+
+

कसरी छुटाउन सकिन्छ त सुर्तीजन्य पदार्थको लत ?

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने भनाइ आजभोली हरेक व्यक्तिलाई थाहा भएको सामान्य कुरा हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि नेपालसहित विश्वभर कुनै न कुनै बहानामा धेरै व्यक्तिहरु सुर्तीजन्य पदार्थ सेवनको लतमा फसेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १७ गते ११:००

सगुन पौडेल  
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने भनाइ आजभोली हरेक व्यक्तिलाई थाहा भएको सामान्य कुरा हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि नेपालसहित विश्वभर कुनै न कुनै बहानामा धेरै व्यक्तिहरु सुर्तीजन्य पदार्थ सेवनको लतमा फसेका छन् । महिला, पुरुष, धनी, गरिव, बालबालिका, किशोर किशोरीरु, युवायुवती, बृद्धबृद्धादेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतले लुकेर होस् या खुल्ला रुपमा नै किन नहोस् चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थ सेवन गरिरहेका छन् ।

Sagun-Paudelकोहीले साथीभाइको करले, कोहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र कोहीले हर्ष बढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् ।

विश्वभर सुर्तीजन्य पदार्थको सेवनवाट आम मानिसहरुमा पर्ने गएको समस्या र स्वास्थ्यमा पर्ने असरबारे जनचेतना फैलाउन तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा कम गर्ने नीति नियम बनाउन सहयोग गर्ने उद्देश्यले हरेक वर्ष मे ३१ तारिखका दिन विश्व सुर्तीजन्य पदार्थरहित दिवस विविध कार्यक्रम गरी मनाइन्छ । विश्व स्वास्थ्य संगठनको आयोजनामा यस बर्ष ‘सुर्तीजन्य पदार्थको गैरकानुनी व्यापारलाई रोकौं’ भन्ने मुल नारा सहित मनाइँदै छ ।

गत वर्षदेखि विश्वभर सुर्तीजन्य पदार्थमा लगाइएको करमा वृद्धि गरी यसको प्रयोग घटाउने प्रयत्न गरिएको थियो । हाल सुर्तीजन्य पदार्थको प्रयोग केहि घट्दोक्रममा देखिए तापनि उल्लेखनीय सुधार आउन सकेको छैन । एक सर्वेक्षण अनुसार विश्वमा प्रयोग हुने हरेक १० वटा चुरोटमध्ये एउटा चुरोट गैरकानुनीरुपमा बिक्री वितरण भइरहेको देखिएको छ । सुर्तीजन्य पदार्थमा कर बढाउनुको उद्देश्य नै यसको प्रयोगमा कमी आवस् भन्ने हो । तर त्यस्मा उल्लेखनीय सुधार हुन सकिरहेको छैन । त्यसैले यसको विक्री वितरणलाई नियन्त्रण गर्न यसको गैरकानुनी व्यापारलाई रोक्नुपर्दछ । यही मान्यतालाई ध्यान दिएर यस वर्षको नारा ‘सुर्तीजन्य पदार्थको गैरकानुनी व्यापारलाई रोकौं’ भन्ने तय गरिएको हो ।

विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार विश्वभर करिव ६ मिलियन ब्यक्तिहरु सुर्तीजन्य पदार्थको सेवनको कारणबाट ज्यान गुमाइरहेका छन् । जसमध्ये करिव ६ लाख मनिसहरु अरुले सेवन गरेको सुर्तीजन्य पदार्थको प्रभावले ज्यान गुमाइरहेका छन् । हरेक छ सेकेण्डमा एक ब्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ । करिव ८० प्रतिशत प्रयोगकर्ताहरु हाम्रो देश जस्ता कम तथा मध्यम आयस्रोत हुने देशहरुमा छन् । यस अर्थमा हेर्ने हो भने हाम्रो जस्तो मुलुकमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नको लागि हामी सबै लाग्नुपर्ने देखिन्छ ।

सुर्तीजन्य पदार्थका असरहरु

चुरोट, सुर्ती, खैनी, तमाखु आदि बढी मात्रामा प्रयोग हुने सुर्तीजन्य पदार्थ हुन् । सेवन गर्ने वित्तिकै तत्काल असर नपरे पनि लामो समय पछि यिनीहरुको गहिरो असर देखिने गर्दछ । हालसम्म ४ हजार भन्दा बढी रसायनहरु सुर्तीजन्य पदार्थमा भेटिइसकेको छ । जसमध्ये करिव २५० हाम्रो शरीरका लागि हानीकारक छन् र ५० वटा भन्दा बढीले क्यान्सर निम्त्याउँदछन् । यो कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । सामान्य रुपमा मुख, गिजा तथा दाँतहरुको समस्यादेखि लिएर फोक्सो, मुटु र पेटमा असर गर्ने क्षमता सुर्तीजन्य पदार्थहरुमा हुन्छ ।

संसारभर नसर्ने रोगहरुको प्रकोप बढ्दो क्रममा छ । जसको प्रमुख कारक तत्व भनेको नै हाम्रो जीवन शैली र सुर्तीजन्य पदार्थको प्रयोग नै हो । लामो समयसम्म निरन्तर प्रयोग गर्नाले नसर्ने खालका दीर्घ रोगहरु देखा पर्दछन् । रक्तनली विगार्ने, रक्तचाप बढाउने, मुटुसम्वन्धी दीर्घरोग लाग्ने, हृदयाघात हुने, मस्तिकमा असर गर्ने, फोक्सो विगार्ने, दम हुने, फोक्सोको क्यान्सर हुने, स्वासनलीको क्यान्सर हुने, रगत तथा पाठेघरको क्यान्सर हुन मद्दत गर्ने आदि जस्ता रोगहरु सुर्तीजन्य पदार्थको सेवनले लाग्छ । त्यसैगरी गर्भवती आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भ खेर जाने, मरेको बच्चा जन्मिने, समय नपुगी जन्मिने, कम तौल भएको बच्चा जन्मिने तथा शिशुको शारिरीक तथा मानसिक विकासमासमेत असर गर्दछ ।

सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुको मुख गन्हाउँछ । जस्ले गर्दा अरु व्यक्तिहरु उसको नजिक पर्न हिचकिचाउँछन् । एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थको कारणबाट अरु नजिकका व्यक्तिहरुलाई समेत असर पारिरहेको हुन्छ ।

रोकथाममा नेपालको प्रयास

सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन जारी गरेको छ । प्रभावकारी कार्यान्वयन गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७१’ जारी पनि भइसकेको छ । नीति नियममा हाम्रो देश नेपाल बलियो नै देखिन्छ । यद्यपी कार्यान्वयन पक्ष भने त्यति राम्रो देखिएको छैन । सुर्तीजन्य पदार्थको बट्टामा नकारात्मक असर गर्ने चित्र अंकित गरिएको छ । सम्पूर्ण सार्वजनिक ठाउँहरुमा सुर्तीजन्य पदार्थको प्रयोगमा प्रतिवन्ध लगाइएको छ । तर यसको पूर्ण पालना भैरहेको छैन । नियमित अनुगमन र कारवाही पनि हुन सकेको छैन ।

सुर्तीजन्य पदार्थको करबाट उठेको रकमको ७५ प्रतिशत रकम वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र २५ प्रतिशत रकम क्षयरोग तथा अन्य रोग नियन्त्रणमा लगानी गर्ने भन्ने उल्लेख छ । नेपाल  सरकारको तर्फबाट सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा तथा सुर्तीजन्य पदार्थको प्रयोग परित्याग गर्ने जस्ता कार्यक्रमहरु अगाडि बढाइएको छ । तैपनि यी कार्यहरुको पुर्णरुपमा पालना तथा अनुगमन हुन सकेको छैन । यसकालागि सरकार मात्र नभइ हरेक ब्यक्ति, समाज, संघ संस्था सबै लाग्नुपर्ने देखिन्छ ।

कसरी छुटाउन सकिन्छ लत ?

कुनै पनि लतबाट मुक्त हुनु त्यति सजिलो कुरा पक्कै पनि होइन । सानैदेखि लागेको बानी कहाँ जान्छ र भन्छौं हामी । तर, लत त्याग्ने प्रयत्न गर्दैनौं । यदि कोशिस गर्ने हो भने लत हटाउन सकिन्छ सजिलै । भनिन्छ नी संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । त्यसका लागि हामीले निरन्तर इमान्दारीतापूर्वक प्रयत्न भने जारी राख्नुपर्छ । त्यसैले सानैदेखि लागेको बानी हटाउन सकिँदैन भन्ने पुरानो मानिसकतालाई सबैभन्दा पहिले हामीले त्याग्न जरुरी छ । आत्मैदेखि र मानसिकरुपमा तयार भएर म यो लत छुटाउँछु भनेर लाग्ने हो भने सहजै छुटाउन सकिन्छ । यस्ता लट हटाउन बिभिन्न स्वास्थ्य संस्था, क्लिनिकहरु पनि खुलेका छन् । निम्न कुराहरुमा ध्यान दिने हो भने सुर्तीजन्य पदार्थको लतबाट मुक्ति पाउन सकिन्छ ।

  • अरुको दबावबाट होइन की भित्री मनदेखि नै सुर्तीजन्य पदार्थको म प्रयोग गर्दिन भनेर दृढता व्यक्त गर्नुस् र आत्मबल सहित मानसिकरुपमा तयार हुनुहोस् ।
  • एकैपटक म छोड्छु भनेर लाग्दा अन्य किसिममा समस्याहरु देखिन सक्ने हुंदा १-२ हप्ता कम मात्रा तथा पटक घटाउनुहोस् । तपाईंले एक दिनमा ५ खिल्ली चुरोट खानुहुन्छ अथवा एक दिनमा ५ प्याकेट गुटखा खानुहन्छ भने एक दिनमा ३ खिल्ली चुरोट खानुस् र एक दिनमा ३ प्याकेट मात्रै गुटखा खानुस् । यो मात्रा दैनिकरुपमा घटाउँदै जानुस् । सजिलै धुमपान र मद्यपान जस्ता कुलतबाट मुक्ती मिल्छ ।
  • आफ्नो योजनालाई परिवारका सदस्य, अफिसका साथीहरु, कलेजका साथीहरु लगायत आफ्नो नजिकमा सम्पूर्ण व्यक्तिहरुलाई सुनाउनुहोस् ।
  • सुर्तीजन्य पदार्थमा हजुरले गरेको दैनिक लगानीको हिसाब किताव गर्नुहोस् र उक्त रकम कुनै नयाँ काममा लगानी गर्ने तर्फ सोच बनाउनु होस् ।
  • सुर्ती चुरोट लगायत अन्य कुनै पनि सुर्तीजन्य पदार्थहरु आफ्नो घर अफिसबाट हटाउनुहोस् त्यसको सट्टामा मिठाई, चकलेट आदि राख्न्नुहोस् ।
  • सुरु सुरुको अवस्थामा अन्य खानेकुराहरु जस्तैः छुर्पी, चकलेट आदिले मुखलाई व्यस्त बनाउनुहोस् ।
  • पहिला सुर्ती जन्य पदार्थ सेवन गरेर सकिने समयलाई अन्य तरिकाले व्यतित गर्नुहोस् । गीत सुन्ने, पत्रिका पढ्ने तथा अन्य चिजहरु चकलेट, फलफूलको सेवन गर्नुहोस् ।
  • बिहान साँझ कसरत तथा अन्य कृयाकलापहरुमा व्यस्त रहनुहोस्, पानी धेरै पिउने बानी बसाल्नुहोस् ।

    माथिका यी कृयाकलापहरुलाई नियमित रुपमा दोहोर्‍याउनुहोस् जसले गर्दा सुर्तीजन्य पदार्थको सेवनलाई छोड्न सहयोग पुग्दछ । सुर्तीजन्य पदार्थको प्रयोगलाई त्याग्नैपर्छ । यसको प्रयोगबाट हाम्रो स्वास्थ्यमा पर्न गएका असरहरु घटाएर स्वस्थ जीवन विताउन तर्फ हामी सबैको ध्यान जान जरुरी छ । किनकी रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वेश हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?