+
+
Shares

आगजनीपछि नयाँ स्वरूपमा खुल्यो भाटभटेनीको टंगाल स्टोर

अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई ‘देशको सम्पत्ति’ भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भाटभटेनी सुपरमार्केटको टंगाल शाखा आगजनीपछि मर्मत र पुनर्निर्माण सकिएर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आएको छ।
  • अध्यक्ष मीनबहादुर गुरुङले देशभरका १२ स्टोरमध्ये टंगालसहित १० स्टोर खुलिसकेको र दमक तथा हेटौंडा शाखा छिट्टै खुल्ने बताए।
  • स्टोर खुल्दा ग्राहकहरू किनमेलका लागि पुगेका थिए र नियमित उपभोक्ताले बन्द हुँदा सामान किन्न अप्ठ्यारो भएको बताएका छन्।

५ असोज, काठमाडौं । गत वर्ष २४ भदौको आन्दोलनका क्रममा आगजनीबाट गम्भीर भौतिक क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा आज सोमबारदेखि पुन: सञ्चालनमा आएको छ ।

मर्मत तथा पुनर्निर्माण सम्पन्न भएसँगै सोमबार बिहान १० बजेदेखि ग्राहकका लागि औपचारिक रूपमा यो स्टोर खुला गरिएको हो ।

स्टोरको शुभारम्भ भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ आफैंले गरेका हुन् ।

सञ्चालक गुरुङका अनुसार आन्दोलनका क्रममा देशभरिका १२ वटा स्टोरमा क्षति पुगेको थियो । जसमध्ये टंगालसहित १० वटा स्टोर मर्मतपछि सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौंडा शाखाको पुनर्निर्माण अन्तिम चरणमा रहेकाले छिट्टै खुल्ने तयारीमा छन् ।

‘ज्यानको बाजी राखेर उठ्यौं’

आफ्नै आँखा अगाडि अबौंको सम्पत्ति जलिरहँदा मनमा गहिरो पीडा भए पनि आफूले त्यसलाई चुनौतीका रूपमा लिएर अघि बढेको अध्यक्ष गुरुङले बताए ।

भत्काउन र बिगार्न जति सजिलो छ, नयाँ बनाउन त्यति नै गाह्रो हुने बताउँदै उनले पुनर्निर्माणका क्रममा आफ्नो स्वास्थ्यमा समेत गम्भीर असर परेको भनाइ राखे ।

‘मैले आफ्नो ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको छु, मेरो हेमोग्लोबिन घटेर ४ मा झरेको थियो, अहिले सुधार भएको छ,’ गुरुङले भने, ‘हामी नेपाली हिम्मतिला छौं, त्यसमा पनि गोर्खाली हौं, गोर्खालीको साहस छुट्टै हुन्छ, त्यसैले हामीले एउटै अठोट गर्‍यौं– खरानीबाट फेरि उठ्नेछौं ।’

गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई ‘देशको सम्पत्ति’ भएको बताएका छन् ।

‘यो मेरो मात्र सम्पत्ति होइन, नेपालको सम्पत्ति हो, यहाँ हजारौं नेपालीले रोजगारी पाएका छन्,’ उनले भने, ‘हामीले आर्जन गरेको पैसाको ३० प्रतिशत त राजस्वमै तिर्छौं, आफ्नै सम्पत्तिमा आफैंले आगो त कसैले लगाउँदैन नि !’

४२ वर्षअघि १२० स्क्वायर फुटको भाडाको कोठाबाट श्रीमतीको गहना बेचेर जम्मा ३५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेको स्मरण गर्दै उनले यसमा आफ्नो रगत र पसिना बगेको बताए ।

‘यही देशमा गर्ने हो, यहीँ मर्ने हो’

अबको १५ वर्षमा इमानदार नेतृत्व पाए नेपाल एउटा विकसित देश बन्न सक्नेमा उनी निकै आशावादी रहेको बताए । देशमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै निराश भएकाहरूलाई उनले आतंकित नहुन र आफ्नो काम निरन्तर गर्न आग्रह गरे ।

‘आतंकित किन हुने ? यही देशमा गर्ने हो, यही देशमा मर्ने हो, देशको विकासमा निजी क्षेत्रको ठूलो हात हुन्छ,’ उनले भने, ‘मेरो देशमा अब उप्रान्त यस्तो घटना कहिल्यै नहोस्, सरकारले निजी क्षेत्र र देशको सम्पत्तिको संरक्षण गरिदिनुपर्छ ।’

पुनर्निर्माणमा अहोरात्र खटिने इन्जिनियर, कर्मचारी, सहयोगी संस्था, सञ्चारमाध्यम र स्वदेश तथा विदेशबाट हौसला प्रदान गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई उनले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

टंगाल स्टोर खुलेपछि अब ग्राहकले आधुनिक र गुणस्तरीय सेवा निरन्तर पाउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

ग्राहकमा उत्साह : ‘सामान किन्न नपाउँदा हैरान थियौं’

टंगाल शाखा पुन: सञ्चालनमा आएसँगै सोमबार बिहानैदेखि सामान किन्न पुगेका उपभोक्ताहरूको उल्लेख्य भिड लागेको थियो । लामो समयसम्म आफ्नो नियमित किनमेल गर्ने गन्तव्य बन्द हुँदा निराश ग्राहकहरू स्टोर खुल्दा निकै उत्साहित देखिन्थे ।

मूलपानी घर भई टंगालमै कार्यालय रहेकी नियमित ग्राहक विष्णु भण्डारी स्टोर खुलेको थाहा पाउनेबित्तिकै भाटभटेनी आएको बताइन् ।

आगजनीको घटनाले आफूहरूलाई निकै दु:खी बनाएको उनको भनाइ थियो ।

‘यो स्टोर नहुँदा हामीलाई सामान किन्न निकै अप्ठ्यारो भएको थियो, एउटा सामान खोज्न एकातिर र अर्को खोज्न अर्कोतिर धाउँदा हामी वाक्कदिक्क भइसकेका थियौं,’ उनले अनलाइनखबरसँग भनिन्, ‘आज खुल्दा एकदमै रमाइलो लागिरहेको छ ।’

यति छिट्टै स्टोर सञ्चालनमा आउला भन्ने नसोचेकी भण्डारीले सञ्चालकदेखि सम्पूर्ण कर्मचारीलाई छिटो उठ्न सकेकोमा बधाई दिँदै अब बाहिरभन्दा सस्तो मूल्य, अफर र म्याद ननाघेका (डेट एक्सपायर नभएका) गुणस्तरीय सामानहरू सहज रूपमा पाउनुपर्ने अपेक्षा व्यक्त गरिन् ।

त्यस्तै, भाटभटेनी सुरु भएदेखिका अर्का नियमित ग्राहक गोविन्द रेग्मीले भाटभटेनीलाई नेपाललाई विश्वसामु चिनाउने एउटा गर्विलो ‘सपिङ कम्प्लेक्स’ का रूपमा अर्थ्याए ।

खरानीबाट यति छिट्टै उठेर नयाँ स्वरूपमा आउनुले मानिसमा हिम्मत भए जे पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको उनको भनाइ छ ।

‘यस्तो अवस्थामा पनि छोटो समयमै उठेर देखाउनु उदाहरणीय र गर्वको विषय हो,’ सञ्चालक मीनबहादुर गुरुङको साहसको प्रशंसा गर्दै रेग्मीले भने, ‘मान्छेसँग हिम्मत भयो भने छोटो अवधिमै जे पनि गर्न सकिन्छ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो ।’

तस्वीरहरु : कमल प्रसाईं/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?