राजकुमार
२ माघ, काठमाडौं । पशुपतिनाथ क्षेत्र बाहिर गौशालाको एक कफी दोकानमा निधारभरि सेताम्मे चन्दन लगाएका एक ब्राह्मण फेला परे । युवावयका जस्ता लाग्ने यी विप्र उनै ‘भाग्यमानी’ नेपाली रहेछन्, जसलाई एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा भारतीय भट्टलाई हटाएर नेपाली नागरिकका तर्फबाट पूजारी नियुक्त गरेको थियो । तर, भारतसमेत लागेर उनलाई १४ दिनमै पशुपतिनाथबाट बाहिर निकालियो ।
एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी नियुक्त गर्दा भारतमा समेत धक्का महसुस भएको थियो । आफ्नो देशको पवित्र मन्दिरमा विदेशी पुजारी राख्नैपर्ने वाध्यताका सामु तत्कालीन संस्कृतिमन्त्री गोपाल किरातीको निर्णय दुई साता पनि टिकेन र पशुपतिमा भारतीय नागरिकलाई नै पुनः मूलभट्ट बनाइयो ।
अढाई सय वर्षमा एकपटक पशुपतिको पूजारी बनाइएका यी नेपालीको गुनासो छ, मैले पहिल्यै भनेको थिएँ, तर प्रचण्ड आफ्नो निर्णयमा टिक्न सकेनन् र चुके । पशुपतिमा लामो समयदेखि भारतीय मूलका पूजारी रहँदै आएकोमा नेपालीलाई पुजारी नेपाली पुजारी नियुक्त चौतर्फी दबाव आयो र प्रचण्ड नेतृत्वको सरकार पछि हट्न बाध्य भयो ।
पशुपतिको भट्टमा नियुक्त भएका नेपाली नागरिक प्रा. डा. विष्णु दाहाल झण्डै दुई सातापछि पशुपतिबाट बाहिरिए । डा. दाहाल अहिले राजधानीमै संस्कृत अध्यापनको काममा व्यस्त छन् । वाल्मिकी विद्यापीठमा अध्यापन गराइरहेका दाहाल अधिकांश समय निधारमा लामो चन्दन लगाएर हिँड्छन् । भ्याएसम्म दैनिक पशुपति क्षेत्रको परिक्रमा गर्छन् । तर, मूलमन्दिरभित्र चाँहि जान छाडेका छन् उनी ।
ढोका नखोलेको भए मेरो जीवन निरर्थक हुन्थ्यो
पशुपतिनाथ नजिकै अनलाइनकर्मीसँग कफी पिउँदै पशुपति मन्दिर प्रवेशको क्षण सम्झँदा उनी निकै खुसी र उर्जाशील देखिए । ‘१७ गते बिहान साढे १० बजे पशुपतिको मूल मन्दिर अगाडि पुग्दा भट्ट र भण्डारीहरु ढोका लगाएर हिँडिसकेका थिए’ प्रा.डा. दाहालले त्यसबेलाको घटना सम्झिए – ‘मैले पाएको जानकारी अनुसार अंशुवर्माले पशुपतिमा आफैंले पूजा गर्थे । त्यसपछि कुनै नेपालीले पशुपतिमा आफैंले पुजा गरेको मैले मैले भेट्टाएको छैन । ईश्वरले ममाथि अपार अनुकम्पा गरेको छ भन्ने लाग्यो । हजार वर्षसम्म नपाएको त्यो अवसरलाई अहिले वर्णन गरेर सम्भव छैन ।’
डा. दाहालका अनुसार साढे ४ बजेसम्म कुर्दा पनि मूल भट्ट र भण्डारीहरु आएनन् । बिहान आफूसँग सिंगो सरकार समेत छ जस्तो लागेको भए पनि अपराहृन मन्दिरमा पुग्दा उनी एक्लो बन्न पुगे । ‘म एक्लो थिएँ । तैपनि साहस हराएको थिएन’ उनले भने ।
सरकारको आदेशमा मन्दिरको ताला तोडेपछि पूजा सुरु गरेका उनले अनलाइनखबरसँग भने- ‘यदि ढोका बन्द भएकै अवस्थामा म फर्किएको भए मेरो जीवन निरर्थक हुन्थ्यो । संघर्ष गरेर, गुप्तवास बसेर म त्यहाँ पुग्दा पनि ढोका नखुलेको भए ईश्वरले मलाई हेरेन भन्ने हुन्थ्यो । तर, राज्य जाग्यो र मैले पूजा गरेँ ।’ आफूले जानेसम्म र सम्भव भएसम्म सबै विधि र प्रक्रिया पुर्याएर पशुपतिनाथको पूजा गरेको उनले बताए ।
‘म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे’
डा. दाहालले आफूमाथि पशुपतिमा आक्रमणको प्रयाससमेत भएको खुलासा गरेका छन् । ‘मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो’ उनले अनलाइनखबरसँग भने-‘भौतिक आक्रमणका साथै तन्त्रको माध्यमबाट मानिसलाई कसरी सक्ने भन्ने पनि हुन्छ । नेपाली भट्ट मानसिक, शारीरिकरुपमा छिन्नभिन्न भयो र सकेन भन्ने सन्देश दिन सकियो भने यो विषय अझ हजार वर्ष धकेलिन्छ भनेर उनीहरुले सबै विधि अपनाए ।’
‘म बौलाएँ या भागेँ भने त कुनै वर्ष पशुपतिमा नेपाली पुजारी राखेको तर, भाग्यो रे, त्यहाँ नेपाली जानुहुँदैन भन्ने स्थापित हुने भएकाले मैले प्रतिकार गर्न आफूले सक्दो विधि विधान गरेँ’ त्यसबेलाको क्षण सम्झँदै उनले भने- ‘मैले आफूलाई के महसुस गर्छु भने म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे’ किनभने म हरप्रकारले मर्ने, बाहुलाउने र भाग्नेकुराको विरुद्धमा संघर्षमा उत्रेको थिएँ ।’
चतर्फी विरोधपछि २३ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले नयाँ भट्ट नियुक्तिको खारेज गर्ने घोषणा गरेपछि उनी पशुपतिको भट्टबाट हटाइए । राज्य नै ब्याक भएपछि आफू फर्किएको भन्दै उनले थपे- ‘सयौं नेपालीहरु प्रधानमन्त्री भए देशमा । तर, पशुपतिनाथको भट्ट त भएका छैनन् । म एक्लै हुँ । ऐतिहासिक कालखण्डमा मलाई राज्यले जिम्मेवारी दिएको थियो ।’
युवापुस्ताका पुजारी डा. दाहाल अगाडि भन्छन्- ‘के गर्न पाएँ, के गर्न पाइँन अथवा गर्न दिएनन् भनेर मलाई हीनताबोध छैन । जति मैले गर्न सकेँ, गरेँ । पशुपतिनाथको मूर्ति त नेपालीले छोयो नि ! पूजा गर्यो र सकुशल फर्किएर आयो, अहिले तपाईका अगाडि उपस्थित त छ नि ।’
‘म भारतलाई राम्रोसँग चिन्छु’
भारतको बनारसमा १५ वर्षसम्म अध्ययन गरेका दाहाल सांस्कृतिकरुपमा भारतलाई आफूले राम्ररी चिन्ने बताउँछन् । ‘मौरिसस, गुयना र त्रिनिडाडको घटनालाई मैले अध्ययन गरेको थिएँ’ उनले भने-‘भारतको विशेषता के भने उसले आफ्नो चिजलाई छाड्दैन । आफ्नो समाज जहाँ पुगेको छ र उसको आत्मसम्मानमा चोट लाग्यो भने पूरै तागतले भ्याएसम्म स्थापित गर्न खोज्छ । नेपाल त छिमेकी देश भो ।’
पुजारी नियुक्तिको विरोध गर्नेहरुले कहिल्यै आफ्नो योग्यता र पूजाविधिबारे प्रश्न नउठाएको उनले बताए । नेपाली नागरिक हुनुबाहेक आफ्नो अर्को अयोग्यता कसैले नदेखाएको उनले संकेत गरे ।
अझै पारदर्शी छैन पशुपतिको आय
आफू भट्टबाट हटेपनि पशुपति क्षेत्र विकास कोषको आय व्यवस्थित गर्ने प्रयास सुरु भएकोमा उनी आंशिक सफल भएको बताउँछन् । तर, अझै पनि पशुपतिको ठूलो आम्दानी सरकारको दायरामा नआएको उनी बताउँछन् । ‘अहिले पनि ठूलो धनरासी सरकारको दायरामा आएको छैन, बाहिरी आवरणमा भने व्यवस्थित भएको छ ।’
मह, चिनी, पूजासमाग्री जस्ता अत्यावश्यक वस्तुको आयात गर्ने ठूलो सञ्जाल रहेको भन्दै पूर्वभट्ट दाहालले अहिले पनि रसिद काटेर भन्दा पनि भट्ट र भण्डारीहरुको सम्पर्कबाट पूजा गर्न जानेहरुको संख्या ठूलो रहेको बताए ।
सरकार चुक्यो, प्रचण्ड चुके
नेपाली पुजारीका रुपमा दाहाल पशुपति प्रवेश गरेपछि विरोधको स्वर चर्को हुँदै गयो । भारतले समेत नेपाल सरकारलाई भारतीय पुजारी नहटाउन दबाव दियो । तर, पशुपतिको पहिलो नेपाली भट्ट बन्ने अवसर पाएका दाहाल पुजारी नियुक्तिबारे निर्णय गर्नुअघि नै आफूले यस्तो अवस्था आउने सक्ने सरकारलाई सचेत गराएको तर, तत्कालीन प्रधानमन्त्री प्रचण्ड चुकेको बताउँछन् ।
‘नेपाली पुजारी राख्ने निर्णय गर्नुअघि विभिन्न छलफलका क्रममा मैले सरकारले राजनीतिक चुनौती लिन्छ भने म काम गर्छु भनेको थिएँ’ ५ वर्ष पुरानो दिन सम्झँदै डा. दाहालले भने-‘एउटा माओवादीको कार्यकर्तालाई पशुपतिनाथ छिरायो र अर्को भारतीय भट्टलाई हटाएर नेपालीलाई राख्यो भन्ने म्यासेज गयो भने भारतले सहँदैन भनेर मैले पहिल्यै भनेको थिएँ, नभन्दै त्यस्तै भयो । सरकारले पनि आत्मविश्वासका साथ काम गर्न सकेन । सरकार चुक्यो । परिर्वतनको एजेण्डा स्खलित भयो ।’
म माओवादी कार्यकर्ता होइन
प्रा. डा. दाहालले आफूले अघिल्लो संविधानसभामा माओवादीलाई भोट दिएको खुलासा गरे । तर, आफू माओवादी कार्यकर्ता नभएको उनको स्पष्टीकरण छ । उनी पशुपतिको भट्ट नियुक्त हुनुअघि ‘सनातन राष्ट्रिय मोर्चा’को नेतृत्वमा थिए । अहिले अध्यापनसँगै फेरि यसमै सक्रिय छन् । ‘मलाई माओवादी कार्यकर्ता भन्नुभयो भने अन्याय हुन्छ’ उनले भने- म सनातनवादी हुँ । तर, सनातनवादी र माओवादीको एजेण्डा केही न केही मिल्छ ।’
प्रतिक्रिया 4