१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन उपप्रधामन्त्री र चार मन्त्री थपेका छन् ।
यससँगै ओली सरकारमा छ उपप्रधानमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् । १७ मन्त्री र दुई राज्यमन्त्रीसहित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् २८ सदस्यीय भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका उपाध्यक्ष भीम रावलसँगै माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त उपप्रधामन्त्रीत्रयले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको समथ लिएका छन् ।
नवनियुक्त उपप्रधानमन्त्री मध्ये रावलले सहरी विकास, केसीले सहकारी तथा गरिबी निवारण र मैनालीले महिला बालकालिका तथा समाज कल्याण मन्त्रालय सम्हाल्नेछन् ।
यस्तै बिहीबार नै चार मन्त्री थपिएका छन् । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चारमन्त्रीमा शेरधन राई, पर्यटनमन्त्रीमा आनन्द पोखरेल र श्रममन्त्रीमा शान्ता मानवी नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको समथ लिएका छन् । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री कावा ओली, प्रधानन्यायाधीश गिरिशचन्द्र लाल लगायतकाे उपस्थिति थियो ।
केही मन्त्री अझैं थपिने
रक्षासहितका सात मन्त्रालय अझै मन्त्रीविहीन छन् । जसमा भूमिसुधार, युवा तथा खेलकुद, विज्ञान, प्रविधि तथा वातावरण, शान्ति तथा पुननिर्माण, स्थानीय विकास, स्वाथ्य तथा जनसंख्या मन्त्रालय छन् ।
सातै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेका छन् । चार मन्त्रीले भने विभागीय जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको सपथसँगै भएको मन्त्रिपरिषद् गठनमा सहभागी सत्य नारायण मण्डल र रामकुमार सुब्बा विना विभागीय मन्त्री नै छन् । पहिलो विस्तारमा मन्त्री बनेका रामजनम चौधरी र विश्वेन्द्र पासवान पनि अहिलेसम्म विना विभागीय मन्त्री नै छन् ।
यस आधारमा कम्तिमा तीन नयाँ मन्त्री बन्न सक्नेछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय हेर्ने गरी मन्त्री नै नियुक्त हुन सक्नेछन् ।
यसअघि राज्यमन्त्री नियुक्त मेघराज नेपाली निषाद र मुस्ताक आलमले पनि विभागीय जिम्मेवारी पाएका छैनन् । सत्तारुढ दलहरुको तयारी हेर्दा केही राज्य मन्त्री र सहायकमन्त्री समेत थपिनेछ । यसले ओली मन्त्रिपरिषद् जम्बो हुनेछ ।
प्रतिक्रिया 4