फाइल फोटो
८ मंसिर, काठमाडौं । इन्धन अभाव चर्किंदै जाँदा कालोबजारी बनेपछि प्रहरीले कारबाही थालेको छ । मंसिर १ गते यता मात्र तेल र ग्यासको कालोबजारीमा संलग्न भएको आरोपमा ३७ जनालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले ४ हजार ६ सय ८० लिटर पेट्रोल, ५ सय ५० लिटर डिजेल र २२ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । नाफाखोरी गर्ने उद्देश्यले पेट्रोलियम पदार्थ र ग्यास लुकाएर तोकिएको दररेट भन्दा महंगोमा बिक्री गर्ने काममा संलग्नलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंकाका प्रवक्ता विश्वमणि पोखरेलले बताए ।
प्रहरीले २ सय १० लिटर पेट्रोलसहित मकवानपुरका मानबहादुर बोहरा, १ सय २० लिटर पेट्रोल सहित झापाका हरिचरण पौडेल, २ सय २० लिटर पेट्रोलसहित अर्घखाँचीका कृष्णप्रसाद पाण्डे र ५ सय लिटर डिजेलसहित काठमाडौंका सुरेशलाल श्रेष्ठ पक्राउ गरेको छ ।
यसैगरी ७२० लिटर पेट्रोल सहित सुनसरीका अब्दुल रसिद र सिन्धुपाल्चोकका इन्द्रकुमार लामा पनि पक्राउ परेका छन् । ७० लिटर पेट्रोलसहित कैलालीका दिपेश शाही, २ सय २० लिटर पेट्रोलसहित झापाका सञ्जय महतो र ७० लिटर पेट्रोल सहित पाँचथर यादवकृष्ण संग्रौलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यस्तै काठमाडौंको टोखाबाट कालोजारी गर्ने प्रयोजनले लुकाइराखेको १५ वटा सिलिन्डरसहित स्थानीय धन लक्ष्मी ट्रेडर्स टंकलाल कायस्थ पनि प्रहरीको फन्दामा परेका छन् ।
यस्तै सर्लाही घर भई बानेश्वर बस्ने रामलखन चौधरी पनि ७ वटा सिलिण्डर सहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानहरुमा कालोबजारी गरेर इनध बेच्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
बुधबार इन्धन पाइने पम्पहरूको सूची
प्रतिक्रिया 4