Comments Add Comment

प्रचण्डमाथि प्रहार थालेपछि बैद्यको मोर्चामा खटपट

८ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले चुनाव बहिस्कार आन्दोलनलाई प्रचण्डमाथि केन्द्रित गरेपछि ३३ दलीय मोर्चामा आवद्ध दलहरुले आपत्ति जनाएका छन् । शान्तिपूर्ण आन्दोलन भएकाले कसैमाथि राति आक्रमण गर्न जाने र खुकुरी हान्ने कुनै कार्यक्रम नरहेको ३३ दलका नेताले बताएका छन् ।

pasang-sharpaरातारात उम्मेद्वारमाथि आक्रमण गरेर वैद्य माओवादी ३३ दलीय आन्दोलनको भावना विपरीत गएको भन्दै मोर्चाका दलहरुले तत्काल ३३ दलीय मोर्चाको बैठक बोलाउन माग गरेका छन् । ‘वैद्यजीहरु ३३ दलीय आन्दोलनले निर्धारण गरेको कार्यक्रमभन्दा बाहिर गइराख्नुभएको छ । हामीले मान्छेलाई आक्रमण गर्ने, खुकुरी हान्ने जस्ता भौतिक आक्रमण गर्ने हाम्रो कार्यक्रम छैन । त्यो पनि उज्यालो नभई आक्रमण गर्न जाने’ सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरसँग भन्नुभयो- ‘यो ३३ दलको आन्दोलनको कार्यक्रम हैन, यसमा हाम्रो गम्भीर असहमति छ ।’

सामाजिक लोकतान्त्रिक पार्टीको शुक्रबारको बैठकमा समेत यसबारे छलफल भएको थियो । पासाङले वैद्य पक्षलाई व्यंग्य गर्दै भन्नुभयो ‘दिउँसो झडप हुनु लोकतन्त्रमा सामान्य हुन्छ, आन्दोलन गर्दागर्दै कहिलेकाँही रात पनि पर्न सक्छ, तर राति सुतेकै ठाउँमा आक्रमण गर्न जाने ३३ दलको कार्यक्रम तय भएको छैन । वैद्यजीहरुले ३३ दलका नाममा जे गर्न थाल्नुभएको छ, त्यसमा हाम्रो समर्थन हुन सक्दैन । ३३ दलको आन्दोलन शान्तिपूर्ण हुने हाम्रो निर्णय छ ।’

बरु आफूहरु जेल जान तयार रहेको तर कसैमाथि भौतिक आक्रमण गर्ने ३३ दलले निर्णय नगरेको पासाङले बताउनुभयो । ‘३३ दलका नाममा कसैले खुकुरी हान्छ भने त्यसलाई हाम्रो समर्थन रहने छैन । बरु हामी जेल बस्न तयार छौं, तर शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट बाहिर जाँदैनौं ।’, उहाँले अनलाइनखबरसँग भन्नुभयो ।  आफूहरु भूमिगत नहुने र खुलारुपमा हिड्ने भन्दै उहाँले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले थुन्छ भने जेल जान तयार रहेको बताउनुभयो ।

प्रचण्डविरुद्ध आन्दोलन केन्दि्रत गरेकोमा आपत्ति

वैद्य माओवादीले चुनाव बहिस्कार आन्दोलन प्रचण्डमाथि केन्द्रीत गरेकोमा समेत ३३ दलीय मोर्चाका नेता शेर्पाले आपत्ति जनाउनुभयो । ‘उहाँहरुले अब आन्दोलन प्रचण्डमाथि केन्द्रीत हुन्छ भन्नुभएको छ । त्यसमा मेरो आपत्ति छ । शेर्पाले भन्नुभयो-‘३३ दलको आन्दोलन चारदलको सिण्डिकेटविरुद्ध हो, कोही नेताविरुद्ध होइन । ३३ दलले कुनै राजनीतिक पूर्वाग्रह साँध्न आन्दोलन गरेको होइन ।’

वैद्य माओवादीले प्रचण्डविरुद्ध आन्दोलन गरे ३३ दलीय मोर्चामा रहेका पहिचान पक्षधरहरुले कांग्रेस-एमालेविरुद्ध आन्दोलन गर्ने पासाङले चेतावनी दिनुभयो । वैद्यजीहरु ११ बुँदे, २५ बुँदे कता हो कता, त्यही प्रचण्डलाई लखेट्नुपर्छ भनेर लाग्नुभएको छ’ शेर्पाले भन्नुभयो-‘यदि उहाँहरुले त्यसो भन्नुहुन्छ भने पहिचानवादी संघीयता पक्षहरु प्रचण्ड अलिकति सफ्ट छन्, एमाओवादी पहिचानका लागि प्रष्ट छ, यसको विरोधी भनेको कांग्रेस र एमाले मात्र हो भनेर कांग्रेस एमालेलाई लखेट्छौं ।’

प्रचण्डकै कारण सहमति हुन सकेन भन्ने बैद्य माओवादीको ठहर छ नि भन्ने प्रश्नमा शेर्पाले भन्नुभयो-‘त्यो उहाँहरुको विश्लेषण होला, हाम्रो पनि विश्लेषण छ । यो वार्तामा सहमति भएर चैत, वैशाखसम्म चुनाव सर्‍यो भने पहिचान र संघीयतावादीहरुको संविधानसभामा एकजुट हुन्छन् र अल्पमतमा परिन्छ भनेर कांग्रेस र एमाले नमानेको हो नि त ।’ उहाँले अघि भन्नुभयो-‘वैद्य जीको विश्लेषणमा प्रचण्ड मानेनन्, हाम्रो विश्लेषणमा कांग्रेस र एमालेले वार्ता भाँडेका हुन् ।’

कांग्रेस एमालेलाई सहयोग पुर्‍याएको आरोप

वैद्य माओवादीले कांग्रेस र एमालेलाई सहयोग पुर्‍याउन खोजेको आशंका गर्दै उहाँले प्रश्न गर्नुभयो-‘किन उहाँहरुले कांग्रेस र एमालेको जस्तो संघीयताविरोधी, आदिवासीको अधिकार विरोधीबारे बोल्नुहुन्न ? हाम्रो प्रश्न छ ।’ वैद्य माओवादीले रिवी साँध्न प्रचण्डमाथि आन्दोलन केन्दि्रत गरेको भन्दै उहाँले यसले ३३ दलीय आन्दोलनलाई बदनाम गराउने भन्दै सचेत गराउनुभयो ।

३३ दलको नाम लिएर जथाभावी गर्न नपाउने भन्दै उहाँले मोर्चाको दलको बैठकमा यसबारे वैद्य पक्षसँग गम्भीर रुपमा कुरा उठाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment