३० असार, लमजुङ । लमजुङको सुन्दर बजारबाट पश्चिमतर्फ लाग्ने कच्ची बाटोमा करिब एक-डेढ घण्टा हिँडेपछि पुगिने परेवाडाँडा गाउँ छ । त्यही कच्ची बाटोसँगै जोडिएको बाँसका भाटाले बनाइएको सानो झुप्रोको एक कुनामा हुर्किँदै गरेका ब्वोइलर कुखुराका चल्ला र बंगुरका बथान छन् ।
जालीले बेरेर राखिएका बोइलर चल्लाकै छेउमा थाङ्ना ओछ्याइएका दुईवटा खाट । सुन्दरबजार नगरपालिका १२ (साविक परेवाडाँडा-७) की अप्सरा विक तिनै कुखुरा र बंगुरसँगै एउटै छानोमुनि सुत्छिन् ।
गरिब र दलित परिवारमा जन्मिएकी अप्सराको परिचय यत्तिले मात्रै पुग्दैन । सुन्दर भविश्यको सपना साकार बनाउन वर्तमानमा कतिसम्म संघर्ष गर्नुपर्छ भन्ने प्रश्नको उत्तर हुन् अप्सरा । पतिको हेला, तिरस्कार र असहयोगले हाल छुटि्टएर बस्दै आएकी अप्सराले एउटै छानोमुनि हुर्किएका बंगुर र कुखुरा बेचेर छोरालाई हेल्थ असिस्टेन्ट (एचए) पढाइरहेकी छन् । ०२९ सालमा जन्मिएकी अप्सराले तिनै कुखुराका चल्ला र बंगुरका बच्चालाई आफ्नै सन्तान सरह माया र स्नेहले हुर्काउँदै आएकी छन् ।
स्थानीय विकास मन्त्रालयले जिविस मार्फत सञ्चालन गरेको नागरिक सचेतना केन्द्रबाट ऋण लिएर सुरु गरेको बंगुर र कुखुरा पालनलाई व्यवसायिकरुपमै अघि बढाउने उनको योजना छ ।
उनले भनिन्, ‘मलाई कुखुरा र बंगुर अझै धेरै बनाएर पाल्न मन छ, मिल्छ भने सरकारले यसका लागि अझै धेरै ऋण दिओस् । म यसलाई व्यवसायिक रुपमा अघि बढाउन चाहान्छु ।’

०६८ सालमा स्थानीय विकास मन्त्रालय अन्तर्गतको नमूना नागरिक सचेतना केन्द्र खुलेपछि अप्सराको जीवनशैली नै बदलिएको छ । अप्सरा व्यवसायीक किसान बन्ने बाटोमा अग्रसर मात्रै छैनिन्, समाजसेवामा सक्रिय भएर पनि लागेकी छन् । उनी गाउँकी स्वयंसेविका पनि हुन् ।
घरको दैनिक कामकाज बाहेक स्वास्थ्य चेतना फैलाउने, गाउँको विकास केन्द्रित छलफल तथा बैठकमा भाग लिने, अधिकार प्राप्तिका लागि अग्रसर हुने गर्छिन् उनी ।
‘गरिबका लागि पनि सरकार छ भन्ने मलाई थाहा थिएन, नमुना नागरिक सचेतना केन्द्रको सदस्य नहुन्जेलसम्म मलाई गाविस छ भन्ने पनि थाहा थिएन,’ अप्सराले भनिन्, ‘हाम्रा लागि सामाजिक सुरक्षा भत्ता पनि आउँदो रहेछ । त्यो मलाई थाहा थिएन । भत्ता पनि यो केन्द्रमा आएपछि लिन सकें ।’
अप्सराले सचेतना केन्द्रबाट सहुलियत ऋण लिएर सुरु गरेको बंगुर र कुखुरा पालन व्यवसायबाट मासिक २० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । उनको सफलताबाट प्रभावित भएर वर्ल्ड भिजनलगायत बिभिन्न गैरसरकारी संस्थाले पनि सहयोग गरेका छन् ।
अप्सराजस्तै नमुना नागरिक सचेतना केन्द्रमा ३० जना सदस्य छन् । अरु पनि अप्सरा जस्तै सबल र सक्षम हुँदैछन् ।
नमुना नागरिक सचेतना केन्द्रमै वडा नागरिक मञ्च पनि छ । स्थानीय निकायको अभावमा देशैभर गठन गरिएका यस्ता मञ्च मध्य सुन्दरबजार नगरपालिका १२ का वडा संयोजक दिलबहादुर घर्ती भन्छन्, ‘पहिले आफ्नो परिचय पनि दिन नसक्ने अप्सरा विक जस्ता धेरै महिलाहरु अहिले आयआर्जनमा लागेका छन् । बचत गर्ने बानीको विकास भएको छ ।’

लम्जुङका ६१ गाविसमा सचेतना केन्द्रहरु सन्चालित छन् । विभिन्न कारणले डेढ दशकदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा जनता र स्थानीय सरकारबीच सेतुको काम गर्दै आएका सचेतना केन्द्रहरुमा राज्यले वार्षिक ३ लाख १५ हजार रुपैयाँ खर्चिँदै आएको छ ।
तीमध्ये सुन्दरबजार नगरपालिका ६ ऐंसेलु टोलमा ०६८ सालमा गठन भएको ३० सदस्यीय चौतारी नागरिक सचेतना केन्द्रका महिलाहरुले ३ रोपनी जग्गामा सामुहिक अदुवा खेती सुरु गरेर सुन्दरबजारलाई अदुवाको पकेट क्षेत्र बनाउने लक्ष्य लिएका छन् ।
८० प्रतिशत दलीत तथा विपन्न समुदाय रहेको ऐंसेलुटोलका महिलाहरु सोही भवनमा हप्ताको एकदिन ज्ञानगुनका कक्षा लिएर आफ्नो नाम लेख्न सक्ने भएका छन् । औपचारिक शिक्षा नलिए पनि व्यवहारले उनीहरुलाई परिपक्व बनाएको छ ।
चौतारी नागरिक सचेतना केन्द्रकी संयोजक सरस्वती परियारले अब हुने स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष बनेर महिलाहरुले पनि गाउँको विकास गर्न सक्छन् भन्ने सन्देश दिने बताउँछिन् ।
भ्रष्टाचार घट्यो : स्थानीय विकास अधिकारी

लम्जुङका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले सचेतना केन्द्र र वडा नागरिक मञ्चहरुका कारण भ्रष्टाचार घटेको दाबी गरे ।
स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदाको समस्यालाई केही हदसम्म भए पनि पूरा गरेको उनको भनाइ छ ।
‘सचेतना केन्द्रहरु वाचडगको रुपमा विकास भैरहेका छन् । अनियमितता हुन्छ की भनेर निगरानी गरेका छन्,’ शर्माले भने, ‘जनप्रतिनिधिविहीन हुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेको भन्ने आरोप अन्य जिल्लामा लाग्ने गरे पनि लम्जुङमा त्यस्तो छैन ।’
‘सरकारको लगानी सदुपयोग’
लमजुङ जिविसका शासन विज्ञ लोमश अधिकारीले सचेतना केन्द्रबाट जनतामा जागरण पैदा गरेको बताए । राज्यले नागरिक सचेतना केन्द्रमा गरेको लगानी सदुपयोग भइरहेको उनको दाबी छ ।

‘नागरिक सचेतना केन्द्रले गाउँ-गाउँमा नेतृत्व विकाससँगै आयआर्जन र सामाजिक चेतनाको विकास गर्ने काम गरेको छ,’ शासन विज्ञ अधिकारीले भने, ‘हाम्रा लागि पनि राज्यले कार्यक्रम ल्याउँदो रहेछ, बजेट छुट्याउँदो रहेछ भन्ने बुझ्ने भएका छन्, गाउँमा के कस्तो योजना चाहियो, कसलाई ऋण दिनुपर्यो, ऋण दिँदा कति ब्याज लिने लगायतका सबै निर्णय गर्नसक्ने भएका छन् ।’
उनले स्थानीय निकायको निर्वाचन पछि पनि ‘चेक एण्ड ब्यालेनस’का लागि वाच डगको रुपमा नागरिक सचेतना केन्द्रलाई निरन्तरता दिनु पर्ने बताए ।
जाँगरिला ईश्वरी र शारदा
सुन्दरबजार ६ ऐसेलु चौरस्थित चौतारी नागरिक सचेतना केन्द्रकी सामाजिक परिचालक शारदा पौडेललाई अब अर्को सचेतना केन्द्रमा पठाउन लागिएको जानकारी पाएलगत्तै ऐसेलुचौरका वडा नागरिक मञ्च संयोजक चन्द्रबहादुर तामाङले दुःख पोखे ।
शासन विज्ञ लोमश अधिकारीलाई उनले भने, ‘शारदा म्याडमलाई खोसेर नलैजानुस्, उहाँकै कारण हामी आज यहाँसम्म आइपुग्यौं । पहिले कुवाको भ्यागुतो सरह थियौं अहिले उहाँकै कारण विकासे योजना माग्ने भयौं । हामीलाई शारदा र ईश्वरी म्यामको अझै खाँचो छ ।’

शारदा पौडेल चौतारी नागरिक सचेतना केन्द्रकी सामाजिक परिचालक हुन् भने ईश्वरी रिमाल (थापा) कार्यक्रम संयोजक । ईश्वरीले काठमाडौंको पद्मकन्या कलेजबाट सामाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने शारदाले स्नातकोत्तर अध्ययन जारी राखेकि छन् ।
उनीहरु घण्टौं पैदल हिँडेर गाउँ गाउँमा पुग्छन्, स्थानीयलाई ज्ञानगुनका कुरा सिकाउँछन् र सचेतना केन्द्रमा आवद्ध भएर आत्मनिर्भर बन्न प्रेरित गर्छन् । सरकारको अभियानलाई सफल बनाउन दिलोज्यान दिएर लागेका छन् । त्यसैको परिणामस्वरुप अप्सरा विक र सरस्वती परियार जस्ता लम्जुङका महिलाहरु सचेतना केन्द्रमार्फत् आत्मनिर्भर बन्दै गएका छन् ।
प्रतिक्रिया 4