सलमान खान
३० भदौ, भैरहवा । तीन दिनअघि संविधानसभालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी ओलीले मधेसमा भइरहेको घटनाबारे भनेका थिए, टाकोमा ताकेर गोली हानिएको हो भने त्यो गलत हो । तर, मंगलबार साँझ रुपन्देहीको बेथरीमा प्रहरीले वालवालिकाको टाउकोमा ताकेर गोली चलायो ।

मंगलबार तीजको दर खाने दिन बेथरीमा बजार लागेको थियो । चाडबाडको दिन परेकाले धेरै व्यक्तिहरु बजारमा तरकारी लगायतका सामान किन्दै थिए ।
आफ्नो चार वर्षीय छोरा चन्दनकुमार पटेललाई लिएर बजार भर्न आएकी अर्की एक आमाको पनि कोख प्रहरीले रित्याइदिएको छ ।
स्थानीय प्रत्यक्षदर्शी बजंरगी बनियाँका अनुसार पटेलकी आमा बजार भरेर हातमा तरकारी र छोरालाई लिएर फर्किइरहेकी थिइन् ।
त्यहीबेला प्रहरीले तिनाउ खोलाको पुलमाथिबाट पुलमुनि रहेको तरकारी बजारमा चलाएको गोली लागेर बालकको घटनास्थलमै मृत्यु भयो । बालकको टाउकोमा गोली लागेको छ ।

रुपन्देहीको बेथरीमा प्रहरी र आन्दोलनकारीबीच झडपपछि मंगलबार प्रहरीको गोली लागेर चार जना निर्दोषको मृत्यु भयो । उनीहरु आन्दोलन गर्न नभई बजारमा तरकारी किन्न गएका थिए, जसमध्ये दुईजना वाल वालिकासमेत थिए ।
प्रहरीले तिनाउ पुलबाट तलतिर लागेको बजारमा अन्धाधुन्ध गोली चलाउँदा आफ्नै घरछेउमा खेलिरहेकी १२ वर्षीया वालिका रञ्जना क्षेत्रीको घाँटीमा गोली लाग्यो ।
‘पुलमाथिबाट बजारमा प्रहरीले गोली चलाउन थालेपछि भागभाग भयो, हामी सबै घरभित्रै थियौं, मृतक रञ्जनासिंह क्षेत्रीका हजुरबुबा हरिहरसिंह क्षेत्रीले अनलाइनखबरसँग भने, मेरी नातिनी रञ्जना गल्लीमा थिइन्, प्रहरीले पुलमाथिबाट चलाएको गोली लागेर नातिनीको मृत्यु भयो ।
‘मेरी १२ वर्षीया नातिनी आन्दोलन गर्न गएकी थिइनन्, आफ्नै घरमा बसेकी थिइन्, हजुरबाले सोधे- ‘किन प्रहरीले मेरो नातिनीलाई गोली हानेर मारे ?’

हरिहरसिंहको घरै अगाडि बजार लाग्ने गर्दछ । बजारको आडैमा तिनाउ पुल छ । उनले प्रहरीले राति नै घरमा आएर जबरजस्ती नातिनीको शवसमेत खोसेर लगेको बताए ।
मृतक रञ्जनाका बुबा भारतमा मजदुरी गर्छन् भने उनकी आमा गृहणी हुन् । मृतकको घर रुपन्देहीका मर्चवार क्षेत्रको ओडवलियामा रहे पनि विगत केही वर्षदेखि उनी आफ्नो हजुरबुबासँग बसेर गोनहा ६ बेथरी स्थित तिनाउ प्राविमा कक्षा ५ मा अध्यनरत थिइन् । उनको घाँटीमा गोली लागेको छ ।
लाकोल र बरई परिवार टुहुरो
यस्तै अर्का स्थानीय ३५ वर्षीय विन्दु लाकोल घरै अगाडि लागेको बजारमा तरकारी खरिद गर्न जाँदा प्रहरीले पुलमाथिबाट चलाएको गोली लागेर उनको मृत्यु भयो । मृतकका भाइ मनोहर गोपाल लाकोलका अनुसार लाकोल दाजुभाइ खुद्रा पसले हुन् ।

‘मेरा देवर कुनै राजनीतिक दलमा आवद्ध हुनुहुन्थेन, रक्सी, चुरोट केही खानु हुन्थेन,’ भक्कानो छाडेर रुँदै मृतक विन्दुकी भाउजूले भनिन्- ‘बजारमा तरकारी किनिरहेका बेला प्रहरीले गोली हानेर हत्या गर्यो ।
मृतक लाकोलका २ छोरा र श्रीमती छन् । उनको पनि टाउकोमै गोली लागेको छ ।
त्यस्तै स्थानीय बजारमा तरकारी खरिद गर्न गएका बेथरीका राजकुमार बरईलाई पनि तरकारी खरिद गरिरहेकै अवस्था प्रहरीले पुलमाथिबाट चलाएको गोली लागी मृत्यु भएको मृतककी श्रीमती गीतादेवी बरईले बताइन् ।
‘बुवा खेतमा पानी लगाएर घर आउनुभएको थियो, अनि घरमा पाकेको माछा खाएर अब साँझका लागि बजारबाट तरकारी किनेर ल्याउँछु, भन्नुभएको थियो,’ मृतक बरईका छोराले अनलाइनखबरसँग भने, ‘तर बुबालाई प्रहरीले बजारमा नै गोली हानेर हत्या गरिदियो ।

मृतक बरईका तीन छोरा र श्रीमती छन् । उनको छातीमा गोली लागेको छ ।
मृतकहरुमध्ये कोही पनि आन्दोलनकारी नरहेको स्थानीयले दाबी गरेका छन् । उनीहरुका अनुसार दुई वालवालिकासहित चारैजना मृतक सर्वसाधारण हुन् ।
हत्यापछि गाउँमा ढलेका सबै शवहरु प्रहरीले जबरजस्ती घरबाट हतियार देखाएर लगेको मृतक परिवारको गुनासो छ ।
गाउँ शोकमग्न
यतिबेला बेथरी गाउँ शोकमा डुबेको छ । गाउँमा रुवाबासी छाएको छ । तरकारी खरिद गर्न गएका व्यक्ति मारिएपछि मंगलबारदेखि गाउँमा कसैका घरमा खाना पाकेको छैन ।
बेथरी क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । गाउँका गल्लीहरु सुनसान छन् । स्थानीय जनता त्रसित भएर आ-आफ्ना घरमा छन् । पसल, होटललगायत सबै बन्द छन् ।
कसरी भयो झडप ?
भैरहवा लुम्बिनी सडकखण्ड अन्र्तगत पर्ने बेथरीबाट प्रहरीले स्कटिङ्ग गरेर सवारी साधनहरु लैजान थालेपछि केही आन्दोलनकारीले ढुंगामुढा गरे । त्यसको प्रतिकारमा प्रहरीले आश्रु ग्याँस फायर गरे ।
आन्दोलनकारीहरु बेथरीदेखि छपिया जाने बाटो उत्तरतर्फ भागेपछि प्रहरीले वालवालिकाको टाउकोमा ताकेर गोली चलायो ।

गत बिहीवार बेथरीमा आन्दोलनकारीले स्कटीङ्ग गरेर लैजाँदै गरेका सवारी साधनमाथि ढुगांमुढा गरेपछि केही समयपछि इलाका प्रहरी कार्यालय बेथरीले बाटोमा हिँडिरहेका दुईजना विद्यार्थीलाई पक्राउ गरेको थियो । प्रहरीले विनाकारण निर्दोष विद्यार्थीहरुलाई पक्राउ गरेको भन्दै स्थानीय महिलाहरुले प्रहरी चौकी घेरेका थिएर ।
त्यसपछि रुपन्देहीका एसपी राजेन्द्र ढकालले स्थितिलाई नियन्त्रणमा लिनका लागि इप्रका बेथरीमा गई विद्यार्थीहरुलाई छाड्ने र प्रहरीले सवारी साधन स्कटिङ्ग नगर्ने भनी आन्दोलनकारीसँग सम्झौता गरेको स्थानयीले बताए ।
तर, प्रहरी मंगलबार सवारी साधन स्कटिङ्ग गरेर लैजाने क्रममा आन्दोलनकारीले सवारी साधनमा ढुगंामुढा गरेपछि प्रहरीले अन्धाधुन्द गोली चलाएको हो ।
स्थानीयले आक्रोशित हुँदै गृहमन्त्री वामदेव गौतमलाई सम्झाइदिन भावी प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया 4