Comments Add Comment

१२ वर्षमा काठमाण्डौलाई विषादिरहित बनाइने

५ पुस, काठमाडौं । राजधानीवासीलाई खुसीको खबर ! सरकारले उपत्यका र आसपासका क्षेत्रमा अर्गानिक कृषि उत्पादन अभियान थालनी गरेको छ । तर, यसका लागि काठमाण्डौबासीले भने १२ वर्षसम्म भने कुर्नुपर्ने हुन सक्छ ।

सरकारले अर्गानिक कृषि उत्पादनलाई अभियानकै रुपमा थालनी गर्ने भएको छ । बिहीबार जिल्ला कृषि विकास कार्यालय, काठमाण्डौले गरेको एक कार्यक्रममा ‘तीन गाई १० रोपनी जग्गा, रसायनको प्रयोगविना उत्पादन हुन्छ पक्का’ भन्ने नाराका साथ काठमाण्डौबाट अर्गानिक अभियान थालिएको बताइएको हो । कार्यक्रममा आगामी १२ वर्षभित्र काठमाण्डौ र आसपासका क्षेत्रको माटोलाई विषादिरहित कृषि उत्पादन क्षेत्र बनाउने घोषणा पनि गरियो । अर्गानिक कृषिका लागि विषादिरहित जमीन अपरिहार्य मानिन्छ ।

सो कार्यक्रममा कृषिमन्त्री टेकबहादुर घर्तीले तरकारी तथा खाद्यान्नमा विषादिको प्रयोग डरलाग्दो रुपमा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणमा सरकार अग्रसर भएको बताउनुभयो । विषादि नियन्त्रणका लागि सरकारले प्राङ्गारिक मलमा अनुदान व्यवस्था लागू गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

हाल नेपालको कृषि उत्पादनमा वाषिर्क ३ सय ५० मेटि्रक टनभन्दा बढी विषादि प्रयोग हुुने गरेको छ । तीमध्ये ३३ प्रतिशत कीटनाशक, ४८ प्रतिशत रोगनाशक, १६ प्रतिशत झारपातनाशक र तीन प्रतिशत अन्यखाले विषादि छन् । विषादिका लागि वाषिर्क ३७ करोड रुपैयाँभन्दा बढी रकम विदेशिने गरेको बताइएको छ । तथापि, सरकारले प्रतिवन्धित भनेका विषादिहरु पनि नेपाली बजारमा खुलेआम विक्री वितरण भइरहेको छ ।

स्मरणीय छ, विश्वमा विषादियुक्त कृषि उत्पादन र उपभोगको कारण वाषिर्क साढे तीन लाख मानिसको मृत्यु हुने गरेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ । यो मृत्युदर वर्षेनी बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment