५ फागुन, चितवन । डाक्टरी पेशा आफैंमा सम्मानित मानिन्छ । तर, चितवनका राम्रा चिकित्सक मानिने बालरोग विशेषज्ञ डा.नारायणबहादुर थापालाई दशा लाग्यो ।
पहिले उनलाई एउटी महिलासँग अबैध सम्बन्ध राखेको आरोप लाग्यो, त्यसपछि उनी अपहरणमा परे । १३ लाख ७५ हजार रुपैयाँ स्वाहा भयो ।
डा. थापालाई अपहरण गरी फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये एकजना नेपाल तरुण दलका कार्यकर्तासमेत छन् । पक्राउ परेकाहरुलाई चितवन प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवनको भरतपुर उपमहानगरपालिका-८ का घनश्याम पौडेल, नुवाकोट विदुर नगरपालिका-९ का सचिन भनिने सखम खवास र सुनसरी धरान नगरपालिका-१५ बस्ने जुने लिम्बु छन् ।
उनीहरुले डा. थापालाई फागुन ३ गते अस्पतालबाट फर्किँदै गर्दा बाटोबाटै नियन्त्रणमा लिएर मोटरसाइकलमा राखी होटलमा लगेर राखेका थिए ।
प्रहरीका अनुसार भरतपुर उकालोमा रहेको होटल आइसल्याण्ड जंगल रिसोर्टको १०४ नम्बर कोठामा डाक्टर थापालाई बन्धक बनाइएको थियो । ५० लाख रुपैयाँ पाए मुक्त गरिदिने भनेर उनीहरुले बार्गेनिङ गरिहेको गोप्य सूचनाका आधारमा सोही दिन नै प्रहरी पुगेर डा. थापाको उद्वार गरेको थियो ।
होटलको कोठाबाटै खवास र लिम्बुलाई पनि पक्रन प्रहरी सफल भएको छ । पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा घनश्याम पौडेलको समेत संलग्नता रहेको पाइएपछि उनलाई पनि हिरासतमा राखेको प्रहरीले जनाएको छ । पौडेल कांग्रेसनिकट नेपाल तरुण दलका कार्यकर्ता हुन् ।
यस्तो छ अपहरणको कथा
डा. थापा नारायणी सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ हुन् । उनी चितवनमा राम्रो डाक्टरको रुपमा चिनिन्छन् ।
अपहरणकारीले प्रहरीलाई दिएको वयानअनुसार एक दिन अस्पतालमा जिल्लाको चैनपुर बस्ने पुरी थरकी एक महिलासँग डाक्टर सा’पको भेट भयो ।
पुरीका श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा नेपाल बाहिर छन् । दाबी गरिएअनुसार पुरी र डाक्टर थापाको हिमचिम बढ्दै गयो । डाक्टरले आफ्नो कर्तब्य बिर्सिए । उनीहरुवीच शारीरिक सम्वन्ध भयो र गर्भसमेत रह्यो । गर्भ बढ्दै गैरहेका बेला उनीहरुको सम्वन्ध तनावपूर्ण बन्यो ।
प्रहरी स्रोतका अनुसार डा. थापाले उनीसँगको सम्बन्ध स्वीकार गरेनन् । त्यसपछि उनले आफूखुसी गर्भपात गराइन् । सोही अभियोगमा पक्राउ परेकी पुरी ०७० कात्तिक २१ देखि भरतपुर कारागारमा रहेको बताइन्छ ।
कारागारभित्रैबाट डा. थापासँग नाता सम्वन्ध कायम गरी पाउँ भनी उनले जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेकी छिन् । सो मुद्दा अहिलेसम्म विचाराधीन छ ।
चितवन प्रहरी प्रमुख सहकुलबहादुर थापाका अनुसार पुरीले कारागार भित्रबाटै डाक्टर थापाबाट पैसा असुल्ने र मुद्दा फिर्ता लिने योजना बनाइन् ।
विवाहित हुँदाहुँदै पुरीले एउटा गल्ती गरिसकेर त्यसको प्रतिफलस्वरुप जेल पुगेकी थिइन् । तर, जेलभित्र पुगेपछि उनले अर्को अपराधको बाटो रोजिन् ।
आफूलाई धोका दिने डाक्टर दण्डित नभएको घटनाले पनि पुरीलाई अर्को अपराधका लागि प्रेरित गर्यो । पैसा असुल्ने योजनाका लागि पुरीले घनश्याम पौडेलमार्फत् काठमाडौं बस्दै आएका नुवाकोटका सखम खवास र धरानका जुने लिम्बुसँग सम्पर्क गरिन् ।
मोटरसाइकलबाट खवास र लिम्बु चितवन पुगे । र, अस्पतालबाट फर्किँदै गरेका डाक्टर थापालाई मोटरसाइकलमै राखेर होटलको कोठामा बन्धक बनाए । ‘विचाराधीन अवस्थामा रहेको सो मुद्दा फिर्ता गराइदिने भन्दै उनीहरुले डा. थापालाई बन्धक बनाएर पैसाको मोलमोलाइ गरिरहेको अवस्थामा उद्धार गर्यौं,’ अनलाइनखबरसँग कुरा गर्दै चितवन प्रहरी प्रमुख थापाले भने ।
प्रहरीका अनुसार डा. थापाबाट ५० लाख असुलेर ३० लाख पुरीलाई दिने, २० लाख आफूले खाने योजना उनीहरुको थियो ।
डा. थापाले मुद्दा फिर्ता हुने आशमा यसअघि नै १३ लाख ७५ हजार अभियुक्तहरुलाई बुझाइसकेका थिए ।
यसैवीच पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले १० दिनको म्याद दिएको छ ।
यसअघि चितवन क्यान्सर अस्पतालका तत्कालीन प्रमुख डा. भक्तमान श्रेष्ठलाई अज्ञात समूहले अपहरण गरी फिरौती लिएर मुक्त गरेको थियो ।
प्रतिक्रिया 4