+
+

दिदीबहिनीलाई तिहारमा पैसा नदिऔं

तिहारको मूल मर्म विवाह गरेर अरुको घरमा गएका चेलीको स्थिति बुझ्न, उनीहरुको परिवारसँगको सम्बन्धलाई प्रगाढ तुल्याउन र आफ्नै दिदीबहिनीको हातले तयार गरेको मीठो खाना खान उनीहरुको घर जानुपर्छ । तिहारको विदाभरि दिदीबहिनीसँग समय बिताउने दाजुभाइ उत्कृष्ट हुन् । उनलाई लक्ष्मीपूजा गर्न, सेलरोटी पकाउन र काग तथा कुकुरलाई पूजा गर्न सघाउँदाको मज्जा नै बेग्लै हुन्छ ।
यसपटक तिहारमा तीन दिन बिदा परेको छ । आफ्ना दिदीबहिनीलाई फरक-फरक तीन ठाउँमा घुमाउन लैजान सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ७ गते ११:०८

कृष्णहरि बास्कोटा, पूर्वसचिव
यसवर्षको तिहारलाई भव्यता एवं उल्लासमय बनाउन केही टिप्सहरु व्यक्त गर्दैछु-
दिदीबहिनी कहाँ जाऔं
तिहारको मूल मर्म विवाह गरेर अरुको घरमा गएका चेलीको स्थिति बुझ्न, उनीहरुको परिवारसँगको सम्बन्धलाई प्रगाढ तुल्याउन र आफ्नै दिदीबहिनीको हातले तयार गरेको मीठो खाना खान उनीहरुको घर जानुपर्छ ।
Krishnahari Baskotaतिहारको विदाभरि दिदीबहिनीसँग समय बिताउने दाजुभाइ उत्कृष्ट हुन् । उनलाई लक्ष्मीपूजा गर्न, सेलरोटी पकाउन र काग तथा कुकुरलाई पूजा गर्न सघाउँदाको मज्जा नै बेग्लै हुन्छ ।
यसपटक तिहारमा तीन दिन बिदा परेको छ । आफ्ना दिदीबहिनीलाई फरक-फरक तीन ठाउँमा घुमाउन लैजान सकिन्छ । आफ्नो गच्छेअनुसार तीन दिन फरक-फरक खाना खुवाउने र खाने कार्यक्रमको बनाउन सकिन्छ । कम्तिमा यी तीन दिन दिदीबहिनीको ओठमा हर क्षण मधुर मुस्कान ल्याउने कोशिस गरौं । उनी फुरुक्क होउन् । आफ्ना दाइभाइ र माइतीप्रति गर्व गरुन् । अरुलाई ईष्या लागोस्, कस्तो दिदीबहिनी दाजुभाइ मिलेका भनेर ।

दिदीबहिनीलाई दिने उपहारः
यसपटकको तिहारमा दुईवटा उपहारमा रोक लगाउने प्रस्ताव गर्दैछु । नगद नै दक्षिणा दिने गर्नुभएको छ भने यसपटक नोट नदिनुस् । सो खर्च भएर गैहाल्छ । कुनै वस्तु उपहारमा दिएमा सम्झना रही रहन्छ । दोस्रो कुरा सारी, कुर्तासलवार वा अन्य कपडा उपहार दिने गर्नु भएको छ भने यसपटक सो उपहार पनि नदिनोस् । रंग र डिजाइन मन पर्छ कि पर्दैन ? कपडाको आवश्यक्ता छ कि छैन ? केही नबुझी वर्षेनी कपडा उपहार दिनु ठीक छैन ।
नयाँ कुरा सोचेर उपहार दिनुस् । यस स्थितिमा तपाईलाई निर्णय गर्न कठिन हुन सक्छ । आफ्नो खल्ती हेरेर निम्न उपहार दिन सल्लाह दिन्छुः
१. बजारमा राम्रा किताब उपलब्ध छन्, किताब उपहार दिनुस् ।
२. जाडो महिनाका लागि थर्मस, हट ब्याग, पानी उमाल्ने इलेक्ट्रिक किट्ली, टोष्टर मेसिन उपहार दिन सकिन्छ ।
३. हाल सबैजना तौल घटाउन लागि परेको जमानामा तौलने मेसिन उपहार दिन सकिन्छ ।
४. घर सजाउने कार्पेट, तन्ना, तकिया, घाम ताप्न बस्ने मुडा, बैठकमा राख्ने सजावटका सामाग्री उपहारमा दिन सकिन्छ ।
५.  सगरमाथा, लुम्विनी, अन्य हिमाल, मन्दिर, प्राकृतिक मनोरम दृष्यका फोटो, पेन्टिङ्ग वा पोष्टरलाई माउण्ट गरेर उपहार दिन सकिन्छ ।
६.  जाडोमा ताप्न ग्यासबाट चल्ने हिटर उपहार दिन सकिन्छ ।
७. आफ्ना दिदीबहिनीले किन्ने धोको राखेका ब्राण्डको मोवाइल सेट उपहारमा दिन सकिन्छ ।
८.  पावरवाला चस्मा लगाउने दिदीबहिनी भए नयाँ फ्रेममा चस्मा बनाइदिन सकिन्छ ।
९. पाथिभरा, हलेसी, दोलखा भीमसेन, छिन्नमस्ता, गढीमाई, स्वर्गद्वारी वा खप्तड घुम्न जाने इच्छा भए यसपटकको तिहारको दक्षिणास्वरुप ती ठाउँमा अनुकूल समयमा घुमाइदिए हुन्छ ।
१०. आफ्ना दिदीबहिनीलाई सोधेर आफ्नो बजेटको सीमा बताएर मिलिजुली बजारमा गएर पनि उपहार किन्न सकिन्छ ।
दसैंमा टीका लगाएर पाँच दस रुपैयाँ दिए हुन्छ, आर्शिवाद लिने दिने कुरा ठूलो हो भन्ने मेरो मान्यताका हकमा तिहारमा भने फरक मत छ । वर्षमा तीन सय पैसठ्ठी दिन हुन्छ । यसर्थ १०० दिन बराबरलाई एक दिन सम्झेर तीन वा चार दिन बराबरको आफ्नो आम्दानीअनुसार दिदीबहिनीलाई उपहार दिनु ठीक हुन्छ । यस हिसावले महिनामा १० हजारसम्मको आम्दानी गर्नेले एक हजारसम्मको उपहार दिनु पर्छ । यसै अनुसार आफ्नो हैसियत हेरेर उपहार दिने हो ।
दाइभाइलाई के  दिने ?
आम दिदीबहिनीलाई मेरो सल्लाह छ, यसपटकको तिहारमा निम्न ३ वटा कुरा नदिनुस् । पहिलो कुरा, टोकरीमा थिचिँदै मिचिँदै बेचिने फलफूल नदिनोस् । केरालाई पाउडर हालेर पकाइएको हुन्छ । स्याउ कोल्ड स्टोरबाट झिकेर बिक्री गरिन्छ । अनार महंगो हुन्छ, किन्नै सकिन्न । भोगटे, निबुवा, हलुवावेद जस्ता फलफूल किन्यो, कसैले खाँदैन, त्यसै खेह्र जान्छ । नेपाली धेरै फलफूल सेवन गर्न अभ्यस्त पनि छैनन् । यसर्थ वर्षभरि खासै फलफूल नखाने दाइभाइले तिहारमा दिदीबहिनीले ल्याएको डंगुर फलफूल खान नसकेर फाल्छन् भन्ने बुझ्न ढीला गर्नु हुँदैन ।
दोस्रो कुरा, एक महिना अगाडि तयार गरेको मिठाइ, बासी तेलमा बनेका अनेकौं परिकार, दात भाँच्चिने साह्रो सेलरोटी, अखाद्य रंग मिलाएर बिक्री भैरहेका परिकार, मोटर गुडी रहेको बाटो छेउमा धुलोसहित बिक्री भैरहेका मिठाइ किनेर दाइ भाइलाई कृपया नखुवाउनुस् । कति पवित्र मनले आफ्ना दाइ भाइको चिरजीवी, सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरी टीका लगाएर उपहारमा दिने मिठाई भने खाँदा नखाँदै बिरामी हुने गरी दाइभाइलाई गलत उपहार नदिऊँ ।
तेस्रो कुरा, सबै आयात भएका मसलाका पोकाहरु कति महंगा ? काजु, किसमिस, नानाभाँतीका वस्तु किनेर दाइभाइलाई उपहार दिन्छौं । ती सबै वस्तु आफ्ना दाइभाइले वर्षभरि खाएका हुँदैनन् । यसर्थ छिटै खान पनि सक्तैनन् । नखाँदा नखाँदै किरा परेर फाल्नुपर्ने हुन्छ । तिहारमा दुईचार दिन कोट र पाइण्टका खल्तीबाट यस्ता वस्तु झिकेर साथीहरुलाई विवरण गरिएको पनि देखिन्छ । यस्ता उपहारले न छाक टर्छ, नत निकै धेरै तागत नै आउँछ । नत दिदीबहिनीले एक पाउ काजु खुवाएर दाइभाइमा काजु खाने बानी नै पर्छ ।
पूजाविधिका लागि नभई नहुने केही मिठाइ, फलफूल र मसला जुटाउनु ठिकै हो । बस् यी वस्तु उपहारमा नदिने भएपछि आफ्ना दाइभाइको सम्झनाका लागि दिदीबहिनीले पनि केही न केही नयाँ वस्तु एकमुष्ठ उपहार नै दिनु ठीक हुन्छ ।
१. पहिलो कुरा त आफ्ना दाइभाइलाई मनपर्ने काउलीको तरकारी वा धरानको कालो बँदेलको मासु वा सुख्खा रोटी तरकारी आफ्नै हातले पकाएर प्रेमपूर्वक खुवाउनु पर्छ । योजस्तो ठूलो उपहार केही हुँदैन ।
२. साह्रै मन मान्दैन भने दाइभाइलाई तिहारको आशिर्वादसहितको कार्ड दिन सकिन्छ ।
३.  ढाकाको टोपी वा भादगाउँले टोपी दाइभाइको शीरमा ढल्काउने हो कि ? सोचौं ।
४. नेपालको राष्ट्रिय झण्डाको ‘पीन’कोटमा वा सर्टमा राखेर हिँड्न मिल्ने उपहार दिउँ ।
५.  यतिले पनि चित्त नबुझे, ‘आइ लभ नेपाल’ लेखेको टिसर्ट उपहार दिनुस् न त ।
६. मेरो छनौटमा जानु हुन्छ भने त बजार गर्माएको, तपाईका दाइ र भाइले नपढेको नयाँ पुस्तक किनेर उपहार दिनुस् न, म खुसी हुन्थें ।
७. बिहानै पत्रिका पढ्न खोज्ने दाइभाइ छन् भने कुनै एउटा पत्रिकाको वाषिर्क वा अर्धवाषिर्क सदस्य बनेर रसिद उपहारमा दिनुहोस् वा एउटा सानो रेडियो उपहार दिनुहोस् ।
८. दाइभाइले सधैं खुम्चिएको पाइण्ट सर्ट लगाएर हिँडेको महसुस गर्नु भएको छ भने ‘आइरन’ गिफ्टमा दिन सकिन्छ ।
९. शहरबाट आफ्नो दाइभाइ टीका लगाउन गाउँकी दिदीबहिनीको घरमा आएका छन् भने एकमाना शुद्ध ध्यू वा गुन्द्रुक, मस्यौरा वा स्थानीय उत्पादनका वस्तु आफ्ना दाइभाइलाई उपहार दिई पठाउन सकिन्छ ।
१०. कुनै दिदीबहिनीले आफ्नौ पौरखी हातबाट स्वावलम्वनको काम गर्नु भएको छ भने आफूले बनाएको मैनवत्ती वा आफूले पोको पारेको धुप अर्थात आफूले जे पेशा गरिन्छ, सोही वस्तु उपहारमा दिँदा दिदी बहिनीसँगको दाइभाइको आत्मीयता उजागर हुने मौका पाउँछ ।
तिहारमा गर्न नहुने कुराः
१.  कुनै पनि हालतमा जुवा, तास नखेल्नोस् । लंगुर-बुर्जातिर अनुहार नै नफर्काउनोस् । यो हाम्रो तिहारको शत्रु हो । यसको पूर्णतः वहिष्कार गर्नुस् ।
२. बिर्सिएर पनि तिहारमा मापसे नगर्नुस् । धुम्रपानको लत लागेको छ भने पनि यमपञ्चकका पाँच दिन यस्ता वस्तुको कुलतबाट बाहिर निस्किनुस् । पाँच दिनसम्म आफ्ना दाइ र भाइलाई केही नहोस् भनेर दिदीबहिनीले पुकार गर्ने दाइभाइ भने क्यान्सरको मुखमा पुग्ने गरी चुरोट पिउने र खैनी लगायत सेवन गर्ने ? कत्रो विडम्वना, कहिल्यै यसरी सोच्नु भएको छ ?
३. ‘चिन्नु न जान्नु घचेडी माग्नु’ भन्ने नेपाली उखानबमोजिम जो पायो उसकहाँ देउसी-भैली खेल्न जानु हुँदैन । तोकिएको समयभित्रै पूर्व सूचना गरेर आफू आफूवीच मात्रै देउसी-भैली खेल्नुपर्छ । कसैलाई पनि दबाव दिएर रकम लिनु हुँदैन । अर्काको चित्त दुखाएर आफू पर्वमा खुसी हुन सकिँदैन ।
४.  तिहारमा पट्का पडकाउने, आतिसवाजी गर्ने काम प्रचालित कानुन अनुसार गर्न पाइँदैन । यसले दुर्घटना पनि निम्त्याएको छ । यसर्थ आफ्ना केटाकेटीलाई नियन्त्रणमा राख्नुपर्छ ।
५. सबै कुरा ठीक्क गर्नु वेस हुन्छ । चिनी पनि बढी खाए तीतो हुन्छ भन्ने नेपाली उखानबमोजिम नेपाल विद्युत प्राधिकरण समेतको अनुरोधलाई मानी ठीक्क वत्ती बाल्नुपर्छ, अत्यधीक झिलिमिली पार्नु हुँदैन ।
तिहारमा के के गर्ने ?
१.  पहिलो कुरा, काग तिहार, कुकुर तिहारलगायतका सबै पाँचै दिनको पर्व परिवार जमघट भएर हर्सोल्लासका साथ मनाउनुपर्छ ।
२. तिहारमा लक्ष्मीलाई भित्र्याउन घर, आँगन, घर अगाडिको सडक र आफ्नो टोल नै सफा गर्नुपर्छ । यसर्थ घरभित्र र टोलको सफाइका लागि अभियानको नेतृत्व गर्नु पर्छ ।
३.  तिहारमा बढीभन्दा बढी समय परिवारलाई दिनुपर्छ । विशेष गरी पुरुषहरु तास खेल्न जाने, कौडा हान्न जाने, बाहिर एक्लै टहलिन जाँदा घरमा बसेका महिला, केटाकेटी र बुढाबुढीलाई चाडपर्व नरमाइलो महसुस हुन्छ भन्ने हेक्का राख्नुपर्छ ।
४. तिहारमा शहर, बजार, घर अनेकौं किसिमले सजाइएको हुन्छ, यसर्थ पूरै परिवार लिएर साँझपख शहरको परिक्रमामा निस्कनुपर्छ । यसले साँच्चै तिहारको रौनकसँग लोभिइन्छ ।
५. घर-परिवार, दिदीबहिनी, दाइभाइ जे गर्दा खुसी हुन्छन्, त्यसै गर्नुपर्छ । मुलुकको सेवामा खटिएका व्यक्तिले राष्ट्रप्रतिको कर्तव्य निरन्तर निर्वाह गर्नुपर्छ । उद्योगी व्यापारीले आˆनो सामाजिक दायित्व पूरा गर्नुपर्छ । यस्तै सत् कार्यबाट ०७१ को तिहार जीवनभर स्मरणीय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?