+

कर्पोरेट सुपर सिक्सेसको तयारी पूरा, समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक

२०८१ वैशाख  २१ गते १७:०९ २०८१ वैशाख २१ गते १७:०९
कर्पोरेट सुपर सिक्सेसको तयारी पूरा, समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक

२१ वैशाख, काठमाडौं । आगामी आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ ।

एसएस इभेन्ट्स प्रालि र नेपाल खेलकुद महासंघ (नेकोस)को संयुक्त आयोजनामा उक्त प्रतियोगिता शनिबारदेखि तीन दिनसम्म हुँदैछ ।

शुक्रबार नक्सालमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले यस संस्करणको समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरेको हो ।

एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रविन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

तीन वर्षपछि पुनः सञ्चालनमा आउन लागेको यस संस्करणमा कुल १५ कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन् । यी टोलीलाई कुल चार समूहमा विभाजन गरिएको छ ।

तीन समूहमा चार टोली रहनेछन् भने एक समूहमा तीन टोली मात्र प्रतिस्पर्धा गर्ने प्राविधिक संयोजक विनयकुमार झाले जानकारी दिए ।

शुक्रबार नै ड्र सार्वजनिक गरिएको हो । जसअनुसार समूह ‘ए’ मा माछापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआईसी एसिया बैंक र प्राइम बैंक तथा समूह ‘बी’ मा आईसीएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् ।

समूह ‘सी’ मा सूर्य नेपाल, आइएमई ग्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसु गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा सञ्चालन हुनेछ ।

प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदैछ । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

संस्करणको विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएको छन् । प्लेयर अफ दि टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ ।

प्रतियोगिताको बैंकिङ पार्टनर एनआईसी एसिया छ । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो ।

सातौं सिजनदेखि नेकोस जोडिएको हो । छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन ।

प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालिका निर्देशक रौनियारले जानकारी दिए ।

कर्पोरेट सुपर सिक्सेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय