+
+

यो साता फाइनान्स र विकास बैंकले उचाले सेयर बजार, गिरावट थामिने संकेत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १४:५१

२१ वैशाख, काठमाडौं । गत साता १९६५ अंकमा बन्द भएको सेयर बजार यो साता १९९८ अंकमा बन्द भयो । यो साता बजार ३३ अंक (१.६७ प्रतिशत) बढ्यो । गत साता ७ अंक घटेको थियो ।

बुधबार श्रमिक दिवसका कारण सार्वजनिक विदा परेपछि यो साता ४ दिन कारोबार भयो । पहिलो दिन आइतबार १४.३३ अंक बढेको बजार सोमबार ०.०७ अंक मात्रै घट्यो ।

मंगलबार फेरि २५.९३ अंक बढेको बजार बिहीबार ७.३ अंक घट्यो । यो साता बजारले बढ्दा धेरै अंक बढ्ने र घट्दा थोरै अंक घट्ने प्रवृत्ति देखायो । यसले बजारको गिरावट थामिने संकेत जनाउँछ । यद्यपि ४ दिनको कारोबारलाई मात्रै नभई आगामी साताको कारोबारलाई पनि मूल्यांकन गर्नु जरुरी हुन्छ ।

अंकले मात्रै नभई कारोबार रकमले पनि बजारलाई सकारात्मक साथ दिएको छ । सामान्यतया दैनिक २ देखि ३ अर्बको बीचमा कारोबार हुँदै आएकोमा साताका अन्तिम दुई कारोबार दिन ४ अर्ब नाघेको छ । आइतबार २ अर्ब ६८ करोड र सोमबार २ अर्ब ९५ करोडको धितोपत्र कारोबार भयो । तर मंगलबार ४ अर्ब ८० करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब १३ करोडको कारोबार भयो ।

विकास बैंक र फाइनान्समा उच्च वृद्धि :
यो साता विकास बैंक र फाइनान्सको योगदानले समग्र बजार बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै ६.८ र फाइनान्स ६.५ प्रतिशत बढ्यो ।  त्यस्तै माइक्रोफाइनान्सको योगदान पनि उच्च रह्यो । सो समूह ६.३७ प्रतिशत बढ्यो ।

फाइनान्स र माइक्रोफाइनान्स ‘लो क्याप’ कम्पनीका समूह भएकाले यी समूह बजारमा बढी उतारचढाव हुने गरेका छन् । माइक्रोफाइनान्सको तेस्रो त्रैमासिक वित्तीय विवरण केही सुधार भएर आउने अपेक्षा लगानीकर्ताले गरिरहेका छन् ।  माइक्रोफाइनान्स कम्पनीहरुले वैशाख मसान्तसम्म तेस्रो त्रैमासिक विवरण निकाल्नेछन् । केहीले हाल विवरण सार्वजनिक गरिरहेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार धेरैजसोको नाफा बढेको छ भने निष्क्रिय कर्जामा सुधार देखिएको छ ।

विकास बैंक र फाइनान्स समूहका सबै कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अधिकांशको वित्तीय स्थिति सन्तोषजनक नदेखिए पनि मूल्य न्यून विन्दुमा झरिसकेकाले लगानीकर्ता यी समूहमा आकर्षित देखिएका हुन् । कुल सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये चैत मसान्तसम्म ११ कम्पनीहरुको वितरणयोग्य नाफा नै ऋणात्मक छ । औसत प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ४३ पैसा ऋणात्मक देखिन्छ ।

यो साता व्यापार समूह स्थिर रह्यो भने अन्य समूह घट्यो । बाँकी सबै समूहका सूचक बढेका छन् । धेरै मूल्य बढेका कम्पनीहरुमा पनि फाइनान्स र लघुवित्त कम्पनीहरु रहे ।

यो साता पालैपालो क्षेत्रगत सूचक बढे 

लामो समयदेखि सेयर बजार ‘साइडवेज’मा रहेकाले कारोबारीहरु यतिबेला जुन क्षेत्रमा राम्रो लय देखिन्छ, त्यतै लाग्ने गरेका छन् । जसले गर्दा समूहगत सूचक पालैपालो बढेको देखिन्छ । याे साता आइतबार फाइनान्स समूहमा कारोबारीको आकर्षण देखियो । सो दिन फाइनान्स ३‍ दशमलव ९ प्रतिशत बढ्यो ।

सोमबार पनि ४ दशमलव १ प्रतिशत बढेको फाइनान्समा आकर्षण देखियो । मंगलबार भने विकास बैंकमा आकर्षण मोडियो । साे समूह ४ दशमलव ९ प्रतिशत बढ्यो । बिहीबार माइक्रोफाइनान्समा आकर्षण देखियो । समग्र बजार घट्दा पनि सो दिन माइक्रोफाइनान्स समूह ३ दशमलव ४ प्रतिशत बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?