विनोद घिमिरे
३ चैत, काठमाडौं । लागुऔषध कारोबारको अभियोगमा कुवेतको जेलमा परेकी गोमा दराईलाई छुटाउन नेपाली दुतावासले पहल सुरु गरेको छ ।
कावासोती नगरपालिका-८ निवासी गोमा लागूऔषधको अभियोगमा पक्राउ परेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि दुतावासले उनको उद्धार प्रक्रिया अघि बढाएको हो । वैदेशिक रोजगार विभागले पनि यसबारे चासो लिँदै आवश्यक समन्वय गरिरहेको छ ।

उद्धारको पहल
‘गोमाको केसबारे पहिले हामीलाई औपचारिक जानकारी आएको थिएन, खबर पाउनासाथ उद्धारको पहल सुरु गरिसकेका छौं,’ कुवेतस्थित नेपाली दुतावासकी श्रम सहचारी गोमा ढकालले भनिन् ।
कुवेतमा पक्राउ परेको र २५ बर्ष जेल सजायँ सुनाएको भन्दै उद्धार गरिदिन परिवारका सदस्यहरुले सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीलाई आग्रह गरेका थिए । केन्द्रले प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) काठमाडौंलाई सम्पर्क गरी गोमाको केसबारे जानकारी गराएको थियो । पीएनसीसीले दुतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी उद्धारको प्रक्रिया अघि बढाएको थियो ।
समितिले विदेशमा मृत्यु भएका वा दुःख पाएर अलपत्र परेकाहरुलाई उद्धार गर्दै आएको छ ।
कुवेतस्थित दुतावासकी श्रम सहचारी ढकालका अनुसार अदालतले मुद्दाको फैसला सुनाइसकेको छैन । अदालतको अन्तिम फैसला नआइसकेकोले उनलाई उद्धार गर्न केही सहज हुने अपेक्षा गरिएको छ ।
भिडियो पुग्यो पुलिससम्म
गत बर्ष असोजमा कुवेत गएकी गोमा ४ महिनादेखि सफर जेलमा छिन् । उनको कोठाबाट लागु औषध फेला परेको दाबी गरिएको छ । त्यो कस्तो प्रकारको ड्रग्स हो भन्ने खुलाइएको छैन ।
गोमा लागुऔषध कारोबारमा संलग्न भएको दाबीसहित उनकै घर मालिकले भिडियो दृष्य प्रहरीमा बुझाएका छन् । भिडियो पाइसकेपछि प्रहरीले उनको ‘कल डिटेल’ अध्ययन गरेको थियो । एक शंकास्पद बंगलादेशी महिलासँग धेरैपटक फोन सम्पर्क भएको पाइएपछि गोमालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गोमालाई विदेश पठाउने एजेन्ट लीला गुरुङले गोमा बसेको घरबाट आधा किलो ड्रग्स बरामद भएको जानकारी आफूले पाएको बताएका छन् ।
परिवार चिन्तामा
घर चलाउन गाह्रो भएको भन्दै २ छोरा र २ छोरीलाई श्रीमानको जिम्मामा छोडेर गोमा कुवेत गएकी थिइन् । गत आइतबार मात्रै गोमा जेलमा परेको खबर पाएका परिवारका सदस्यहरुले पाएका थिए ।
गोमाले जेलभित्रैबाट नवलपरासी रजहरका एक व्यक्तिमार्फत् घरमा पठाएको पत्र पाएपछि परिवारका सदस्यहरुले जेलमा परेको पत्तो पाएका थिए । यो खबरले परिवारका सदस्य चिन्तित छन् । उनीहरुले तत्काल सकुशल उद्धार गरिदिन सबै पक्षलाई आग्रह गरेका छन् ।
छोरा-छोरीलाई सम्झाउँदै गोमाले लेखिन् पत्र
गोमाले लेखेको पत्रमा आफू जेल परेको उल्लेख छैन । मात्र उनले ‘दैव संजोगले’ गर्दा आफू अप्ठेरोमा परेको बताएकी छन् । फेब्रुअरी २ तारिखमा लेखको दुई पेज लामो पत्रमा आफ्नी साथी मायाको भनेर दुईवटा नम्बर उल्लेख गरिएको छ । उनले त्यसैमा फोन गर्न परिवारका सदस्यहरुलाई भनेकी छन् ।
आमाले भनेको नम्बरमा फोन गरेपछि जेलमा परेको खबर पाएको छोरी आकृतिले बताइन् । पत्रमा उनले छोरीहरु, पति, आमा, भाउजू र दाजुभाइलाई समेत सम्झेकी छिन् ।
गोमाले पत्रमा लेखेको फोन नम्बर भने मेटाइएको छ । यस्तो छ गोमाको पत्र-
प्रतिक्रिया 4