२५ फागुन, धादिङ । धादिङको पीडा गाविस ८ पकुन गाउँमा विषादी मिसाइएको गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । अरु १६ जना बिरामी परेका छन् ।
- गजुरी अस्पतालमा पुर्याइएका विरामीहरु
बीऊ राखेको गहुँ पिसाएर रोटी खाएका सन्तबहादुर तामाङ र उनको परिवारका सदस्यहरुको सोमबार विहान मृत्यु भएको हो । मृत्यु हुनेमा ६० वर्षीय सन्तबहादुर, उनकी बुहारी २५ वर्षीया फुलमाया तामाङ, ७ वर्षीया सुमित्रा तामाङ, ५ वर्षीय रमेश तामाङ, ५ वर्षकै अर्जन तामाङ र साढे २ वर्षीया बालिका सानुकान्छी तामाङ छन् ।
‘रासायनीक विषादी राखेको गहुँको बीउलाई राम्रोसँग धोइपखाली नगरी घट्टमा पिसेर रोटी खाँदा यो घटना भयो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डिएसपी प्रकाश मल्लले अनलाइनखबरसँग भने, ‘खाद्यान्नमा रासायनिक विषादीको प्रयोग कति हानिकारिक हुन्छ भन्ने कुरा यो घटनामा देखियो ।’
विषाक्त पिठोको रोटी खाएका सन्तबहादुरको परिवारका ७ र तिलकबहादुर तामाङको ९ जना परिवारका सदस्य विरामी छन् । उनीहरुको मनमोहन मेमोरियल र शिवज्योती अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । तिलकबहादुर पिठो पिसाएको घट्ट मालिक हुन् ।
सन्तबहादुरको परिवारले पिठो पिसाएवाफत पैसाको सट्टा पिठो दिएको थियो । सोही पिठो घरमा लगेर तिलकबहादुरका परिवारका सदस्यहरुले रोटी पकाएर खाएका छन् ।
विषाक्त पिठोको रोटी खाएर विरामी पर्नेहरुमा पीडा गाविस ८ का ६० वर्षीया फुलमाया तामाङ, ३५ वर्षीय टेकबहादुर तामाङ, ३१ वर्षीया सम्झना तामाङ, १९ वर्षीय बुद्धसिंह तामाङ, १५ वर्षीया ठूलीमाया तामाङ, ९ वर्षीया बुद्धलक्ष्मी तामाङ, ८ वर्षीय पूर्णबहादुर तामाङ लगायत छन् । ‘विरामी परेका सबै खतरामुक्त रहेको खबर आएको छ,’ डिएसपी मल्लले भने ।
घटनास्थल सदरमुकाम धादिङवेसीबाट गाडीमा झण्डै एक-डेढ घण्टाको दुरीमा पर्दछ । प्रहरी घटनास्थल नपुग्दै स्थानीयले विरामी भएकाहरुलाई गजुरी अस्पताल पुर्याएका थिए ।
कतिपयको घरमै र कतिपयको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो ।
प्रतिक्रिया 4