+

सिद्धान्तको सम्झनामा त्यो हेलिकप्टर सट

२०७२ भदौ  ४ गते १३:१५ २०७२ भदौ ४ गते १३:१५

४ भदौ, काठमाडौं । टी-२० विश्वकप छनोट कपमा जर्सीविरुद्ध डेब्यू खेलमै हेलिकप्टर सट हालेपछि सिद्धान्त लोहनी धेरैको नजरमा परेका छन् । एउटै इनिङका भरमा उनका विषयमा कुनै पनि निष्कर्षमा पुग्नु हतारो हुन्छ तर, यति भन्न सकिन्छ कि ब्याटिङमा आश जगाएका छन् उनले ।

सिद्धान्तको सम्झनामा त्यो हेलिकप्टर सट

Siddhant lohani (1)राजकुमार श्रेष्ठ
४ भदौ, काठमाडौं । टी-२० विश्वकप छनोट कपमा जर्सीविरुद्ध डेब्यू खेलमै हेलिकप्टर सट हानेपछि सिद्धान्त लोहनी धेरैको नजरमा परेका छन् ।

एउटै इनिङका भरमा उनका विषयमा कुनै पनि निष्कर्षमा पुग्नु हतारो हुन्छ तर, यति भन्न सकिन्छ कि ब्याटिङमा आश जगाएका छन् उनले ।

हेलिकोप्टर सट र रिभर स्वीप मेरो फेभरेट हो । त्यो दुई सट हान्न एकदम मन थियो, एउटा हेलिकप्टर लाग्यो

अन्तिम ओभरको पहिलो बलमा उनले हेलिकप्टर सट हानेका थिए । जसलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय कप्तान महेन्द्र सिंह धोनीको सटसँग तुलना गर्‍यो भने उनले ‘हेलिकप्टर सट किङ’को उपनाम समेत पाएका छन् ।

सिद्धान्तलाई चाहिँ त्यो हेलिकप्टर सट कस्तो लाग्यो त ? प्रश्न भुईंमा खस्न नपाउँदै उनको अनुहारमा बेग्लै चमक देखियो । ‘हेलिकोप्टर सट र रिभर स्वीप मेरो फेभरेट हो । त्यो दुई सट हान्न एकदम मन थिया’ अनलाइनखबरसँग कुरा गर्दै सिद्धान्तले भने-‘रिभर स्वीपका लागि ट्राइ गरेको थिएँ तर, बलरले बल नै फ्याँकेन । एउटा हेलिकप्टर लाग्यो । हल्का गुडलेन्थमै थियो, स्टेपआउट गर्दा आफ्नो लेन्थमा पाएँ र कनेक्ट भयो ।’

सिद्धान्तले पछिल्लो दुई वर्षदेखि राष्ट्रिय प्रतियोगितामा हेलिकप्टर सट हान्दै आएका थिए । जर्सीविरुद्धको खेलमा केही बेर ब्याटिङ गरेपछि उनले ब्याट परिर्वतन गरेका रहेछन् ।

जसले उनका सहकर्मीहरुलाई अब सिद्धान्तले हेलिकप्टर सट हान्छ भन्ने संकेत दिइरहेको थियो । ‘मैले लास्टमा ब्याट पनि चेन्ज गरेको थिएँ । हिटिङ गर्ने बेला म अर्को ब्याट प्रयोग गर्छु’ त्यो क्षण सम्झँदै उनी भन्छन्-‘साथीहरु भन्दै थिएँ ब्याट चेन्ज गर्‍यो, अब यसले हान्छ । त्यस्तै भयो ।’

हेलिकप्टर सटका लागि वर्ल्ड क्लास प्लेयर भारतका धोनी र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई चिनिन्छ । सिद्धान्तले धोनीका धेरै हेलिकोप्टर सट हेरेका थिए । तर, उनका आइडल क्रिकेटर भने एबी डिभिलियर्स हुन् । ‘धेरै सटहरु म उनकै गेम हेरेर सिक्छु र त्यसलाई मैदानमा प्रयोग गर्छु’- उनले आफ्नो राज खोले ।

जर्सीविरुद्ध उनले खेलेको हेलिकप्टर सटलाई आईसीसीले धोनीसँग तुलना गरेको छ । सिद्धान्त भन्छन्-‘मेरो सटलाई धोनीसँग तुलना गर्नु मेरो लागि ठूलो कुरा हो । निकै खुसी लागेको छ । ‘

परीक्षा छोडेर धर्मशालातिर

सिद्धान्त लोहनी बीबीए तेस्रो वर्षको परीक्षा छाडेर राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा गएका थिए । एकातिर राष्ट्रिय टीममा पर्ने सम्भावना, अर्कोतिर परीक्षा । उनलाई के गरौं के गरौं भएको थियो । उनी ‘होस् अब क्याम्पमा जान्नँ’ भन्ने निणर्यमा पुगेका बेला बुबाले नै पठाए ।

त्यो लेटर खोल्ने बेला डर लागिरहेको थियो । विस्तारै खोल्दै गएँ । छेउमा अविनाश थियो जस्तो लाग्छ, आफ्नो हातको लेटरमा भन्दा पहिला उसले खोलेको पत्रमा १५ औं नम्बरमा आफ्नो नाम देखेँ

‘बाबाले एक्जाम अर्को वर्ष दिँदा पनि हुन्छ । अहिले मौका पाएको छ, जा भन्नुभयो’ उनले भने, ‘टीममा परेपछि बोझ कम भयो । नपरेको भए न यता न उता भनेर टेन्सन हुन्थ्यो ।’

सिद्धान्तका बुबा राजेशले छोरा यू-१९ टीममा पर्दा पनि पढाइलाई नै जोड दिँदै आएका थिए । तर, जब राष्ट्रिय प्रतियोगितामा छोराको खेल हेरे, त्यसपछि उनको धारणा परिर्वतन भयो । ‘उसमा क्षमता देखेँ । पढाइ र खेलको अबसर आयो भने खेललाई प्राथमिकता देउ भनेको थिएँ’ राजेशले भने ।

अन्तिममा थियो उनको नाम

नेपाली टोली भारतको धर्मशालामा रहँदा नेपाली टोली घोषणा भयो । टीमको मिटिङमा सबैलाई खामबन्द पत्र ल्याएर दिइयो, जसमा १५ जनाको नाम थियो । प्राक्टिसमा राम्रो गरेकाले सिद्धान्तलाई टीममा पर्छु जस्तो लागेको थियो तर, पूर्ण विश्वस्त थिएनन् ।

Siddhant lohani (3)

त्यो क्षण सम्झँदै सिद्धान्त भन्छन्-‘त्यो लेटर खोल्ने बेला डर लागिरहेको थियो । विस्तारै खोल्दै गएँ । छेउमा अविनाश थियो जस्तो लाग्छ, आफ्नो हातको लेटरमा भन्दा पहिला उसले खोलेको पत्रमा १५ औं नम्बरमा आफ्नो नाम देखेँ ।’

उसको सटले निकै चर्चा पनि पायो । त्यसपछि मैले ठिक निर्णय लिएछु भन्ने लाग्यो-बुबा राजेश

त्यो बेला सिद्धान्तको मनमा बेग्दै खुसी थियो । ‘मिटिङ सकिए लगतै मैले घरमा आमा बाबुलाई फोन गरेर आफू टीममा परेको सुनाएँ’ उनले भने ।

धर्मशालाबाट फर्किएर सिद्धान्त इंग्ल्याण्ड, नेदरल्याण्ड हुँदै आयरल्याण्ड पुगे । तर, टी-२० विश्वकप छनोटको पाँच खेलमा उनले मौका पाएनन् ।

लगातार बेन्चमा बस्दा सिद्धान्त मात्र होइन, त्यतिबेला विराटनगरमा रहेका उनका आमा बाबु पनि दबावमा परे । सिद्धान्तका बुबा राजेशलाई परीक्षा छोडेर खेल्न पठाएर गलत निर्णय त गरिँन भन्ने लागेको थियो । तर, जर्सीविरुद्धको खेलमा सिद्धान्तले मौका मात्र पाएनन्, आफू सम्भावना बोकेको क्रिकेटर भएको सावित गरेर देखाए ।

डेब्यूको ऐतिहासिक क्षण

जर्सीविरुद्धको खेल सुरु हुनुभन्दा १०/१५ मिनेट अगाडि टिम मिटिङमा सिद्धान्तलाई डेब्यूबारे जानकारी दिइएको थियो ।

साथीहरुले आज एक जनाको डेब्यू छ भनेपछि टीममा डेब्यू गर्न बाँकी आफू मात्र भएकाले उनले आज खेल्ने भइयो भन्ने सहजै अनुमान लगाए । ‘लगतै प्रशिक्षक पुवुदुले ‘यू आर प्लेइङ टुडे’ भन्नु भो । एकदमै खुसी लाग्यो’ सिद्धान्त भन्छन् ।

Siddhant lohani (5)सिद्धान्तलाई नेपाली टोलीका कप्तान पारस खड्काले डेब्यू क्याप दिए । ‘डेब्यू गेम भएकाले एकदमै उत्साहित थिएँ । खेलेर राम्रो गर्नुपर्छ भन्ने थियो’ क्रिकेट करियरको एतिहासिक क्षण बर्णन गर्दै सिद्धान्तले अनलाइनखबरसँग भने- ‘एउटै मौका पाएको थिएँ । तर, त्यति नै दबाव पनि थियो ।’

उनी सातौं नम्बरमा मैदान छिर्दा स्कोरबोर्डमा नेपालको रन ६१ मात्र थियो । उनी भन्छन्-‘टीमको स्कोर पनि राम्रो थिएन । दिमागमा मेरो न्याचुरल गेम जे हो, त्यही खेल्छु भन्ने थियो । खुलेरै खेलेको थिएँ ।’

डेब्यू खेलमा पनि अनुभवीले जस्तै खेलेका उनले टीमकै सर्वाधिक २७ रन मात्र बनाएनन्, हेलिकप्टर सट हानेर सबैको नजरमा पर्न सफल भए । सिद्धान्तका बाबु राजेश भने-‘उसको सटले निकै चर्चा पनि पायो । त्यसपछि मैले ठिक निर्णय लिएछु भन्ने लाग्यो ।’ तर, खेल सकिएपछि राजेशले छोरालाई फोन गरेर बाँकी पाँच बल पनि टिकेर खेलेको भए हुन्थ्यो भन्ने सुझाव दिएका थिए ।

सिद्धान्तकी आमा लीनाले भने जर्सीविरुद्धको खेलमा नै पहिलो पटक छोराले कुनै पनि प्रतियोगितामा खेलेको हेरेकी रहिछन् । ‘यसअघि घरको चौरीमा केटाकेटीसँग खेलेको देखेकी थिएँ’ लीन भन्छिन्-हामी त घरमा छक्का चौका भनेर उफ्रिएका थियौं ।’

चुनौती टी-२० को ट्याग हटाउनु

अम्पायर एवं खेल पत्रकार देवेन्द्र सुवेदी सिद्धान्तको अबको मुख्य चुनौती ट्वान्टी-२० स्पेसलिस्टको ट्याग हटाउनु र एक दिवसीय क्रिकेटमा पनि आफूलाई स्थापित गर्नु भएको देख्छन् । त्यसका लागि उनले क्षेत्रगत टीमबाट खेलेर राष्ट्रिय क्रिकेटमा स्थापित गर्नु पर्छ, जसले राष्ट्रिय टीममा स्थान बन्नेछ ।

सानोमा खेल्न जाँदा धेरै गाली गरेकी छु । खेल्नलाई मोटरसाइकल लिएर भारतको जोगवनीसम्म जान्थ्यो । हामीलाई भने डर लाग्थ्यो-आमा लीना

सिद्धान्त पनि त्ससलाई स्वीकार गर्दै भन्छन-ट्वान्टी ट्वान्टीमा मात्र होइन, ५० ओभरमा पनि आफ्नो ठाउँ बनाउनुछ । ५० ओभरका लागि मैले आफूलाई तयार पानुपर्छ । यो नै मेरो चुनौती हो ।’

सिन्द्धान्तले क्षेत्र नम्बर १ विराटनगरबाट राष्ट्रिय क्रिकेट खेल्दै आएका छन् । केही विभागीय टीमले उनीप्रति रुची देखाएका छन् तर, सिद्धान्त कुनै निर्णयमा पुगिसकेका छैनन् ।

विराटनगरको टीममा मेहुबुब आलम, पुष्प थापा, मन्जित श्रेष्ठ जस्ता सिनियर क्रिकेटर छन् । उनी भन्दा जुनियरहरु पनि कम छैनन् । ललित राजवंशी अहिले यू -१९ टीममा मा परेका छन् । सिद्धान्त भन्छन्, त्यसैले प्रतिस्पर्धा राम्रै हुन्छ ।’

क्षेत्रबाट खेल्दै नियमित बलिङ गर्ने सिद्धान्त नेपाल टिममा पार्टटाइम बलर हुन् । उनी बलिङमा पनि विभिन्न प्रयोग गर्न रुचाउँछन् ।

के भन्छन्, बुबाआमा ?

सिद्धान्तसँग कुरा सुरु गर्नु अघि नै उनकी आमा लीनासँग भेट भयो । केहीबेरमा बुबा राजेश लोहनी पनि आए, जो खेलकुद क्षेत्रसँग नजिक छन् । विराटनगरमा जन्मिएका सिद्धान्तले सुरुमा अरुले जस्तै प्लास्टिकको बलकै क्रिकेट खेले ।

Siddhant lohani (4)

देवकोटा मेमोरियल स्कुलमा कक्षा ३/४ मा पुगेपछि क्रिकेट खेल्ने मौका पाए । विद्यालयमा सातामा एक दिन स्पोर्टस कक्षा हुन्थ्यो भने क्रिकेट खेलाउन शिक्षक पनि थिए । कक्षा १० मा पुगेपछि बाईसीसी क्लब ज्वाइन गरेर खेल्न सुरु गरेका थिए ।

आमा लीना भन्छिन्, सानोमा खेल्न जाँदा मैले नै उसलाई धेरै गाली गरेकी छु । खेल्नलाई मोटरसाइकल लिएर भारतको जोगवनीसम्म जान्थ्यो । हामीलाई भने डर लाग्थ्यो ।’

उनका बुबा राजेशलाई पनि छोरो यो अवस्थामा पुग्ला भन्ने लागेको रहेनछ । हामी विराटनगर बस्ने हो । त्यहाँ अहिले पनि क्रिकेटको कुनै पनि पूर्वाधार विकास भएको छैन’ उनले भने-‘त्यहाँ खेलेर आज यो स्थानमा पुग्छ भनेर मैले कल्पना गरेको थिइँन ।’ त्यही भएर पढाइलाई प्राथमिकता दिओस् भन्ने सोच बनाएको हो- राजेशले भने ।

तर, सिद्धान्तको इच्छा क्रिकेटमै थियो । आमा बुबा त्यस विपरित जाने कुरा भएन । खेल्न त खेलोस् तर पढाइ नविग्रिओस भन्ने लाग्थ्यो राजेशलाई । तर, जब उनले राष्ट्रिय प्रतियोगितामा सिद्धान्तको खेल हेरे, आफूलाई परिर्वतन गरे । उनले नै परिक्षा र क्रिकेट मध्ये क्रिकेट रोज्न लगाएर धर्मशालामा बन्द प्रशिक्षणमा पठाए । अब नेपालमा खासै खेल नभएकाले भारतमा अभ्यासका लागि पठाउने योजना बनाउँदैछन् ।

टी-२० विश्वकप खेल्दा नेपाली टोलीको ब्याटिङ कोच मोन्टीले पनि भारतमा आए सहयोग गर्छु भन्ने आश्वासन दिएका छन् । सिद्धान्त स्वयंम पनि नियमित क्रिकेट खेल्न वातावरण खोजिरहेका छन् । भन्छन्, गेमहरु निकै कम छन, धेरै पर्खनुपर्छ । क्यानले धेरै प्रतियोगिता खुलाउनुपर्छ जस्तो लाग्छ ।’

तस्वीरः कविन अधिकारी/अनलाइनखबर 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय