+
+
कभर स्टोरी :

आगलागीले वन र बस्ती खरानी : सिंहदरबार हाइसन्चोमै 

डढेलोले जनधनको ठूलो क्षति भएको छ । यति मात्रै होइन, जीवजन्तु, जडीबुटी र रैथाने वनस्पतिमा समेत यसले गम्भीर असर पुर्‍याएको छ । तर, सत्ता संघर्षको केन्द्र सिंहदरबारले आफ्ना मातहत निकायको औपचारिक उपस्थिति बाहेक कुनै प्रभावकारी अभियान चलाएकै छैन ।

विनोद घिमिरे विकास रोकामगर विनोद घिमिरे, विकास रोकामगर
२०८१ वैशाख २१ गते २०:१४
कैलालीको चिसापानी क्षेत्रमा लागेको डढेलो

२१ वैशाख, काठमाडौं । सुख्खायाम सुरु भएसँगै देशभर वन र बस्ती जलिरहेका छन् । आगोमा जलेर दिनहुँ दर्जनौं घर र सयौं हेक्टर वन क्षेत्र खरानी भइरहेको छ । यसबाट भएको क्षतिको यकिन तथ्यांक छैन ।

आगलागी भएको स्थान, आगो निभाउन खटिएको जनशक्ति, ज्यान गुमाएका मानिस, चौपाया र घरको संख्या गनेर बसेको सरकारले आगोले डढाएको वन क्षेत्र र त्यसबाट पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा परेको क्षतिको कुनै लेखाजोखा राखेकै छैन ।

वनक्षेत्र प्राकृतिक रूपमा सञ्चालित पारिस्थितिक प्रणाली हो । यहाँ लाग्ने डढेलोलाई सरीसृप, वन्यजन्तु र मानव समुदायका लागि विश्वव्यापी खतराको रूपमा लिइन्छ । यसले वायुको गुणस्तरलाई समेत घटाउँछ र जनस्वास्थ्यमा गम्भीर असर पर्छ । तर, यसको दीर्घकालीन असरप्रति सरकारी निकाय गम्भीर देखिंदैन ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले मन्त्रालयले अहिलेसम्म डढेलो र आगलागीले वनजंगलमा पारेको सम्पूर्ण क्षतिबारे तथ्यांक नराखेको बताए । उनले भने, ‘आगोले कति वनजंगल जलायो भन्ने ठ्याक्कै हेक्टरको तथ्यांक हामीसँग हुँदैन । कहाँ कति डढेलोका घटना भए भन्नेमात्रै हुन्छ ।’

वन तथा भू–संरक्षण विभागका वन अधिकृत गोविन्द श्रेष्ठ पनि कठिन भौगोलिक बनावट र आर्थिक सीमितताका कारण डढेलोले वनजंगल तथा जीवजन्तुमा पारेको क्षतिको तथ्यांक राख्न नसकिएको बताउँछन् ।

‘सबै ठाउँमा स्थलगत रूपमा जान पनि सकिंदैन । एकदमै खर्चिलो पनि छ र हाम्रा केही सीमितता पनि छन्’, वन अधिकृत श्रेष्ठ भन्छन्, ‘त्यही भएर पनि ठ्याक्कै डाटा हामीले राख्न सकेका छैनौं ।’ यद्यपि, उनले डढेलोले कति वन–जंगल क्षेत्रमा क्षति पुर्‍यायो भन्नेबारे विभागको चासो रहेको बताए । ‘विगत २/३ वर्षयता हाम्रो चासोचाहिं बढेको छ । प्रयास नै नभएको होइन’, उनले भने ।

२ महिना नबित्दै ३४ को ज्यान गयो ७६ करोडभन्दा बढी क्षति

सन् २०२१ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत जंगलमा गरिएको अध्ययनको एक डरलाग्दो निष्कर्ष सार्वजनिक गर्‍यो । त्यो अध्ययन रिपोर्टको निष्कर्ष थियो– मानवीय गतिविधिका कारण जंगल नै कार्बन उत्सर्जनको कारण बनिरहेका छन् ।

जंगलले कार्बनलाई सोसेर जलवायु परिवर्तनको असर कम गर्न सहयोग गर्छन् । तर जंगल फडानी, कृषि र पशुचरणका लागि गरिएको अतिक्रमण, डढेलो लगायत मानवीय गतिविधिका कारण जंगलहरू दबाबमा परेका र कार्बन उत्सर्जक बनेका भन्ने निष्कर्ष चिन्तित पार्ने खालको थियो ।

जंगलले पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार ग्यास कति सोस्छ र कति कार्बन उत्सर्जन गर्छ भन्ने विषयमा अध्ययन केन्द्रित थियो । इन्डोनेसिया, होन्डुरस, अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, मलेसिया, रूस, मंगोलिया, अस्ट्रेलिया र डोमेनिक रिपब्लिकमा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत १० जंगल तथा पार्क कार्बन उत्सर्जनमा जिम्मेवार देखिएका थिए ।

सँगै खुसी लाग्ने निष्कर्ष के पनि थियो भने ६.९ करोड हेक्टर क्षेत्रमा फैलिएको विश्व सम्पदा सूचीमा सूचीकृत २५७ जंगलले १९ करोड टन कार्बन सोस्ने गर्दछन् । नेपालीले पनि यो कुरामा खुसी मान्नुपर्ने छ कि कार्बन सोस्ने जंगल नेपालमा तीन दशकयता दोब्बरले बढेको छ । ती जंगलकै कारण कार्बन व्यापारको बाटो समेत खुलेको छ ।

नेपालमा करिब ६६ लाख हेक्टर क्षेत्र जंगलले ढाकेको छ । सामुदायिक वन उपभोक्ता महासंघको तथ्यांक अनुसार सामुदायिक वन क्षेत्र मात्र २३ लाख हेक्टर क्षेत्रमा फैलिएको छ । ५५६ पालिकामा ३१ लाख घरधुरी र १ करोड ४० लाख उपभोक्ता सामुदायिक वनसँग जोडिएका छन् ।

तर दुःखको कुरा यो छ कि ‘नेपालको धन’ भनिने वन हरेक वर्ष डढेलो र अतिक्रमणको चपेटामा परिरहेको छ । नेपालमा वार्षिक सरदर ३ हजार ९८ वटा डढेलोका घटना हुने र त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर जंगल मासिने गरेको अनुमान छ ।

विज्ञहरूका अनुसार धेरै आगलागी हुनु र डढेलो लाग्नु भनेको धेरै हरितगृह ग्यास उत्सर्जन हुनु पनि हो, जसले पृथ्वीको तापमान बढाउन भूमिका खेल्छ । जसका बहुआयामिक असर छन् । केही असर तत्कालै देखिन्छन् । जस्तो– गत चैत १ गतेदेखि वैशाख १९ गतेको अवधिमा ३ सैनिक र २ प्रहरी सहित ३४ जनाको ज्यान गएको छ भने साढे ७६ करोडभन्दा बढी धनमाल क्षति भएको छ ।

त्यसबाहेक नेपालको हावा विश्वकै प्रदूषित भएको छ । यसको एक प्रमुख कारण डढेलोलाई लिइएको छ । स्याटेलाइट इमेज हेर्दा हिमालसम्मै तुवाँलोले ढाकेको छ । तुवाँलोले आकाश ढाकेकाले हवाई उडान–अवतरण प्रभावित भएका छन् । नेपालका हिमाल पग्लिंदै जानुमा डढेलोले पनि भूमिका खेलेको जानकारहरू बताउँछन् ।

डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा भन्छन्, ‘डढेलो लाग्दा निस्किने कालो धुवाँका मसिना कण हिमालमा टाँसिने र त्यसले सूर्यको किरण अत्यधिक सोसेर हिमाल पग्लिने गरेका छन् ।’

प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार यस वर्ष विगतका वर्षको तुलनामा आगलागी र डढेलोका घटना बढी भएका छन् । त्यसबाट हुने क्षति पनि धेरै अनुमान गरिएको उनको भनाइ छ ।

आगलागी भएका स्थान नक्सामा

उनका अनुसार मध्यपहाडी क्षेत्र डढेलोको बढी चपेटामा परेको छ । लाङटाङसहितका हिमाली क्षेत्रमा पनि डढेलो लागेको छ । हिमाली भेगमा पनि सबैभन्दा धेरै बागमती प्रदेश डढेलोको चपेटामा छ । ‘वैशाख १९ गते बिहान १६१ स्थानमा लागेको डढेलो साँझमा बढेर ४२७ स्थानमा फैलिएको थियो’, पोखरेलले भने, ‘आकाशबाट पानी नपर्दासम्म डढेलो झनै बढ्ने अनुमान छ ।’

नेपालमा लाग्ने डढेलो हरेक चार–पाँच वर्षको अन्तरालमा बढ्ने गरेको पाइएको छ । सन् २०१६ पछि सन् २०२१ मा डढेलो अत्यधिक थियो । ती वर्ष क्रमशः ६ हजार २३४ र ६ हजार ५३७ वटा डढेलोको घटना रेकर्ड छ । यस वर्षको डढेलो लाग्ने समय अझै बाँकी नै भएकाले पूर्ण तथ्यांक आउन बाँकी छ ।

तर यस वर्ष डढेलोबाट अकल्पनीय क्षति पुगेको अनुमान गर्दै प्राधिकरणका प्रमुख पोखरेल भन्छन्, ‘सन् २०२२ र २३ मा डढेलो खासै भएन तर यस वर्षको डढेलो हामीले कल्पना गरिएको भन्दा पनि भयानक भयो ।’

डढेलो भयावह हुनुको कारण

विज्ञका अनुसार डढेलोको प्रमुख कारण मानवीय हेलचेक्र्याइँ नै हो । नयाँ घाँसपात पलाउने लोभ र विषालु कीराहरू मार्न पनि जान–अन्जानवश आगो लगाइरहेका हुन्छन् । तर, पछिल्लो समय बढिरहेको डढेलोका घटनालाई बसाइँसराइसँग पनि जोडेर हेर्नुपर्ने मत राख्छन्, डढेलोविद् सुन्दर शर्मा ।

उनका अनुसार पछिल्लो समय शहर, बजारकेन्द्रित बसाइँसराइ बढ्दा जंगल र बस्ती बीचको दूरी घटेको छ । त्यसले पनि जंगलमा लागेको आगोले सजिलै बस्तीमा प्रवेश पाएको देखिन्छ ।

‘अहिले धेरै बसाइँसराइ भयो । घर नजिक झाडी बढे । बस्ती र जंगल एकापसमा जोडिन पुगे । गाउँमा युवाहरू छैनन्, वृद्ध र महिला मात्रै छन्’, शर्मा भन्छन्, ‘सक्रिय पुस्ता गाउँमा नहुँदा पनि सजिलै नियन्त्रण गर्न सकिने आगो पनि नियन्त्रण गर्न सकिएको देखिंदैन । झन् मानवीय दुर्घटना पनि बढेको छ ।’

शर्माले अगाडि भने, ‘पहिले–पहिले पहाडी तथा ग्रामीण भेगमा बढी जनघनत्व हुँदा मानिसहरू घाँस–दाउरा गर्न जंगल जान्थे । पशुचौपायाका लागि सोत्तर पनि ल्याएर आउँथे । मानिसहरू हिंड्दा हिंड्दै बनेका बाटाले फायर लाइनको काम गर्दथे । तर अहिले जंगल प्रवेशमा कडाइ गरिएको छ । सुकेका काठ वनमै अलपत्र छन् । बाटाहरू मेटिएका छन् । घाँसपात, झाडी बढेका छन् । ती सबै इन्धनको रूपमा जंगलमै थुप्रिएर बसे ।’

वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा अध्ययन गरिरहेका केशवकुमार मलाशी सरकारले वैज्ञानिक वन व्यवस्थापन निर्देशिका–२०७१ खारेज गरेका कारण पनि डढेलो फैलिन मद्दत पुगेको बताउँछन् । ‘उपभोक्ता आफैंले संरक्षण गरेको वन पैदावार उपभोग गर्न पाएनन् । काठदाउरा, रूख उपभोग गर्न नपाएपछि थुप्रिने त्यही जंगलमै हो’, मलाशी भन्छन्, ‘अहिले वार्षिक २, ५ प्रतिशत निकालिन्छ । त्यसले ठूलो क्षेत्रमा फैलिएको जंगललाई कसरी बचाउँछ र ?’

वन ऐन २०७६ अनुसार वनमा आगो लगाउनु दण्डनीय छ । यस्तो कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यही वन ऐनको दफा ७९ मा कसुर हुन लागेको सुराक दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्ने संस्था वा व्यक्तिलाई कसुरदारलाई हुने जरिवानाको १० प्रतिशत पुरस्कार दिने व्यवस्था समेत छ ।

तर दण्ड र पुरस्कारको स्पष्ट व्यवस्था हुँदा पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार आगो जंगलको व्यवस्थापन गर्न प्रयोग हुन्थ्यो । तर अहिले अनियन्त्रित भएर सबै भष्म हुने स्थिति देखियो ।

‘आगो प्रकृतिको म्यानेजमेन्ट टुलको रूपमा युज हुनुपर्ने हो, तर यो अनियन्त्रित भएर विकराल रूप लिएर भष्म भयो । अहिलेको डढेलोलाई राष्ट्रिय प्रकोपको रूपमा लिनुपर्ने देखिन्छ’, श्रेष्ठ भन्छन् । उनी डढेलोको क्षतिबाट जोगिन जंगल र बस्तीको बीचमा ठूला पात हुने वनस्पति रोप्नुपर्ने र बेला–बेला जंगललाई सफा राख्नुपर्ने धारणा राख्छन् ।

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेती डढेलो नियन्त्रणमा सरोकारवाला निकाय आफैं गम्भीर नभएको आरोप लगाउँछन् । डढेलो रोक्न ठाउँ–ठाउँमा अग्निरेखा बनाए पनि त्यसको व्यवस्थापन नभएको उनको भनाइ छ ।

‘सरकारदेखि स्थानीयहरू समेत आफ्नो भूमिकामा जिम्मेवार छैनन्, गम्भीर नै भएनन् । आगलागी नियन्त्रण गर्न अग्निरेखाहरू बनाइएको छ । तर, त्यसलाई बेलाबेला सफा गर्ने, अनुगमन गर्ने गर्नुपर्छ’ उनी भन्छन्, ‘नत्र त अग्निरेखा नै सुख्खा पातपतिंगरले भरिन थाल्छ । त्यसमा न स्थानीय गम्भीर बने, न राज्यले नै गर्‍यो ।’

झट्ट हेर्दा जंगलको आगलागी डरलाग्दो देखिन्छ । तर कतिपय रूख बिरुवालाई आगो आवश्यक पर्ने जानकारहरू बताउँछन् । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ घर छाउन प्रयोग हुने बाबियो पलाउन तथा सल्ला र सालको बीउ उम्रिन आगो आवश्यक पर्ने धारणा राख्छन् ।

‘सल्लाको घोगा (फूल) भित्र साना–साना बीउ हुन्छन् । आगो लागेपछि फक्रिन्छ र हावा चल्दा भुइँमा झर्छ’, श्रेष्ठ भन्छन्, ‘सल्लाको आफ्नै निम्ति त आगो राम्रै कुरा हो, तर अहिले सल्ला नै भष्म हुने गरी आगो लागेको छ ।’ तर सल्लामा खोटो हुने भएकाले यो ज्वलनशील हुँदा ठूलो आगो लागे खतरनाक पनि हुने उनको भनाइ छ ।

‘अध्ययन, अनुसन्धान पनि छैन’

डढेलो खासगरी गर्मी र सुख्खा समयमा बढी लाग्ने गर्दछ । मंसिरदेखि मध्य जेठ महिनासम्मको समयावधि सुख्खायामको रूपमा चिनिन्छ । डढेलो मंसिरदेखि प्रारम्भिक रूपमा सुरु हुन्छ र वैशाख महिनाको मध्यतिर चरम हुन्छ । साथै मनसुन सुरु भएपछि कम हुन्छ ।

डढेलो विज्ञ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माका अनुसार, ७४ प्रतिशत डढेलो मध्य फागुनदेखि मध्य वैशाखको बीचमा लाग्छ । यस्तै ५१ प्रतिशत डढेलो चैतदेखि मध्य वैशाखको बीचमा लाग्ने गर्छ ।

डढेलोका कारण वन, बुट्यान, थुप्रै वनस्पति र जीवजन्तु मर्ने सम्भावना रहन्छ । त्यसको एउटा ताजा उदाहरण २०८१ को वैशाख पहिलो हप्ता बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोपछि मृत फेला परेका खरायो, सर्प र विभिन्न लोपोन्मुख चरालाई लिन सकिन्छ ।

शमशेरगञ्ज सब–डिभिजन कार्यालय बाँकेका वन अधिकृत सुशील सुवेदीका अनुसार त्यतिबेला बाँकेका २५ वटा सामुदायिक वनमा डढेलो लागेको थियो र जीवजन्तु र चराहरू मरेको अवस्थामा फेला परेका थिए । डढेलोबाट वनमा वर्षौंदेखि आश्रित जीवजन्तु मरे । हरिण र बँदेल जस्ता जनावर विस्थापित हुन पुगेको उनी बताउँछन् ।

राजपुर गाउँपालिका ७ हाडबास गाउँमा डढेलोबाट २४ घर जलेका छन् ।

घस्रने जन्तु र उभयचरमा विद्यावारिधि गरेका प्रतिनिधि सभा सदस्य डा. कालुराम राई शोध अनुसन्धानको क्रममा विभिन्न जिल्ला पुग्दा उदयपुरको कटारी क्षेत्रको जंगलको डढेलोमा परी थुप्रै सुनकछुवा र छेपाराहरू मरेको फेला परेको बताउँछन् । सुन कछुवालाई ठोटरी, भुईंकछुवा र पहेंलो टाउके कछुवा पनि भनेर पनि चिनिन्छ ।

यो साइटिस अनुसूचीमा अति संकटापन्नमा सूचीकृत छ । पूर्ण रूपमा जमिनमा आश्रित यो कछुवा सुकेका पातपतिंगरमा गुँड लगाएर बस्छ । छिटो भाग्न पनि नसक्ने भएकाले कछुवा आगोमा डढेर मर्ने सम्भावना धेरै हुन्छ ।

यसैगरी वनस्पति तथा जीव विज्ञानका जानकार कमल मादेन पनि डढेलोले तराईको जंगल क्षेत्रमा बस्ने संकटापन्न सूचीमा रहेको ठोटरी कछुवासहित सर्पगन्धा, कुरिलो लगायत औषधिजन्य जडीबुटीहरू संकटमा परेको बताउँछन् । ‘तर डढेलोकै कारण वनस्पति, प्राणी र वन्यजन्तुमाथिको संकटबारे कुनै अध्ययन भएको जानकारी छैन’, उनले भने ।

वनस्पति विभागकी प्रवक्ता संगीता स्वाँर पनि डढेलोबाट नेपालका जडीबुटी र वनस्पतिमा भएको क्षतिबारे अध्ययन भएको रिपोर्ट आफूहरूसँग उपलब्ध नभएको बताउँछिन् । ‘डढेलोले खासगरी नेपालका रैथाने वनस्पतिमा असर पुगेको त होला ! तर, त्यसबारे अध्ययन–अनुसन्धान भएको वन मन्त्रालय वा अन्य निकायबाट हामीलाई रिपोर्टिङ छैन’, उनले भनिन् ।

पारिस्थितिक प्रणालीमा असर

वसन्त ऋतुमा नयाँ पालुवा पलाइरहेको यो समय जीवजन्तुको प्रजनन् समय हो । यही बेला ग्रीष्मकालीन चराहरू दक्षिण भारत, श्रीलंका, दक्षिण पूर्वी एशिया र अफ्रिकाबाट समेत नेपालमा आउँछन् । नेपालमा बच्चा कोरल्छन् र फर्किन्छन् ।

डा. हेमसागर बराल । फोटो : जुलोजिकल सोसाइटी

‘ती आगन्तुक चराहरू चुरे क्षेत्र र मध्य पहाडको जंगलमा बस्छन् । उनीहरूले बच्चा कोरल्ने मुख्य ठाउँ नै चुरेको डाँडा हो’ जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रमुख एवम् चराविद् डा. हेमसागर बराल भन्छन्, ‘अहिले डढेलोको फ्रिक्वेन्सी र इन्टेन्सी बढेकाले ती चराहरू नराम्रोसँग प्रभावित भएका छन् ।’ धेरैजसो चराहरूले रूखको मध्य भागमा गुँड बनाउने गर्दछन् । अहिलेको डढेलोको लप्काले त्यहाँसम्म पुग्ने भएकाले धेरै नै विनाशकारी भएको उनको भनाइ छ ।

यो कुरामा वन तथा भूसंरक्षण विभागका वन अधिकृत गोविन्द श्रेष्ठ पनि सहमत छन् । ‘अहिले जलेका बोट–बिरुवा फेरि हुर्किन लामो समय लाग्छ । वन्यजन्तुको वासस्थानलाई आगलागीजन्य घटनाले सोझै असर गर्छ’, उनी भन्छन् ।

वन्यजन्तुविद् बाबुराम लामिछाने डढेलोबाट खासगरी चराहरू, सरीसृप र माटोमा आश्रित जीवजन्तु बढी प्रभावित हुने बताउँछन् । ‘अरू ठूला जनावर र चराहरू भागेर/उडेर ज्यान जोगाउँछन् । तर तिनीहरूका बच्चा भाग्न सक्दैनन्’, उनी भन्छन्, ‘रूखका टोड्का, बोट–बुट्यान र भुइँमा गुँड बनाएर बस्ने सर्प, गड्यौला, कीरा–फट्याङ्ग्रा, कमिलाहरू जलेर मर्छन्, जुन हाम्रो पारिस्थितिक प्रणालीका अभिन्न अंग हुन् ।’

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार डढेलोबाट वायुमण्डलमा कार्बन उत्सर्जन त बढ्छ नै जैविक विविधतामा पनि क्षति पुग्छ । डढेलोबाट पारिस्थितिक प्रणालीमै असर पुग्ने भएकाले यसलाई पनि बाढी–पहिरो र भूकम्प जस्तै ठूलो विपद्को रूपमा लिनुपर्ने उनको मत छ ।

‘डढेलोले जीवजन्तु मात्रै जलाउँदैन, नेपालमा मात्रै पाइने कतिपय बिरुवा, जीव भनेर हामीले जे दाबी गरिरहेका छौं, त्यसको पहिचान पनि हराउँछ’, उप्रेती भन्छन्, ‘यसले हाम्रो समग्र इकोसिस्टममै असर गरिरहेको हुन्छ । त्यसैले डढेलोलाई ठूलो विपद्को रूपमा लिनुपर्छ ।’

बाल्टीको पानीले घर जोगाउने प्रयास

यस वर्षको हिउँदयाम सुख्खामै बित्यो । अहिले प्रि–मनसुन गतिविधि पनि कमजोर हुँदा लामो समयदेखि पानी परेको छैन । लामो समय पानी नपर्दा जमिन सुख्खा हुने, झारपात सुक्ने, पतझड जंगल क्षेत्रमा रूखबाट तयार इन्धनजन्य वस्तु थुप्रिने र त्यसमा आगोको सानो झिल्को पर्दा भयावह हुने गर्दछ ।

महोत्तरी मटिहानीमा आगोमा जलेको वस्ती । यहाँ १०० घर जलेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।

दक्षिण एशियाली डढेलो व्यवस्थापन सञ्जालका संयोजक समेत रहेका उपसचिव शर्मा ६४ प्रतिशत डढेलो मानिसले जानाजान आगो लगाइदिएका कारण लाग्ने गरेको बताउँछन् । ३२ प्रतिशत आगलागी असावधानी र दुर्घटनावश हुन्छन् भने ४ प्रतिशतको कारण खुल्दैन ।

मानवीय कारण मात्र नभई चट्याङ र रूखका हाँगा आपसमा घर्षण भई निस्किने झिल्का जस्ता प्राकृतिक कारणले पनि डढेलो लाग्ने गरेको छ । शर्माका अनुसार नेपालमा २ वैशाख २०७७ मा चट्याङका कारणले डढेलो लागेको भेटिएको थियो ।

कहिलेकाहीं डढेलो मानव बस्तीसम्म पुग्छ र गाउँ नै सखाप हुन्छ । १६ वैशाख २०८१ मा दाङ देउखुरीको राजपुर गाउँपालिकाको हाडबासमा डढेलोको कारण २४ घर भएको सिंगै गाउँ सखाप भएको थियो । दाङकै लमही नगरपालिका–९ को तेलिया गाउँमा पनि आमखोली सामुदायिक वनको डढेलोले क्षति पुर्‍याएको थियो ।

गाउँका स्थानीय दिनेश कुमाल आफ्नो घर जोगाउन भन्दै बाल्टीमा पानी बोकेर छानामाथि चढेका थिए । सामाजिक सञ्जालमा धेरैले सेयर गरेको यो भिडियो पछाडिको कथा दर्दनाक छ । तेलियाको आमखोला सामुदायिक वन नजिकैको ऐलानी जग्गामा घर बनाएर बस्दै आएका कुमालले लागेको लागेको आगो घरतिर सोझिन थालेपछि सशंकित भएको अनलाइनखबरलाई बताए ।

‘अब हाम्रो घर पनि जल्न सक्छ भनेर इमिलिया पुलिस चौकीमा खबर गर्‍यौं । पुलिस आएर दमकल बोलायो । दुई तीनवटा दमकल आएर जंगलको आगोमा पानी हाल्न थाले’, कुमाल भन्छन्, ‘त्यही बेला मेरो दाइ रामबहादुर कुमालको घरमा आगो लाग्यो । हेर्दाहेर्दै दाइको घर छेउमै रहेको उहाँको छोरा गणेशको घरमा पनि आगो सल्कियो ।’

कुमालले अगाडि भने, ‘अब मेरो घरमा पनि आगो टिप्छ भन्ने भयो । अनि म बाल्टीमा पानी बोकेर घरको छानामा गएर बसें । यदि आगोको फिलिङ्गो आइहाल्यो भने निभाउँछु भनेर गएको थिएँ । घरकालाई इनारको पानी निकालेर भाँडा भरेर राख्न लगाएँ । दाइको र भतिजोको घर जल्यो, धन्न मेरो चाहिं बच्यो ।’

बाल्टीमा पानी बोकेर छानामाथि चढेका दिनेश कुमाल । फोटो : शिबु खनाल

आगलागीका घटना धेरैतिर भए । वैशाख पहिलो साता गुल्मी, अर्घाखाँची र प्युठानमा तथा चैत पहिलो साता तेह्रथुम र भोजपुर लगायत जिल्लामा पनि जंगलकै आगो बस्तीसम्म फैलिएर क्षति पुगेको थियो । महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवागाछीमा वैशाख १२ गते १०० घर नष्ट हुने गरी लागेको आगो भने परालको कुन्युबाट सल्किएको थियो ।

अहिले पनि डढेलो र बस्तीमा हुने आगलागीका घटना रोकिएका छैनन् । वन तथा भूसंरक्षण विभागका अनुसार चालु आर्थिक वर्षमा वैशाख २० गतेसम्म ४ हजार ९७० वटा डढेलोका घटना भएका छन् । डढेलोको गणना सरकारले डिभिजन वन कार्यालय र संरक्षित क्षेत्रका आधारमा गरिरहेको छ । जसमध्ये यो आर्थिक वर्षमा एक हजार १२७ संरक्षित ठाउँमा डढेलो लागेको छ ।

विभागका अनुसार गत फागुनमा २०६ वटा डढेलोका घटना भएका थिए । त्यसमध्ये १०९ वटा डिभिजन वन र ९७ वटा संरक्षित क्षेत्रमा आगलागी भएको थियो । त्यस्तै, चैत महिनामा १ हजार ४२४ वटा डढेलोका घटना विभागले अद्यावधिक गरेको थियो । जसमध्ये ९३२ वटा डिभिजन वन अन्तर्गतका वनमा र ४९२ वटा संरक्षित वन क्षेत्रका जंगलमा आगलागी भएको थियो ।

वैशाख दोस्रो साता यतामात्रै २ हजारभन्दा बढी डढेलोका घटना घटेको विभागका वन अधिकृत गोविन्द श्रेष्ठले जानकारी दिए । विभागका अनुसार बिहीबार मात्रै डिभिजन वन अन्तर्गत ४०१ वटा ठाउँ र संरक्षित क्षेत्रमा २५ ठाउँमा डढेलोका घटना भएको थियो ।

गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा यो वर्षको डढेलो शब्दमा व्यक्त गर्न नसकिने गरी भयानक भएको बताउँछन् । ‘केही वर्षयताको तथ्यांक केलाउँदा मध्य वैशाखसम्म डढेलो पिक प्वाइन्टमा पुग्छ’, शर्मा भन्छन्, ‘अहिले ठिक त्यस्तै छ । यो यति डरलाग्दो र भयानक छ कि शब्दमा व्यक्त गर्न सकिंदैन ।’

राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि क्षति

बस्ती र वन क्षेत्रमा हुने आगलागी नियन्त्रणमा खटिने नेपाली सेनाका अनुसार पनि यस वर्ष धेरै नै आगलागी र क्षतिका विवरण आइरहेका छन् । तर नेपाली सेनाले देशभरको आगलागी नभई आफ्नो जनशक्ति पुगेको ठाउँको मात्र विवरण राख्ने गरेको छ ।

त्यस आधारमा अघिल्लो वर्ष २०८० साल वैशाखदेखि १७ वैशाख २०८१ सम्म डढेलो र आगो लागेका ६९५ ठाउँमा नेपाली सेनाको टोली पुगेको छ । आगो निभाउन १८ हजार ५८७ जनाको सैनिक जनशक्ति परिचालित भएको छ । सेनाका प्रवक्ता गौरवकुमार केसी भन्छन्, ‘पछिल्लो १०–१५ दिनमा हरेक दिनजसो हाम्रो २०–२५ जनाको टोली आगो निभाउन परिचालित भइरहेको छ ।’

नेपाली सेनाको सुरक्षा जिम्मामा रहेका राष्ट्रिय निकुञ्ज क्षेत्र पनि आगलागीको चपेटामा परेका छन् । यही वैशाख ८ गते बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा, चैत १ देखि वैशाख १५ गतेसम्म शिवपुरी राष्ट्रिय निकुञ्जमा, चैत २ देखि चैत २७ गतेसम्म पर्सा राष्ट्रिय निकुञ्जमा, चैत २० देखि वैशाख १६ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको नेपाली सेनाको विवरण छ । यीमध्ये सबैभन्दा ठूलो डढेलो बाँके राष्ट्रिय निकुञ्जमा लागेको सेनाको निष्कर्ष छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पनि आगो लागेको र मृगहरू यताउता दौडिरहेको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पनि नेपाली सेनाले त्यो आगो ठूलो नभएकाले रेकर्डमा नराखिएको जनाएको छ । सेनाले आगलागीको उल्लेख्य घटना नभएको भन्दै चितवन राष्ट्रिय निकुञ्जलाई पनि रेकर्डमा राखेको छैन ।

आरक्षित वन्यजन्तुको वासस्थान मानिने निकुञ्ज क्षेत्रमै डढेलो लागे पनि सेनाले वन्यजन्तु क्षतिको जानकारी नभएको जनाएको छ । नेपाली सेनाका प्रवक्ता केसी डढेलो नियन्त्रणका लागि पर्याप्त पूर्वतयारी गरिने भएकाले निकुञ्ज क्षेत्रमा ठूलो क्षति नहुने बताउँछन् ।

‘हामीसँग आगो लगायतका विपद्को बेला परिचालित हुने डेडिकेटेड टिम हुन्छ, क्विक् रेस्पोन्स टिम (क्यूआरटी) हुन्छ र सबभन्दा महत्वपूर्ण कुरा हामीले फायर लाइन बनाएका हुन्छौं । त्यही भएर डढेलोबाट खासै क्षति हुँदैन’, प्रवक्ता केसीले भने ।

‘अन्य विपद्को तुलनामा आगलागी र डढेलोलाई कम महत्व दिइयो’

डढेलो विज्ञको रूपमा चिनिने उपसचिव शर्माले संकलन गरेको तथ्यांक अनुसार २०६१/६२ सालयता नेपालमा डढेलोबाट मात्रै हरेक वर्ष औसतमा ७ जनाको मृत्यु र ७ जना घाइते हुने गरेका छन् ।

डढेलोबाट सबैभन्दा धेरै मानवीय क्षति २०६६ सालमा भएको थियो । सो वर्षको डढेलोबाट मात्रै ४९ जनाले ज्यान गुमाएका थिए । २०६६ को वैशाखमा रामेछापमा मात्रै १३ जना सैनिकको ज्यान गएको थियो । रामेछाप अस्पताल नजिक लागेको डढेलो निभाउने क्रममा उनीहरूको जलेर मृत्यु भएको थियो ।

 

सो घटनापछि वन मन्त्रालयले डढेलो व्यवस्थापन रणनीति २०६७ जारी गरेको थियो । रणनीतिमा उल्लेख भएअनुसार मानिसहरूले सकारात्मक नियतबाट पनि डढेलो लगाउने गरेका छन् । डढेलो लगाउँदा खोरिया फडानी, सीमान्त कृषि भूमिको विस्तार एवं चरन क्षेत्र विस्तार हुने मान्यता छ । तर, त्यो अनियन्त्रित भएर क्षति पुर्‍याउने गरेको छ । त्यसैले रणनीतिले डढेलो नियन्त्रणभन्दा पनि उचित व्यवस्थापन गर्न जोड दिएको छ ।

यही रणनीति अन्तर्गत सरकारले हरेक चैत पहिलो साता डढेलो व्यवस्थापन सम्बन्धी गतिविधि गर्दै आएको छ । तर पनि डढेलो र त्यसबाट हुने जन–धनको क्षति रोकिएको छैन ।

यस वर्ष पनि चैत २५ गते डोल्पाको दुनैस्थित ठूलीभेरी नगरपालिका–४ तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउन खटिएका ३ जना सैनिकको र ललितपुरको आनन्द वन अस्पताल नजिकको जंगलको डढेलो निभाउन खटिएका २ प्रहरीको उपचारको क्रममा मृत्यु भयो ।

डढेलोविद् सुन्दरप्रसाद शर्मा नेपालमा हुने अन्य विपद्को तुलनामा आगलागी र डढेलोलाई सरकारले कम महत्व दिएको बताउँछन् । ‘अरू देशमा हाम्रो समग्र बजेट बराबर नै डढेलो र आगलागी नियन्त्रणमा बजेट छुट्याउँछन् । तर, हाम्रो देशमा एकदम न्यून बजेट छ’ उनी भन्छन्, ‘आर्थिक सीमितताले पनि डढेलो नियन्त्रणका धेरै काम गर्न सकिंदैन ।’

कभर स्टोरी
लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?