+
+

 आइसीयुमा रहेको देश अब बौरेला ?

मरिचमान सरकारको समय (२०४३-४५) मा राष्ट्रलाई भारतको मुट्ठीबाट मुक्त गराई आत्मनिर्भर बनाउन खोज्दा भारत रिसायो | अन्ततः नेपाल-भारत पारवहन सन्धिको म्याद थप्न नमानेर नेपालमाथि आर्थिक नाकावन्दी गर्यो भारतले | नेपालीहरु आत्मनिर्भर र स्वावलम्बनको बाटोतर्फ़ अग्रसर हुँदै थिए त्यसको नेतृत्व सरकारले स्वाभिमानीका साथ हाँकेको थियो |

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १९ गते १०:२०

ज्ञानेन्द्र गदाल/कोलोराडो, अमेरिका 

मरिचमान सरकारको समय (२०४३-४५) मा राष्ट्रलाई भारतको मुट्ठीबाट मुक्त गराई आत्मनिर्भर बनाउन खोज्दा भारत रिसायो | अन्ततः नेपाल-भारत पारवहन सन्धिको म्याद थप्न नमानेर नेपालमाथि आर्थिक नाकावन्दी गर्यो भारतले | नेपालीहरु आत्मनिर्भर र स्वावलम्बनको बाटोतर्फ़ अग्रसर हुँदै थिए त्यसको नेतृत्व सरकारले स्वाभिमानीका साथ हाँकेको थियो | “फुटाउ र राज गर” भन्ने नीति भारतले अपनायो | कथित प्रजातन्त्र दिलाइदिने शर्तमा भारतले नेपालका “वहुदले” हरुलाई तत्कालिन सरकार बिरुद्ध उकास्यो |

Gyanendra-Gadalराष्ट्रभन्दा दल ठूलो ठान्दै कांग्रेस लगायत केहि बामपन्थी समुहहरु प्रजातन्त्र प्राप्तिको वहानामा राष्ट्रियताको साँचो भारतलाई सुम्पिने कर्तुतमा सामेल भए | चन्द्रशेखरको हुटहुटिमा शुरु भएको त्यो आन्दोलनले प्रजातन्त्रसंग राष्ट्रिय स्वाधिनता सट्टा-पट्टा गर्यो | “बहुदले” त्यसका मतियार बने | त्यसैको निरन्तरता हो आजको नियति |

 ५२ सालमा संसदीय व्यवस्थाको बिरुद्धमा माओवादी जन्म्यो | शुरुमा शेर बहादुरले पनि नपत्याएको यो समुह बेवास्ता गर्दा गर्दै गिरिजाको पनि सातो लिने डरलाग्दो शक्ति बन्यो | यति हुँदा पनि माओवादी र राजसंस्थाको सम्बन्ध चाहिं खराव देखिएको थिएन बाहिर त्यसबेला सम्म | राजा बीरेन्द्रसंग त कार्यगत एकता नै छ हाम्रो भन्थे माओवादीहरु | सवल राष्ट्रियता भित्र माओवादी फैलिंदै गएको अवसर थियो नेपालमा त्यसबेला | यहि मौकामा राष्ट्रियतालाई केहि कमजोर पार्न सकियो भने हामी नेपालमाथी खेल्न सक्छौं भन्ने दाउ भारतको थियो |

नभन्दै ०५८ को शुरुमै गिरिजाले भने झैँ कुनै “ग्रान्ड डिजाइन” अनुसार राजा बीरेन्द्रको सपरिवार नाश भयो | यो गम्भीर घटनाबाट एक्लो बचेका ज्ञानेन्द्रलाई वाध्यात्मक परिस्थितिमा राजा बनाइयो | विषम परिस्थितिको सामना गरी प्रजातन्त्रलाई ट्रयाकमा ल्याउन भन्दै प्रत्यक्ष शासन मार्फत राजा स्वयं सकृय भए, यसबाट गिरिजाप्रसाद रुष्ट बने | राजनैतिक दलहरु र प्रतक्ष शासनमा बसेका राजाबीच सम्बन्धको दुरी बढ्न थाल्यो जसका कारण राजा ज्ञानेन्द्र र गिरिजाको शत्रुता बढ्दै थियो |  यसमा खेल्ने मौका पायो भारतले | गिरिजा र प्रचण्डलाई मिलाएर राजा ज्ञानेन्द्र बिरुद्ध उभ्याउने भारतीय खेल-योजना मुताविक गिरिजाको नेतृत्वमा सात दलका नेता, माअवादी अध्यक्ष प्रचण्ड सहित बाबुराम बाह्रबुंदे समझदारी गर्न दिल्ली गए | राष्ट्रिय स्वार्थलाई भारतीयहरुको पोल्टामा राखिदिए, उनीहरुले तयार पारेको कागजमा ल्याप्चे लगाएर आए | गोप्य रुपमा सशस्त्र संघर्षको आठ दलीय नेतृत्व भारतको सहयोगमा अब गिरिजाले लिए, राष्ट्रियताको धरोहर राजसंस्था कम्जोर पार्ने काम त्यहीबेला भयो | यसैको परिणाम हो अहिलेसम्म पनि हाम्रा नेताहरुलाई भारतले केवल आफ्नो कामदार सरह व्यवहार गरिरहेको भान हुन्छ |

एकपटक भारतका विदेशमन्त्री खुर्सिद नेपाल आउँदा भगवान आएझैं माने हाम्रा नेताहरुले | कुटनैतिक मर्यादा पालना गर्नु-गराउनु त परै जाओस् हाम्रा धेरैजसो गणतन्त्रे नेता, पूर्व प्रम समेत दलका नेता सबै खुर्सिदको दर्शन गर्न र उबाट आशिर्वाद लिन लाम लागेर द्वारिका होटेल पुगे चाकडी गरेर आनन्द लिई फर्किए | त्यस्तो हर्कत गरेपछि कुन हैसियत दिन्छ त भारतले यिनीहरुलाई? यसैको निरन्तर परिणाम हो जयशंकरले आज कुनै नेपाली नेताहरुलाई मान्छे नगनेको ज्वलन्त उदाहरण छ |

मोदी आएर “बुद्ध नेपालमै जन्मेका हुन्, रामको ससुराली पवित्र जनक-भूमि नेपाल” भनिदिंदा वेहोशमा संसदभित्र गटट ताली पिटे नेताहरुले, पछि नेपाल हिन्दु राष्ट्र कायम होस् भन्ने तिनै मॊदिको चाहानालाई कदर गर्न पनि इन्कार गर्दै संविधानमा “धर्म निरपेक्षता” कायम गराए । सँगै मिलेर बस्नु परेपछि छिमेकीका पनि केहि कुरा सुन्नु पर्छ | आफुलाई मार नपर्ने कुनै सुझाव भए त्यो मानिदिदा फाइदै हुन्थ्यो नोक्सान हुँदैन | सुझाव र हस्तक्षेप छुट्याउन नसक्दा कहिलेकाहीं व्यवहारमा तल परिन्छ, नेपाल भारत सम्बन्धमा त्यो पनि समस्या छ | जसको समेत परिणाम हो भारतले टुपीमा समातेर रिङ्गाउदैछ हाम्रा नेताहरुलाई अहिले |

सत्तामा पुगेकाले टिकिरहन र सत्ता बाहिर रहेकाले सत्तामा पुग्न गर्ने चाकडी केन्द्रको रुपमा दिल्लीलाई विकास गर्दै गए | एकसे एक नेताहरु निजी र पारिवारिक लाभको लागि दिल्ली वा यसका निकायहरुलाई प्रयोग गर्दै गए | स्थिति यतिसम्म पुग्यो कि नेपालको सार्बभौमसत्ताको कदर नगण्य मान्न थाले भारतीयहरुले | जुन कुरा नेपाली जनताको लागि असह्य भयो | प्रतक्ष्य अप्रतक्ष रुपमा यो अवस्थाप्रति जनताको बिरोध आउन थाल्यो | जनबिरोधको आवाजले उग्र रुप लिन थालेपछि भारतलाई निजी लाभको लागि मात्र प्रयोग गरिरहेका तर औपचारिक रुपमा भारतीय दलाल बनिनसकेका नेता प्रचण्ड जनताको आवाज बोल्ने राष्ट्रिय अखण्डताको पक्षपाति देखिएका ओलीको पक्षमा उभिन थाले | भारत बिरुद्ध यी दुबैको स्वर एक हुन थाल्यो | सामान्य निर्णयको लागि दिल्लीको भर पर्नेहरु, आफ्नो स्वार्थ सिद्धिका लागि दिल्लीकै कृपादृष्टिको अपेक्षा गर्नेहरु नै एक्कासी आफ्नै दाताको खिलापमा उभिएर उनीहरुको स्वार्थ बिरुद्ध टक्टकिन खोज्नु पनि नेताहरुको भूल हो | नयाँ संविधानमा भारतले आशा गरेका मध्ये केहि मात्रै (हिन्दुराष्ट्रसम्म जो सम्पूर्ण नेपालीहरुको आस्था पनि हो) सम्बोधन गरिदिएको भए छिमेकीको पनि मन रहन्थ्यो कि ! एउटा झिनो शंका….| आखिर यो नगर्दा पनि हामी कहाँ महान बन्यौं र !

भारत आफ्ना छिमेकीमाथि हेपाह प्रबृत्ति अवलम्बन गर्छ, नेपालको सन्दर्भमा भारतले त्यो प्रबृत्ति हाम्रै “बहुदले” नेताहरुसंग किनेका हुन् जसको प्रयोग गरेर ऊ नेपाललाई खेलाइरहन चाहन्छ, नेपाललाई आफ्नो अनुकुल बजार बनाइरहन चाहान्छ | ०४६ पछिका हाम्रा नेताहरुमा राजनैतिक दुरदर्शिता देखिएन | देशको आर्थिक, सामाजिक र भौगोलिक क्षेत्र धरासायी पार्न भारतद्वारा मन्दविष प्रयोग गरिएको यिनले पत्तै पाएनन् |  यो दुईदशक भित्र नेपाललाई भारतले आफूखुशी खेलाई मात्र रह्यो |  यो खेलाउने प्रवृत्तिलाई संस्थागत गरि आफ्नो अभिष्ट पुरा गर्न चाहेको छ भारतले | जब देश टुक्र्याउने सम्मको खेल प्रष्ट देखिन थाल्यो भारतीय दलालहरु बाहेकका नेताहरुलाई छटपटी बढ्न थाल्यो |

नेपालले गर्ने हरेक निर्णयहरुमा भारतको अहं भूमिका स्थापित नगरेको भए, नेपालको आन्तरिक गतिबिधिमा भारतलाई गुहार नगरेको भए आजको अवस्था आउने पनि थिएन | भारत एउटा अशल छिमेकी बन्नुको सट्टा नेपाली जनताको नजरमा बेइमान सावित हुनु पर्ने पनि थिएन | परिस्थिति र समय बदलिसकेको छ, भारतलाई सामेल गराई हाम्रा नेताले गरेको हरेक निर्णयहरुमा जनताको अभिमत र सहभागिता नरहेकैले भारतको व्यबहार शत्रुवत बन्न पुगेको हो नेपाली जनताको लागि | तसर्थ नेपालको यो हविगत हुनुमा, नेपाल भारत बीचको  सम्बन्धमा धमिलोपन छाउनुमा भारतको मात्र हात होइन कि नेपाली नेताहरुको अकर्मण्यता पनि हावी भएको छ | पटक-पटकको आन्दोलन नेपाली कांग्रेसकै अगुवाइमा भएकोले देशको यो हविगत हुनुमा मुख्यतः कांग्रेस नै जिम्मेवार हो भन्दा अन्यथा नहोला |

अन्त्यमा,

  • २०४६ सालमा प्रजातन्त्र दिलाइदिन्छु भनेर भारतले एक्लो कांग्रेसलाई उचाल्यो | उद्योग-धन्दा कलकारखानाको बिनास गरि भारतसंग परनिर्भरताको जग बसालियो | सत्तामा रहेका कसैको चेतनाले काम गरेन |
  • ०६२ सालमा गणतन्त्र ल्याइदिन्छु भनेर मधेसी, कांग्रेस, माओवादी र एमालेलाई भारतले नै उचाल्यो | राजतन्त्र मासेर राष्ट्रियता कमजोर पारियो | व्यक्तिको रिसले राष्ट्र कमजोर पार्नु हुन्न भन्ने विवेक कसैमा आएन |
  • २०७२ सालमा त देशै छुट्याइदिन्छु भनेर कांग्रेसको रोहोवरमा मधेसवादीलाई उही भारतले उचालेको छ | यसबेला भने केहि नेताको आँखा खुलेको छ, जनताको साथ लिएर देश जोगाउँछन् कि भन्ने आश सम्म छ |

यी तीनवटै कालखण्डमा कांग्रेसले वन्धक राखेको देश फर्काएर स्वतन्त्र बनाउन सक्ला ओली, दाहाल, थापा सरकारले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?