चिरञ्जीवी पौडेल
काठमाडौं । युवापुस्तामा लोकप्रिय छन् गायक हिमाल सागर । प्रायः भावुक गीतहरु गाउन रुचाउने उनले व्यवसायिक गायनमा करिब १२ वर्ष गुजारिसेकका छन् । देश र विदेशका संगीत पारखीहरुबीच आज उनको बेजोड माग छ ।
निसन्देह, हिमाल साना दुखले अहिलेको स्थानमा आइपुगेका होइनन् । यसका लागि कति पापड बेलेका छन् त्यो उनैलाई थाहा छ । आफ्नो सांगितिक करिअरलाई फर्केर हेर्दा उनी कहिले भावुक हुन्छन् त कहिले अट्टहास गर्छन् ।
उनी कुनै समय एक प्लेट मःमको भरमा दिन गुजार्थेँ । मःम खाइसके पछि पानी पिउनलाई जहाँबाट पनि खुलामञ्चमा पुग्थेँ । त्यहाँ मारवाडी समितिले वितरण गरेको पानी जगमा घटघट.. पिउँथे र ढ्याउ गर्थे । ‘मैले पानी पिएको देख्दा मान्छे ठिस हुन्थेँ,’ हिमाल भन्छन् ।
अनलाइनखबरको कार्यालयमा आएर आफ्नो गायन जिवनका रमाइला तथा अविष्मरणीय केही घटनाक्रमहरु उनले यसरी सम्झेः
मैले गाउँदा दर्शकमा हाँसो
स्कुलमा पढ्दा सरस्वती पूजाको दिन पहिलोपटक स्टेजमा गाएको थिएँ, उकाली ओराली गर्दै… बोलको गीत । जिवनको पहिलो प्रस्तुति नै यति हाँस्यास्पद भइदियो कि जिवनभर भुल्न सक्दिनँ ।
सांस्कृतिक कार्यक्रम सुरु हुनासाथै म डरले कक्रक्क परेको थिएँ । आफ्नो पालो आएपछि पिसाब लागेजस्तो भो । ट्वाइलेटतिर दगुरे । तर पिशाब आएन । के आओस् । पहिल्यै ३-४ चोटी भ्याइसकेकेको थिएँ ।
ट्वाइलेट पसेर पिशाब फेर्न फस्नर खोल्न खोज्दा त पहिल्यै खुलिरहेको । फस्न ह्वाङ्ग खुलेर सटको टुप्पो बाहिर झुण्डिरहेको रहेछ । म लाजले भुतुक्कै भएँ ।
ट्वाइलेटबाट निस्केर खुट्टा कपाँउदै स्टेजमा उक्लेँ । माइक समातेर गाउन थाले । तर मैले गीत गाउन थाल्दा नथाल्दै दर्शकहरु गललल हाँस्न थाले । मलाई साह्रै नमज्जा लाग्यो ।
यसो दर्शकदिर्घामा हेर्दा पछाडिको लाइनमा बसेकाहरु सिरियस भएर सुनिरहेका थिए । अगाडि बसेका उरन्ठेउलाहरु चाहिँ मलाई हेर्दे मरिमरि हाँस्दै थिएँ । उनीहरुलाई बिर्सेर मैले पछाडि बस्नेहरुका लागि गाएँ । जसोतसो गाएँ ।
गीत गाइसकेपछि फेरि पिशाब लागेजस्तो भो । ट्वाइलेट पसेर पिशाब फेर्न फस्नर खोल्न खोज्दा त पहिल्यै खुलिरहेको । फस्न ह्वाङ्ग खुलेर सटको टुप्पो बाहिर झुण्डिरहेको रहेछ । म लाजले भुतुक्कै भएँ । स्टेजमा मलाई प्रमाणपत्र लिन बोलाइरहेका थिए, म भने घरतिर कुदेँ ।
गीत नबिकेपछि लम्पसार कुटनीति
एसएलसी सकेपछि म पूर्वकै मेची क्याम्पसमा पढ्न थालेँ । २०५९ सालको तिहारमा दिदीहरुको हातको टीका लगाउन भनेर काठमाडौं आएको थिएँ । दिदीहरुले एक स्वरले भन्नुभयो कि, ‘तँ यतै बसेर पढ् । म्युजिकमा पनि केही गर ।’ त्यसपछि मैले काठमाडौंमै बस्ने मेसो मिलाएँ । काठमाडौंमा बसेर पढेँ, परिक्षा दिन घर पुगेँ ।
काठमाडौं बस्नुको उद्देश्य संगीतमा लाग्ने हो भन्ने कुरा त जगजाहेर नै भइहाल्यो । त्यसैले मैले अब कसरी हुन्छ एउटा गिति एल्बम निकाल्ने एकसूत्रीय अभियानमा लागेँ । आफूसित पैसा थिएन । बुवा-आमासित पैसा माग्न मन लागेन ।
तर, भगवानले तँ चिता, म पुर्याउँछु भन्नुहुँदोरहेछ । एउटा सहकारीमा काम गर्ने मेरो साथीले एल्बमको लागि लगानी गर्ने प्रस्ताव राख्यो । अनि मेरो मामाको छोराले पनि भन्नुभयो, ‘अघि बढ, परेको म व्यहोर्छु ।’
दुई जना लगानीकर्ता भेटेपछि मैले खुट्टा उचालेँ । उहाँहरु दुवैजनाको शर्त के थियो भने, ‘लगानी हामी गर्छौं र नाफा-घाटा पनि हाम्रै हुन्छ ।’ मलाई के थियो, आँखा चिम्लेर स्वीकार गरेँ ।
२०६० साल असोज ४ गते मेरो पहिलो एल्बम रिलेसन बजारमा आयो । बडो उत्साहित थिएँ । यही एल्बमले मलाई रातारात स्टार बनाउने सपना देख्थेँ । तर मैले सोचेजस्तो केही भएन । मेरो एल्बम रिलेसनसित न मिडियाले रिलेसन जोडे न श्रोताले ।
अहँ कसैले बाल नै दिएनन् । ३ महिनामा कन्दै-कन्दै ३ सय एल्बम बिक्री गरियो । रातारात स्टार बन्ने मेरो सपना धुलोमा लडिरहेको सपना देख्न थालेँ ।
तर, कथामा अर्को मोड बाँकी नै रहेछ । ३ महिनापछि धुलो टक्टक्याउँदै उठ्यो, लडेको स्टार । धवलागिरी क्यासेट सेन्टरका मालिकले मलाई ‘गुरुमन्त्र’ दिनुभो । ‘पब्लिसिटी गर्नुस, पब्लिसिटी । मिडियालाई हातमा लिन दौडिनुस्’ उहाँको सुझाव यस्तो थियो ।
मेरो गीतको म्युजिक भिडियो बनाइदिन पनि उहाँ तयार हुनुभयो ।
गुरुमन्त्र त प्राप्त भयो, तर मिडियालाई हात लिने कसरी ? उहाँले दौडिनुस भन्नुभएको थियो । तर, दौडिएको भरमा मिडिया हातमा आउने भए वैकुण्ठ मानन्धरको हातभरि मिडियै मिडिया हुन्थँे होलान् ।
म पत्रकारलाई भेट्दै हात जोड्न थालेँ । सुरुमा चिनेकालाई भेटेँ, त्यसपछि नचिनेकालाई पनि भेटेँ । सबैसित मेरो गीत बजाइदिन हारगुहार गरेँ । कतिपय ठाउँमा लम्पसारै परिदिएँ ।
दुनियाँभरि सफल भएको ‘लम्पसार कुटनीति’ मेरो हकमा असफल हुने कुनै थिएन । मिडियामा मेरा गीत घन्किन थालेँ । काउन्ट डाउनमा छिर्न थाले । टीभीमा म्युजिक भिडियोले स्थान पायो । श्रोताले पनि मन पराइदिए । फलस्वरुप बजारमा रिलेसन एल्बमले बिस्तारै पीकअप लियो । पीकअप लिएर ‘पिक’ मै पुग्यो ।
कुनै दिन यस्तो पनि आयो कि एल्बममा सिग्नेचर धस्काउँदा धस्काउँदा हात गलेर लोथ हुन्थ्यो । जम्मा ९५ हजार प्रति एल्बम विक्री भयो । पैसा त मैले कमाइनँ, किनकि शर्त नै यस्तो थियो । तर नाम मज्जाले कमाए । मलाई त्यो समयमा पैसाको होइन, नामको खाँचो थियो । यहि एल्बमको न मैले लेखेँ बोलको गीतले ढुकढुकी पप अवार्ड पनि पायो ।
सुज इन फस्र्ट साइट
एल्बम हिट भएपछि स्टेज कार्यक्रममा मेरो माग आउन थाल्यो । सबैभन्दा पहिलोपटक पेप्सीकोलाको मैदानमा आयोजित कन्सर्टमा गाउने अफर आएको थियो । म नीलो टेम्बु चढेर कार्यक्रमस्थल गएको थिएँ । आयोजकले १२ सय रुपैयाँ पारिश्रमिक टक्र्याए । म ट्याक्सी चढेर घर फर्केँ ।
ट्याक्सी चढ्दा खाममा राखेको पैसा तीनपटक निकालेर गनेँ । एक सय, दुई सय, तीन सय….. बाह्र सय ! भृकुटीमण्डपमा ओर्लंदा एक सय ८० रुपैयाँ उठेको थियो । दुई सय दिएँ । ड्राइभरले १० रुपैयाँ फिर्ता गर्न खोज्दा तिमी नै राख भनेर हिडेँ ।
एक हजार रुपैयाँ सरक्क बाँकी थियो । भृकुटीमण्डपभित्र एउटा जुत्ता पसलमा छिरेँ । ‘ओर्जिनल छालाको जुत्ता देखाउनुस’ भनेपछि थेप्चो नाक भएका साहुजीले चुच्चो हिल भएको चिटिक्कको जुत्ता देखाए । मलाई ‘लभ इन फस्र्ट साइट’ भनेझैं ‘सुज इन फस्र्ट साइट’ भयो । मोल पनि सस्तै थियो । ‘ओर्जिनल त हो ?’ भनेर मैले शंका व्यक्त गरेपछि साहुजीले जुत्तामा लाइटर बालेर देखायो, ‘ल हेर्नुस, केहि हुँदैन’ भन्दै । मैले पाँच वटा सयका नोट उसको टेबलमा बजारेँ । बिना कुनै बार्गेनिङ जुत्ता किन्ने म पहिलो ग्राहक थिएँ कि झैं गरी साहुजीले आँखीभौं खुम्च्याए ।
मैले आफूले लगाएका थोत्रे जुत्ता झोलामा हालेँ र नयाँ जुत्ता लगाएर ठमठम गर्दै हिडेँ । त्यो रात आफू सुत्ने खाटमुनी जुत्ता राखेर सुतेँ ।
भोलिपल्ट खासै केहि काम थिएन । नयाँ जुत्ता लगाएर कतै त जानु परो ! म अनामनगर बस्ने साथीको डेरामा पुगेँ ।
‘जुत्ता भित्र ल्याउन मिल्छ ?’ मैले थाहा नभए झैं सोधेँ । उसले बाहिरै खोल यार भन्यो । म मेरो मुटुको दुई टुक्राजस्ता जुत्ता ढोकाबाहिरै खोलेरभित्र पसेँ ।
साथीसित बसेर बातसात मारियो । खानासाना खाइयो । गानासाना गाइयो । करिब एक घन्टापछि घरबाट निस्कँदा त मेरा मुटुका टुक्रा गायब । जुत्ता दिनदहाडै चोरी भएछ । मलाई त भर्खर बनाएको गर्लफ्रेण्डलाई अर्कैले उडाएको जस्तो पिडा भो ।
‘साथीले ट्वाइलेटको चप्पल लगाएर जा भन्दै थियो, म रन्थनिएर यत्तिकै हिँडे । नाङ्गो खुट्टा हिँड्दै फेरि भृकुटीमण्डप पुगँे । उहि थेप्चो नाकवाला पसलमा । ‘अघिकै जस्तो जुत्ता दिनुस त,’ भनेपछि साहुजीले एक जोडी जुत्ता र एउटा लाइटर निकाल्यो । फेरि जलाएर देखायो । मैले फेरि सयका पाँचवटा नोट टेबलमा थेचारेँ ।
फेरि नयाँ जुत्ता लगाएर हिडेँ । अघिल्लो दिनको दृश्य ‘एक्सन रिप्ले’ भएको महसुस गर्दै घरतिर लागेँ । एउटी प्रेमिकाले धोका दिएलगत्तै त्यत्तिकै राम्री अर्की प्रेमिका च्यापेर हिँड्दाको जस्तो आत्मसम्मानले मन पुलकित भइरह्यो । तर, नयाँ प्रेमिकाको पनि आयू लामो रहेनछ ।
साइलेन्सरमा जुत्ताको आत्महत्या प्रयास
अर्को दिन धादिङको गजुरीमा मेरो कार्यक्रम थियो । त्यहाँ तीनवटा गीत गाउन १२ हजार रुपैयाँमा आयोजकसित डिल भएको थियो । आयोजकका एकजना दूत मलाई लिन राजदूत मोटरसाइकल लिएर आए । नयाँ प्रेमिकालाई खुट्टामा भिरेर शानसित बाइक चढेँ ।
बाइकमा गुड्दागुड्दै मलाई नाकमा केहि गन्ध आएको महसुस भइरहेको थियो । तर के हो भन्ने खुट्याउन नसकि गजुरी पुगियो । स्थानीय तारा सिनेमा हल अगाडि दूतले राजदूत बाइक रोके । म बाइकबाट ओर्लिएँ । ओर्लिँदा त एउटा खुट्टामा जुत्तै थिएन । यसो हेरेको साइलेन्सरमा टाँसिएर बसेको रहेछ । साइलेन्सरको तातोलेे जुत्ता पग्लिएर खत्तम भएछ ! म त भाउन्न भएर थचक्कै भूईंमा बसेँ । दूत बडो विचित्र मुद्रामा मलाई हेरिरहेका थिए ।
अब, बसेर मात्रै पनि समस्या समाधान नहुने । उठेर साइलेन्सरमा टाँसिएको जुत्ता उप्काएँ । सोल लगभग उप्किएको थियो । दूतलाई ५० रुपैयाँ दिएर पैसा टाँस्ने टेप ल्याइदिन आग्रह गरेँ । उनले ल्याइदिए । म एउटा हातमा टेप र अर्को हातमा जुत्ता बोकेर हलभित्र छिरेँ । क-कसले मलाई हेर्दैछन् भन्ने बाल मलतव गरिनँ ।
कार्यक्रम सुरु भइसकेको थियो । म सरासर शौचालयतिर लागेँ । शौचालयभित्र टेपले जुत्ता टाँस्दै गर्दा क-कसले देखे, बाल मतलब गरिनँ ।
टेपले फनफनि घुमाएर जुत्ताको सोल टाँस्दै गर्दा आवाज सुनेँ । ‘अब आउँदै हुनुहुन्छ, हिमाल सागर’ भनेर उद्घोषकले घोषणा गर्न भ्याइसकेका थिए । हतार-हतार उठेर टेपले बेरिएको जुत्ता भिरेँ । पाइन्टलाई कम्मरबाट अलि तल झारेँ ताकि ताकि जुत्ता नदेखियोस । दर्शकहरु होहल्ला गर्न थालिसकेका थिए । म जुत्ता ल्याफ्राक ल्याफ्राक पार्दै स्टेजमा उक्लेँ ।
खुलेर गीत गाउन सकिनँ । किनकी मेरो ध्यान दर्शकतिर नभएर जुत्तातिर बढि थियो । तैपनि दर्शकले राम्रै साथ दिए । जेनतेन संकट टर्यो । जुत्ता खुस्किएन ।
खाम खोल्दा बेहोश
खामभित्र १० र २० का नोटहरु मात्र थिए । गनिसक्दा जम्माजम्मी ७५० रुपैयाँ । झण्डै बेहोस भइनँ ।
आयोजकले सम्मानपूर्वक मलाई विदा गरे । उनीहरुले हातमा पैसाको बिटो राखिएको खाम हातमा राखिदिएर भने, ‘फेरि-फेरि पनि आउनुपर्छ है हजुर ।’ मैले खाम सटको खल्तीमा हाल्दै भनेँ, ‘आइहाल्छु नि । तर रेट चैं अलि बढाउनुपर्छ है ।’
वास्तवमा मलाई कहिले खाम खोलेर पैसा गनौं जस्तो भइरहेको थियो । तर, त्यत्तिका मान्छेको अगाडि खाम खोल्दा असभ्यताको पराकाष्टै हुन्थ्यो । म काठमाडौं आउने नाइट बस चढेपछि उनीहरुले हात हल्लाए । गाडीमा केहीबेर उभिनुपर्यो । सिट मिल्नासाथ बसेर खल्तीमा हात हालेँ । खाम झिकेर पैसा गन्न थाले । खामभित्र १० र २० का नोटहरु मात्र थिए । गनिसक्दा जम्माजम्मी ७५० रुपैयाँ । झण्डै बेहोस भइनँ । अब के गर्नु ? गाडी धेरै अगाडि पुगिसकेको थियो ।
काठमाडौं आएर फेरि उही जुत्तापसलमा पुगेँ । त्यही जुत्ता मागेँ । दिनदिनै जुत्ता किन्न आएको ग्राहक देखेर थेप्चो नाकवाला साहुजी ठिस भयो । उसले एक जोर जुत्ता निकाल्यो । यसपटक लाइटर बाल्ने झन्झट गरेन । चार दिनमा तेस्रोचोटि नयाँ जुत्ता लगाएर म हिडेँ ।
फर्किने बेला भृकुटीमण्डपमा चोर बजार सुरु भएको रहेछ । यसो हेर्नुपर्यो भनेर गएँ । नभन्दै मैले साथीको घरबाट हराएको जुत्ता त्यहिँ देखे । तर, माग्ने आँट आएन । वरिपल्ट मुन्द्रे र जगल्टेहरुलाई देखेर साइड लागेँ ।
प्रतिक्रिया 4