?

खासमा थ्री इडियट्स म खेल्नेवाला थिइनँ । मलाई लाग्यो, मान्छेहरू हाँस्नेछन् । किनभने म ४४ वर्षको भएँ, चरित्र निर्वाह गर्नुछ १८ वर्षे ठिटोको ।

मैले राजुलाई भनें, ‘यसका लागि तिमीले तीन जना सोही उमेरका युवाहरूलाई खेलाऊ, मलाई किन लिन्छौं !’ तर, उसले जिद्दी गरिरह्यो ।

त्यस अघिसम्म मैले राजुसँग काम गरेको थिइनँ । मुन्ना भाई एमबीबीएस, लगे रहो मुन्ना भाई उनले बनाइसकेका थिए । उनीसँग म काम गर्न एकदमै चाहन्थें । तर, जब थ्री इडियट्सको कथा सुनें त्यो मेरो लागि होइन भन्ने लाग्यो । यसमा मलाई सफलता हुन्छ जस्तो लागेन । फिल्ममा एउटा संवाद छ, ‘सफलताको पछाडि नदौड, सक्षम बन ।’

राजुले भन्यो, ‘तपाईंले लगान गर्नुभयो, तारे जमिन पर गर्नुभयो । त्यो सफलताका लागि गर्नुभएको थियो । त्यसमा लगाव थियो । लगावकै कारण सफल भयो ।’

उनले थपे, ‘तपाईंको करियर यस्तो थियो । जब तपाईं यो संवाद बोल्नुहुन्छ, दर्शकले पत्याउनेछन् ।’ अन्ततः मैले राजुको फिल्म खेल्ने भएँ ।

त्यसो त म आँखा चिम्लेर कुनै पनि फिल्म खेल्ने निर्णयमा पुग्दिनँ । तर, राजुले भनेपछि म आँखा चिम्लेर गएँ ।

अब मेरो चुनौती थियो, त्यो चरित्र निर्माणको । कसरी त्यो चरित्रमा आफूलाई रूपान्तरण गरौं ? किनभने आवरण मात्र १८ वर्षे केटोको भएर हुँदैनथ्यो । उसको भावना र हाउभाउ पनि १८ वर्षकै हुनुपथ्र्यो ।

यो चरित्र मैले दुई जना व्यक्तिबाट फ्युजन गरेको थिएँ । एक थियो, एआर मुरुगाडास । उनी गजनी फिल्मका निर्देशक ।

मुरुगाडास यस्तो पृथक् व्यक्ति हुन्, जसको कद होचो छ । ऊ बच्चा जस्तो देखिन्छ । मलाई जब पहिलो पटक भेट्न आएको थियो, ६ फिट अग्लो व्यक्ति होला भनी सोचेको थिएँ । तर, ऊ सानो बच्चा जस्तो थियो । बस्ने शैली पनि त्यस्तै थियो । उनमा एक सानदार गुण थियो, उसको फिल्टर छैन । राम्रो लागेको कुरा राम्रो भन्ने, नराम्रो लागे सोझै नराम्रो भन्ने । कुनै घुमाउरो जवाफ नदिने खालको ।

मैले भनेको कुरा अरूलाई नराम्रो पो लाग्यो कि भनेर उसले सोच्दैनन् । यो गुण मैले आफूमा लिएँ ।

दोस्रो, आफन्त । ऊ स्थिर रहनै नसक्ने । ऊ जतिबेला पनि चलायमान देखिन्छन् । उसको यो शैलीलाई पनि मैले आफूमा लिएँ । यसरी अलग–अलग दुई व्यक्तिको गुण र शैलीबाट मैले थ्री इडियट्सका लागि चरित्र निर्माण गरें ।

द ग्रेड इन्डियन कपिल शोमा आगन्तुक बनेका आमिर खानले केही रमाइला, प्रेरक प्रसंग सुनाएका थिए । सोही प्रसंगको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको हो ।- अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?