+
+

कथा- कुकुर

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २६ गते ११:०३

नयनराज पाण्डे

समय खराब छ । त्यसैले यसपटक मान्छेको कथा भन्दिन । कुकुरको कथा भन्छु ।

कुकुर संसारको सबैभन्दा प्रख्यात जनावर हो । भनिन्छ हजारौं वर्षअघिदेखि नै संसारमा कुकुरहरू विद्यमान छन् । झन्डै ईश्ाापूर्व १० हजार साल पहिलादेखि । कुकुरको मूल विशेषता यही हो कि यो भुक्न सक्छ, आक्रमण गर्न सक्छ । कुकुर स्वामीभक्त पनि हुन्छ । स्वामीको लागि ज्यानै दिने कुकुरहरू पनि पाइन्छन् ।

कुकुरका झन्डै सात सय एक विशुद्ध प्रजातिहरू पाइन्छन् । मिस्कट र भुस्याहा जाति प्रजाति भने थुप्रै हुन्छन् । हजारौं । झन्डै दुई सय पचास प्रजातिका कुकुरहरू घरमा पाल्नका लागि योग्य मानिन्छन् । अफगान हाउन्ड, अकिता, अलास्कन मलाउमट, अस्ट्रेलियन कैटल, अस्ट्रेलियन केल्पी, अस्ट्रेलियन सिल्की टेरियर, एल्सेसियन, बीगल, बेल्जियन सेर्फड, जर्मन सेर्फड, ब्लड हाउन्ड, बक्सर, बि्रटिस बुलडग, शिहुआहुवा, जर्मन प्वाइन्टर, डोवरम्यान, ल्याबराडोर प्यापिलन, माल्टेज, पमेरियन, पुडल, साइबेरियन हस्की, तिब्बती स्पानियल, गोल्डन रिटि्रवर, ग्रेट डेन, आइरिस सेटर, आइरिस वुल्फहाउन्डजस्ता प्रजातिका कुकुरहरू विश्वका सर्वाधिक लोकपि्रय प्रजातिहरू मानिन्छन् । बोर्डर कोली, पुडल र गोल्डन रिटि्रवर सबैभन्दा समझदार कुकुर मानिन्छन् । अफगान हाउन्ड भने सबैभन्दा मूर्ख र ल्वाँदे कुकुर मानिन्छ ।

…….

संसारको सबैभन्दा सानो र हलुङ्गो कुकुर शिहुआहुआ हो र सबैभन्दा ठूलो र गरुङ्गो कुकुर वुल्फहाउन्ड हो । कुकुर पाल्ने चलन हजारौं वर्ष पुरानो हो । पहिलापहिला कुकुरलाई स्वामीको मृत्युपछि स्वामीसँगै गाडिने चलन पनि थियो । ताकि परलोकमा पनि त्यसले स्वामीको रेखदेख गरोस् । अचेल यस्तो चलन छ छैन, खोजीको विषय हो ।

…….

शिहुआहुआ सानो, सजिलो र हलुका हुनाले विश्वमा सबैभन्दा बढी पालिन्छन् । यसलाई पाल्नु अरू कुकुरभन्दा कम खर्चिलो हुन्छ । यो कुकुर सफा देखिन्छ र निकै स्वामीभक्त हुन्छ । यसको गन्ध अरू कुकुरको जस्तो नमीठो हुँदैन । स्वामीहरूलाई यसको भुकाइ पनि निकै मीठो लाग्छ । कतिलाई यसले भुकेको पनि सङ्गीतजस्तो लाग्छ ।

…….

आइरिस वुल्फहाउन्ड भने निकै बलियो र खुँखार हुन्छ । यसमा गजबको आक्रमण क्षमता हुन्छ । पहिलापहिला यो कुकुर राजा महाराजाहरूले मात्र पाल्दथे । यसले स्वामीको गजबले रक्षा गर्न सक्छ किनभने यसले ठूल्ठूला ब्वाँसोको पनि सिकार गर्न सक्छ । शिहुआहुआ पाल्नको लागि सानो ठाउँ भए पनि पुग्छ तर यो आइरिस वुल्फहाउन्डको निम्ति भने निकै ठूलो ठाउँ चाहिन्छ ।

…….

कुकुरहरूको सबैभन्दा महत्वपूर्ण अंग भनेको नाक र कान हो । आँखाभन्दा पनि महत्वपूर्ण । कुकुरको आँखा निकै कमजोर हुन्छ । यसले रङहरू चिन्न र छुट्याउन सक्दैन । अर्थात् कलर ब्लाइन्ड हुन्छ । यसले केवल ब्ल्याक एन्ड ह्वाइट मात्र देख्नसक्छ । त्यसैले कुकुरको सुँघ्ने र सुन्ने शक्ति गजबको हुन्छ । स्वामीको गन्ध र बोली यसले गजबले चिन्छ । केही कुकुरहरू त स्वामीको कार, जुत्ता, पोशाक, बन्दुक पनि चिन्दछन् । कुकुरहरूको सुन्ने क्षमता मान्छेको भन्दा बढी हुन्छ । सुँघ्ने क्षमता त झन् एक हजार गुना नै बढी हुन्छ । त्यसैले त भनिन्छ, स्थिति र परिस्थिति यसले निकै चाँडै ठम्याउन सक्छ । र त्यही परिस्थितिअनुसार स्वामीभक्ति गर्न सक्छ ।

…….

कुकुरहरू पनि सपना देख्छन् । यो रिसर्चबाट प्रमाणित भएको कुरा हो । त्यसैले त निदाएको बेलामा पनि कुकुरका आँखीभौंहरू चलिरहेका हुन्छन् । तर यो पक्का हो कुकुरहरूको आफ्नो कुनै महत्वाकाङ्क्षा हुँदैन । यसको एकमात्र महत्वाकाङ्क्षा हो, स्वामीभक्ति । स्वामीको जुठोपुरो खान पाए पुग्यो । स्वामीको दया र निगाह पाए पुग्यो ।

…….

कुकुरहरू यति स्वामीभक्त हुन्छन् कि अरूले स्वामीलाई गाली गरेको, जिस्काएको, स्वामीको आलोचना गरेको सहनै सक्दैनन् । आलोचकमाथि त्यतिबेला यसले आक्रमणसमेत गर्नसक्छ । त्यसैले अब्राहम लिंकनले भनेका छन्- “कुकुर संसारको एकमात्र यस्तो प्राणी हो, जसले आफूलाई भन्दा आफ्नो स्वामीलाई बढी माया गर्छ ।”

…….

स्वामीहरूले आफ्नो घरमा कुकुरहरूको लागि निश्चित ठाउँ छुट्याएका हुन्छन् । तर केही कुकुरहरू आफ्नो ठाउँ आफैं बनाउन सक्छन् । आफ्नो कुना आफैं खोज्न सक्छन् । त्यसैले कुकुरहरूलाई उनीहरूले रोजेको ठाउँबाट धपाउन नखोज्नुस् । त्यतिबेला कुकुर हिंस्रक र आक्रामक हुन्छ ।

…….

स्वामीहरूलाई चिनेर कुकुरहरू पुच्छर हल्लाउँछन् । यदि उसले पुच्छर हल्लाएन, दाँत देखाउन थाल्यो र कानलाई पछाडितिर लगेर घुर्न थाल्यो भने ठान्नुस्, उसले तपाईंलाई मन पराएन, चिनेन र अब चाँडै नै तपाईंमाथि आक्रमण पनि गर्न सक्छ । कुकुरहरूसित आँखा जुधाउनु पनि हुँदैन । कुकुरसित निहुँ पनि खोज्नु हुँदैन ।

भनिन्छ भोजन गरिरहेको बेला कुकुरलाई जिस्काउनु हुँदैन । र कुकुरले खाइरहेको कुरा खोस्नु पनि हुँदैन । त्यतिबेला यो भयानक किसिमले हिंस्रक हुनसक्छ । यो कुरा नोट गरेर राख्नुस् ।

कुकुर समूहमा बस्न रुचाउँछ । परिवारमा बस्न रुचाउँछ । ऊ चाहन्छ कि सबैले उसको विशेष रेखदेख गरुन्, चाकरी गरुन् । उसलाई विशेष आदर र सम्मान गरियोस् र अदबले उसित बोलियोस् ।

…….

केही व्यक्तिहरू कुकुरलाई आफ्नै प्लेटबाट र आफ्नै भागबाट ख्वाउँछन् । यसो गर्नुहुन्न । उसलाई उसकै प्लेटमा खान दिनुपर्छ । नत्र उसको बानी बिग्रन्छ र पछि तपाईंकै भाग खोस्ने हुन्छ ।

…….

स्वामीहरू कुकुरको खानपिनको विशेष ख्याल राख्छन् । आफ्नो कुकुरको स्वाद र रुचि प्रायः हरेक स्वामीहरूलाई थाहा हुन्छ । कुकुरको लागि पहिलोपल्ट सन १८६० मा ईंग्ल्यान्डमा बिस्कुट बनाइएको थियो । यो बिस्कुट निकै लोकपि्रय भयो । तर अचेल कुकुरहरूका लागि थरीथरीका र विशेष परिकारहरू पाइन्छन् । यस्ता परिकारहरू अचेल डिपार्टमेन्टल स्टोर र सपिङकम्लेक्सहरूमा सजिलै पाइन्छन् । यी परिकारहरू सुन्दर बट्टा र डब्बामा प्याक गरिएका हुन्छन् । स्वामीहरू त्यहाँ जान्छन् र आफ्ना पि्रय कुकुरका लागि विभिन्न स्वादका, विभिन्न क्वालिटीका परिकारहरू किन्छन् । यी परिकारको स्वाद कुकुरहरूलाई पि्रय हुन्छन् र त्यसैले पुच्छर हल्लाउँदै, स्वामीप्रति कृतज्ञ भाव राख्दै खाने गर्छन् ।

असल स्वामीहरू आफ्नो कुकुरलाई सन्तुलित भोजन गराउँछन् । उनीहरूलाई थाहा हुन्छ कि कुकुरलाई स्वस्थ, सुन्दर र इमानदार बनाइराख्न उसले खाने भोजनमा तीन चौथाइ हिस्सा हरियो सागपात, अन्न अर्थात् कार्बोहाइड्रेट हुनुपर्छ र बाँकी एक चौथाइ हिस्सा प्रोटिन हुनुपर्छ । तर केही स्वामीहरू आफ्ना कुकुरहरूलाई बढी नै कार्बोहाइड्रेट र प्रोटिन दिन्छन् ।

…….

कुकुर संसारको सबैभन्दा लोकपि्रय पाल्तु जनावर हो । कुकुर स्वामीभक्त हुन्छ । आज्ञाकारी हुन्छ । स्वामीलाई अनेक विपत्तिबाट रक्षा गर्छ । यो स्वामीको लागि भुक्छ । स्वामीको निम्ति पुच्छर हल्लाउँछ । स्वामीको लागि शत्रुमाथि जाइलाग्छ । स्वामीको जुठो खान्छ । स्वामीको गन्ध मन पराउँछ । स्वामीको सम्पत्ति र सन्तानहरूको रक्षा गर्छ । स्वामीको आवाज, स्वामीको चाल, स्वामीको हरेक गतिविधिलाई मन पराउँछ । स्वामीको इशारा बुझ्छ । स्वामीको विचार बुझ्छ । स्वामीको काखमा बस्न मन पराउँछ । स्वामीको पाउमा लुट्पुटिन मन पराउँछ । स्वामीले जे भने पनि सहन्छ । जे गरे पनि सहन्छ ।

…….

नेपालमा पनि थरीथरीका कुकुरहरू पाइन्छन् । एकसेएक स्वामीभक्त, इमानदार र सहनशील कुकुरहरू । यहाँ स्वामीको काखमा लुट्पुटिने साना, चिटिक्कका, माया लाग्दा शिहुआहुआहरू पनि पाइन्छन् । स्वामीको इशारा बुझ्ने, भाव, विचार र संकेत बुझ्ने सिकारी वुल्फहाउन्डहरू पनि पाइन्छन् । एल्सेसियन, सेर्फडजस्ता सम्भ्रान्त कुकुरहरू पनि पाइन्छन् । बोर्डर कोली, पुडल र गोल्डन रिटि्रवरजस्ता समझदार कुकुरहरू पनि यहाँ पाइन्छन् । मूर्ख, ल्वाँदे र स्वामीको तलुवा निकै स्वाद लिएर चाट्ने अफगान हाउन्डजस्ता कुकुरहरू पनि यहाँ प्रशस्त पाइन्छन् । त्यसबाहेक यस्ता कुकुरहरूलाई स्वामीभक्ति गर्न, स्वामीले अह्राएको काम गर्न, स्वामीको आदेशानुसार चटक देखाउन, बेलाअनुसार भुक्न, पुच्छर हल्लाउन सिकाउने प्रशिक्षकहरू पनि नेपालमा थुप्रै भइसकेका छन् । कुकुरहरूका क्लबहरू पनि छन् । त्यहाँ कुकुरको स्याहारसम्भार र प्रशिक्षणको विशेष व्यवस्था गरिएको हुन्छ ।

तर सबै कुकुरहरूभन्दा पृथक हुन्छ भुस्याहा कुकुर । हुने खानेहरू भुस्याहालाई कुकुर नै मान्दैनन् । उनीहरू भुस्याहालाई कुकुरको नाममा कलंक भन्ठान्छन् । गाली, लात्ती, हेपाइ, उपेक्षा आदि सबै सहने यस्ता भुस्याहाहरू पनि नेपालमा प्रशस्तै पाइन्छन् । नेपालमा यस्ता भुस्याहाको संख्या पछिल्लो जनगणनाअनुसार झन्डै अढाइ करोड छ । कैलेकाहीं यस्ता कुकुरलाई समाप्त गर्ने अभियान नै चलाइएको हुन्छ । यी कुकुरहरू बेवारिसी हुन्छन् । यिनीहरू सबैका लागि बोझ हुन्छन् । यिनीहरू अर्काको जुठो खाएर बाँच्छन् । अर्काको निगाह र दयामा बाँच्छन् । अरू कुकुरजस्तो यिनीहरूको सुखसुविधाको कसैले ख्याल राख्दैन । यिनीहरूको निम्ति कुनै क्यानल क्लब हुँदैन । यिनीहरूलाई कसैले पाल्दैन । यी कुकुरै भएर जन्मन्छन् र कुकुरै भएर मर्छन् । यस्ता कुकुरहरू बढी बौलाउँछन् । बढी रोगी हुन्छन् । बढी भुक्छन् । तर जान्ने सुन्ने र दामी कुकुर पाल्ने सम्भ्रान्त स्वामीहरू भन्छन्- धेरै भुक्ने कुकुरले टोक्दैन । त्यसैले यिनीहरूको भुकाइसित कोही डराउँदैन । यिनीहरू मसिनो स्वरले भुक्छन् र भुक्दाभुक्दै मर्छन् ।

…….

नेपाल सबैभन्दा बढी कुकुरहरू भएको देश हो ।

(पाण्डेको कथासंग्रह निदाएँ जगदम्बाबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?