+
+

तिहारमा चाहिने १३ चिज : के-केमा बढ्यो भाऊ ?

२५ कात्तिक, काठमाडौं । हिन्दुहरुको महान् सांस्कृतिक पर्व तिहारमा नभई नहुने अत्यावश्यक वस्तुहरु धेरै छन्, जसको अभावमा तिहार अधुरो रहन्छ । ती वस्तुहरु कतिपय नेपालमै उत्पादित हुन्छन् त कति भारतबाट आउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २५ गते १३:२३

TIHAR-2072

रविन्द्र घिमिरे

२५ कात्तिक, काठमाडौं । हिन्दुहरुको महान् सांस्कृतिक पर्व तिहारमा नभई नहुने अत्यावश्यक वस्तुहरु धेरै छन्, जसको अभावमा तिहार अधुरो रहन्छ । ती वस्तुहरु कतिपय नेपालमै उत्पादित हुन्छन् त कति भारतबाट आउँछन् ।

भारतको आयातमा धेरै निर्भर रहेको नेपाली बजारमा भारतीय नाकाबन्दीले तिहारका लागि आवश्यक वस्तुहरुको अभाव सिर्जना गराएको छ । तर, सरकारको कमजोरीको फाइदा उठाउँदै नाकाबन्दीको बाहनामा व्यापारीहरुले प्रायः सबै सामाग्रीहरुको भाऊ ह्वात्तै बढाएका छन् ।

काग पूजादेखि कुकुर गाई, गोरु, लक्ष्मी र भाइपूजासम्मका संस्कारमा धेरै त्यस्ता चीजवस्तु छन्, जुन तिहार मान्नेहरुसँग हुनैपर्छ । तिहारमा चाहिने विभिन्न १३ प्रकारका सामाग्रीको बजारको स्थिति यस्तो छ :

१. घिऊ/तेल : पाउनै गाह्रो

Oil, tihar 2072

मिठाइलगायतका विभिन्न मिष्ठान्न परिकार बनाउने प्रचलनका कारण तिहारमा अन्य समयभन्दा तेब्बर परिमाण तेलको माग हुने गरेको छ । त्यस्तै दियोमा बत्ति बाल्न पनि तेलको प्रयोग हुन्छ ।

भारतको अघोषित नाकाबन्दीपछि बजारमा खाने तेलको अभाव चर्किएको छ । अहिले खानेतेल नै पर्याप्त नपाएपछि सबै गृहिणीलाई तिहारमा सेलरोटी र मिठाई बनाउन समस्या परेको छ ।

भारतबाट आउन छाडेपछि बजारमा अहिले खानेतेल लगभग पाइनै छोडेको छ । केही कम्पनीका तोरिका तेल बजारमा आए पनि सूर्यमुखी र भटमासको तेलको चरम अभाव छ ।

कतै-कतै भेटिने तोरीको तेल पनि पनि प्रतिलिटर २ सय ८० रुपैयाँसम्म बिक्री भएको छ । फाटफुट रुपमा भेटिने केही कम्पनीका सूर्यमूखी र भटमासको तेल बजारमा प्रतिलिटर २ सय ४० रुपैयाँसम्म बिक्री भइरहेको भेटिएको छ ।

अभावको मौका छोपेर तेल उत्पादक कम्पनीले मूल्य दोब्बर बढाएका छन् ।

२. फूल र माला : भाऊ बढ्यो
Flower_Garlen (15)
तिहारमा घर सजाउनदेखि पूजाआजा, म्हपूजा र भाइटीकामा सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग अत्यधीक हुन्छ । यसवर्षको तिहार कात्तिक महिनाको अन्तिममा परेकाले सबैजसो क्षेत्रमा यी फूलहरु फुलिसकेका छन् । बजारमा फूलको अभाव खासै देखिएको छैन ।

तर, इन्धनको अभावले फूलको ढुवानीमा समस्या हुँदा किसानलाई आफ्नो बारीमा उत्पादित फूल बजारसम्म ल्याउन समस्या परेको छ, जसले गर्दा फूलमा मूल्यबृद्धि भएको छ ।

यस वर्षको तिहारमा पनि विगतमा जस्तै भारतबाट समेत फूलको माला आयात भएको छ । भारतले तेलमा नाकाबन्दी गरे पनि कुहिन सक्ने आफ्नो उत्पादनलाई सजिलै भन्सार पास गरेका कारण तिहारमा नेपाली बजारसम्म भारतीय फूलका माला आइपुगेका हुन् ।

अहिले बजारमा एउटा सयपत्रीको माला १ सय रुपैयाँदेखि ६०० रुपैयाँसम्म बिक्री भइरहेको छ । मखमलीको प्रतिमाला ७० देखि १ सय ५० रुपैयाँसम्म बिक्री हुँदैछ । विदेशबाट आएका प्लाष्टिकका नक्कली फूलका माला पनि बजारमा बेच्न राखिएका छन् ।

३. चामलको पीठो : महंगो भयो
Pitho

तिहारमा विभिन्न प्रकारका मिठाइ र सेलरोटी लगायतका परिकार बनाउने प्रचलन छ । जसका लागि चामलको पिठो अनिवार्य नै छ । नाकाबन्दीले भारतबाट चामल आउन कम भएपछि चामलको मूल्य पनि बढेको छ ।

यसअघि ४५ रुपैयाँ प्रति केजी पर्ने चामलको पिठोको मूल्य अहिले बजारमा ६० रुपैयाँसम्म लिन थालिएको छ । सुजी, मैदा, बेसनलगायतको मूल्य पनि बढेको छ ।

४. भाइ-मसला : दोब्बर मूल्यवृद्धि

Vai-Masala,-Tihar-2072

तिहारमा दिदीबहिनीले दाजुभनइलाई टीका लगाएर नरिवल, सुकुमेल, ल्वाङ, सुपाडी, छोकडा लगायतका मिश्रति मसलाजन्य सामाग्रीको प्याकेट दिने प्रचलन छ ।

नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइमसला दिने संस्कार छ । विभिन्न मसलाहरु राखेर तयार गरिने भाइ मसलाका सामग्रीको मूल्य पनि अहिले दोब्बर भएको छ ।

तिहारको भाइ मसलामा प्रयोग हुने नरिवल, छोकडा, काजु, किसमिस लगायत सामग्रीको मूल्य अघिल्लो वर्षको भन्दा निकै माथि गएको हो । बजारमा भाइ मसलाको साना प्याकेटको मूल्य ३० रुपैयाँदेखि ठूलाको १ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ ।

यसैगरी नरिवल प्रतिकिलो ३ सय ५० बाट ५ सय ५० रुपैयाँ, काजु ११ सय ५० बाट १३ सय ५० रुपैयाँ, छोकडा १ सय ५० बाट २ सय ५० रुपैयाँ, बदाम र पेस्ता १४ सय ५० बाट १७ सय ५० रुपैयाँ पुगेको छ ।

अन्य मसलामा १५ देखि ५० प्रतिशतसम्म मूल्य बढेको छ ।

५. फलफूल : छोइनसक्नु भयो

Fruits

तिहारमा स्याउ, सुन्तला, भोगटे, बिमिरो, केरा लगायतका फलफूलजन्य सामग्रीको महत्व पनि अपरिहार्य छ । पूजाआजाको कार्यमा होस्, वा उपहारका लागि, फलफूल तिहारमा नभई सामाग्री हो ।

यसवर्षको तिहारमा फलफूलको मूल्य पनि सामान्य स्थितिमा छैन । स्याउ बजारमा गुणस्तर हेरी प्रतिकिलो १ सय ५० रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्म किनबेच भइरहेको छ ।

अनारको मूल्य प्रतिकिलो ५ सय रुपैयाँभन्दा माथि छ । केरा पनि दर्जनको एक सयदेखि १सय ५० रुपैयाँको हाराहारीमा छ । राम्रोसँग नपाकेको सुन्तला किलोको १३० देखि १ सय ६० रुपैयाँसम्म पर्छ ।

६. अबीर केसरी : भारतको भर

Abir-Tika

तिहारमा टीका लगाउन सात प्रकारका रंगहरुको प्रयोग हुन्छ । विभिन्न पूजाआजामा अबीर र केसरी झनै अनिवार्य मानिन्छ । अबिर केसरी तथा रंगहरुको मूल्य पनि यस वर्ष महंगिएको छ ।

यसमा पनि नेपाली बजार भारतसँगै निर्भर रहेकाले १० रुपैयाँ प्याकेटमा पाइने रंग अहिले २० रुपैयाँ घटि पाइँदैन । यसमा पनि झण्डै दोब्बर मूल्य बढेको छ ।

७. विद्युतीय बत्ती : खर्चको नास

Bijuli Batti

तिहार उज्यालो पर्व भएको घरलाई बत्ती बालेर झिलीमली गराउने प्रचलन छ । शहरी क्षेत्रमा विद्युतीय बत्तीहरु प्रयोग गरी घरलाई सजाउने प्रचलन ब्यापक छ । तर, यसवर्ष यस्ता बत्तिको मूल्य पनि बढेको छ ।

अघिल्ला पर्वहरुमा १ सय ५० रुपैयाँमा पाइने बत्तिको मूलय यसवर्ष २ सय ५० रुपैयाँसम्म पुगेको छ । यस्ता बत्तिहरुमा पनि २५ देखि ५० प्रतिशतसम्म मूल्य बढेको छ । बिराटनगर लगायतका नाकाबाट केही परिमाणमा यस्ता बत्तिहरु आएको ठूलो अभाव भने देखिएको छैन । तर, यस्ता चिजमा पैसा खर्च गर्नु फजूल खर्चजस्तै हुने स्थिति छ ।

८. ओखर : नफटाई नहुने

Okhar

तिहारमा ओखर पनि अनिवर्य मानिन्छ । यसको प्रयोग विशेष गरी भाइटीकाका दिन हुने गर्दछ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । साथैै मसलाका रुपमा पनि यसको प्रयोग हुन्छ । ओखरको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँबाट ८ सय रुपैयाँसम्म पुगेको छ ।

९. मैनबत्ती : स्वदेशमा उत्पादन घट्यो

MainBatti

मैनबत्ती पनि तिहारका लागि अत्यावश्यक सामाग्री हो । तिहारमा घर, आँगन, दैलो चोक पिँडी, छिँडी सबै ठाउँमा उज्यालो राख्नुपर्ने मान्यताअनुरुप यसको प्रयोग बढी हुन्छ । मैनमा भने नेपाल भारतसँग निर्भर हुँदा मैनबत्तीको पनि मूल्य बढेको छ ।

मैनबत्तीको उत्पादन नेपालमै हुने गरे पनि कच्चा पदार्थ नपाएकाले न्यून मात्रामा उत्पादित मैनबत्तीको मूल्य गत वर्षभन्दा बढी भएको हो ।

यसअघि ५० रुपैयाँमा पाइने साना मैनबत्तिको प्याकेटलाई अहिले ८० रुपैयाँ तिर्नुपर्छ ।

१०. पाला/दियो : मूल्य सामान्य

Pala, Diyo

मैनबत्ति जस्तै तिहारमा पालाको प्रयोग उच्च हुन्छ । घर आँगन उज्यालो राख्न पालामा तेल राखेर कपासको बत्ति बाल्ने गरिन्छ । पालको उत्पादन धेरैजसो भक्तपुरमा हुने गरेको छ । स्थानीय उत्पादन भएकाले पालाको मूल्य भने धेरै बढेको छैन । ढुवानी खर्च बढेका कारण पालामा यसअघि भन्दा सामान्य मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । यसमा माटाका दियोहरु प्रयोग हुने भएकाले ती सामाग्री प्रायः महंगो भएका छैनन् ।

११. बत्ती : कपास र धागो पाइएन

दियो र पालामा बत्ति बाल्न कपासको बत्तीको प्रयोग हुने गर्छ । यसको मूल्य भने खासै बढेको छैन । समान्यतया १ हजार बत्ति १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । कतै-कतै मूल्य फरक भेटिन्छ । तर, बत्ति कातेर बेच्नेहरु अहिले धागो र कपास नपाएको गुनासो गर्छन् ।

१२. धूप : भाऊ बढ्यो

तिहारमा अन्य समयमा भन्दा धेरै पूजाआजा गरिन्छ । यो समयमा धूप, अगरबत्ती लगायतको प्रयोग पनि बढी नै हुन्छ । तर, भारतबाट पर्याप्त धूप आएकाले यसको मूल्य खासै बढेको छैन । तर, भारतबाट आएका धूपको मूल्य भने बढेको छ । ढुवानीका कारण मूल्य बढाउनु परेको व्यवसायी बताउँछन् ।

१३. रातोमाटो : बजारमा बिक्री

Rato Mato

तिहारमा साँस्कृतिक मान्यताअनुरुप लक्ष्मी पूजा गर्दा आँगन, वा तुलसाको मोठबाट घरको मूल ढोका, कोठा हुँदै भण्डारसम्म रातो माटोले डोरो बनाएर पोत्ने चलन छ ।

त्यस्तै भाइटीका गर्ने र गोर्बर्द्धन पूजा गर्ने पवित्र स्थानमा पनि रातोमाटोको प्रयोग हुन्छ । त्यसैले यो समयमा बजारमा रातोमाटोको बिक्री हुने गरेको छ । चोकचोकमा माटो भरिएका बोराहरु बिक्रीमा राखिएका छन् । यसरी माटोको बिक्री तिहारबाहेक अरु बेलामा खासै हुँदैन ।

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?