
१ साउन, काठमाडौं । तस्वीरमा देखिएको यो दृश्य देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्रको हो, जहाँ रहेका सल्लाका ठुल्ठूला रुखहरु रातारात काटेर सोत्तर बनाइएका छन् ।
सिंहदरबार परिसरभित्र अहिले ब्यापक रुख फँडानी भएको छ । सामान्य प्रशासन मन्त्रालय वरपरका रुखहरु काटिएका छन् । बाटो नै अवरुद्ध हुने किसिमले काठका मूढाहरु यत्रतत्र छरिएका छन् ।
विदेशमा हरित शहर बनाउन रुखहरु रोपिन्छन् । भएको हरियालीलाई जोगाइन्छ । तर, सिंहदरबारमा भने विगत लामो समयदेखि सुसाउँदै आएको सल्लेरी अब सदाका लागि सखाप पारिएको छ ।
देशमा वृक्षारोपण गर्ने र वन संरक्षण गर्ने अभियान चलिरहेका बेला प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै किन यसरी रुख काटियो होला त ?
सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका प्रवक्ता रामप्रसाद बेल्बासे भन्छन्, ‘भूकम्पले सिंहदरबारभित्रका भौतिक संरचनामा क्षति पुग्यो, चौरमा पाल टाँगेर बस्नु पर्यो, पाल रुखमुनि परे र रुख ढलेर मानवीय क्षति हुने जोखिम बढ्यो भनेर रुख काटिएको हो ।’
सिंहदरबारभित्र रहेको नेपाली सेनाको अरिदमन गण, सामान्य प्रशासन मन्त्रालय, विज्ञान प्रविधि मन्त्रालय र महान्याधिवक्ताको कार्यालयले रुख काटिदिन सिफारिस गरेकाले रुख काटिएको बेल्बासेले अनलाइनखबरलाई बताए ।
तर, सामान्य प्रशासनका एक कर्मचारी भन्छन्- ‘हामीलाई यसबारे केही थाहा छैन, हामीलाई एउटा हाँगो काट्ने पनि अधिकार छैन, रुख ढालेर बाटै हिँड्न नसकिने बनाइएको छ, पन्साउन आग्रह गरेको हप्तादिन भइसक्यो, तर जंगल फाँडेजस्तै बनाएर टुनाहरु लडाइएको छ ।’
फरक-फरक मूल्यांकन
सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका अनुसार उज्यालो निर्माण प्रालिलाई ५ लाख ८४ हजार ४४८ रुपैयाँमा रुख काट्न ठेक्का दिइएको हो ।
रुख काट्नुअघि सचिवालयले प्राविधिक मूल्यांकन गरी कुन-कुन रुखले जोखिम बढेको छ भनेर अध्ययन गरेको थियो । सचिवालयका प्राविधिकहरुले ६७ वटा रुख काट्नुपर्ने निष्कर्ष निकालेका थिए ।
तर, जिल्ला वन कार्यालय काठमाडौंको टोलीले ७३ वटा रुख काट्नुपर्ने निष्कर्ष निकालेर रुख काट्न अनुमति दिएको छ ।
सचिवालयका प्रवक्ता बेल्बासेले अनलाइनखबरसँग भने, ‘जुन जुन थ्रेट थियो, त्यही काट्न भन्दा प्राविधिकले ६७ वटा रुख जोखिमयुक्त छन् भन्यो, तर वनबाट ७३ रुख काट्नुपर्छ भनियो ।’
सचिवालयले भनेको भन्दा धेरै रुख किन काट्न भनियो होला त ? अनलाइनखबरको जिज्ञासामा बेल्बासेले भने, ‘त्यो कुरा वनलाई नै थाहा होला, हामीलाई थाहा छैन ।’
वन कार्यालय के भन्छ ?
सचिवालयले गत असार ७ गते पत्र लेखेर जिल्ला वन कार्यालयलाई रुख हटाउने अनुमति मागेको थियो । सोही पत्रअनुसार वन कार्यालय काठमाडौंका कर्मचारी गुरुप्रसाद दाहाल लगायतको टोलीले अध्ययन गरी ७३ वटा रुख काट्न अनुमति दिएको जिल्ला वन अधिकृत इन्द्र सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।
‘सिंहदरबार सचिवालयले पठाएको पत्रमा कतिवटा रुख काट्ने भनेर संख्या उल्लेख छैन, हाम्रा साथीहरुले मन्त्रीलगायतसँग सल्लाह गर्नुभयो र ७३ वटा काट्नुपर्छ भनेर सिफारिस गर्नुभयो,’ सापकोटाले भने, ‘मागेको भन्दा धेरै रुख काट्ने भन्ने प्रश्नै हुँदैन । सरकारी रुखहरु हटाउने मापदण्ड ०७१ छ, त्यो भन्दा दायाँबायाँ भएको छैन ।’
जिल्ला वन अधिकृत संयोजकत्वको सो टोलीमा वन तथा भूसंरक्षण मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयका प्रतिनिधि सदस्य छन् भने पुनर्निर्माण समितिको प्रतिनिधि सदस्य सचिव छन् ।
सापकोटाका अनुसार सिंहदरबारभित्र सल्ला, मसला, काइयो, पपुलर, गुल्मोहर, धुपीलगायत १८-२० जातका रुखहरु पनि काटिएका छन् । त्यसबाट ५ हजार ८ सय १४ क्यूविक फिट काठ निस्किने वन कार्यालयको मूल्यांकन छ ।
अब ती काठहरु लिलाम गरी सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले राजस्व जम्मा गरेपछि वन कार्यालयले सम्वन्धित ठेकेदार कम्पनीलाई छुटपूर्जी दिने प्रक्रिया हुन्छ ।
प्रतिक्रिया 4