१४ साउन, काठमाडौं । नेपालबाट वर्षेनी ८ देखि १२ हजारको संख्यामा महिलाहरु विदेशका शहरमा बेचबिखन हुने गरेका छन् ।

मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा बेचबिखन विरुद्ध क्रियाशिल शक्ति समूहले आइएलओको तथ्याङ्क उल्लेख गर्दै सो जानकारी दिएको हो ।
शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले विहिवार विज्ञप्ति जारी गरी बेचबिखनको शैली फेरिएकाले समस्या पनि झनै जटिल बन्दै गएको बताएकी छन् ।
नेपालका विभिन्न जिल्लाहरुबाट वर्षेनी हजारौंको संख्यामा किशोरीहरु यौन शोषणको प्रयोजनका लागि सञ्चालित भारतका कोठीहरुमा बेचबिखनमा पर्ने गरेको शक्ति समूहले जनाएको छ ।
भारतका कोठीहरुबाट भागेर र उद्दार गरेर नेपाल फर्किएका प्रभावित महिलाहरुले सन्चालन गरेको शक्ति समूह विश्वकै पहिलो संस्था हो ।
दुनवारले भनिन्, ‘मानव बेचबिखनबाट प्रभावितको सुरक्षित स्वदेश फिर्ती सम्बन्धी प्रोटोकलको अभाव, बेचबिखनका नयाँ आयामहरु थपिदै जानु, बाढी, पहिरो, भूकम्प लगायतका विभिन्न प्राकृतिक प्रकोप बेचबिखनका कारक बनेका छन् ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि शक्ति समूहले सरकारले भूकम्प प्रभावित जोखिमयुक्त घोषणा गरेका २१ जिल्लामा शक्ति समूहले बेचबिखन विरुद्ध अभियान सन्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
यौन शोषणको प्रयोजन
सन् २०१३ डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले ३० जुलाईलाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रुपमा मनाउने घोषणा गरेसँगै दोस्रोपटक यो दिवस मनाइदैछ ।
संयुक्त राष्ट्रसंघको एक तथ्यांकले विश्वमा करिब ७९ प्रतिशत बेचबिखन यौन शोषणको प्रयोजनका लागि हुनेगरेको देखाएको छ ।
प्रतिक्रिया 4