+
+

हतियारसहित आएका १३ भारतीय सुरक्षाकर्मी ७ घन्टा नेपालको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते २१:०९

SSB

१३ मंसिर, काठमाडौं । हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का १३ जवान झापाको केचनबाट पक्राउ परेका छन् । उनीहरू झण्डै ७ घन्टापछि छुटेर भारत फर्किएका छन् ।

सुनसरीका भान्टाबारीमा चार नेपालीलार्इ गोली हानेको घटना सेलाउन नपाउँदै एसएसबीका जवानहरू हतियारसहित नेपाल प्रवेश गरेका हुन् । एसएसबीका जवानहरु हतियारसहित पटक-पटक नेपाल छिर्ने घटनालाई नेपाली अधिकारीहरुले भने हेपाहा प्रपत्ति भनेका छन् ।

हतियारसहितका एसएसबीका जवानहरु ‘तस्करहरु’लाई लखेट्न भन्दै केचना चारमा नेपाली भूमिमा प्रवेश गरेका थिए । सुनसरीको भन्टाबारीमा पनि एसएसबीका जवानहरू तस्करलाई लखेट्ने नाममा नेपाल प्रवेश गरेर गोली हानेका थिए ।

आइतबार विहानै नेपाली भूमिका आएका एसएसबीका जवानहरुलाई स्थानीयले घेरा हालेपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूलार्इ दिउँसो विना कारबाही छाडिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले एसएसबी कमाण्डर बीबी नेगीको जिम्मा लगाएर उनीहरुलाई पठाइएको अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुलाई नेपाली सुरक्षाकर्मीले छाड्न लागेको थाहा पाएपछि स्थानीयले केहीवेर नारावाजी पनि गरेका थिए । सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै भूलवस नेपाली बस्तीमा प्रवेश गरेको उनीहरूले बताएका छन् ।

घटना भएको केचना भारतसँग सीमा जोडिएको झापाको दक्षिणपूर्वी सीमान्त गाविस हो । दुई दिनअघि सुपारी तस्करलाई लखेट्ने भन्दै सोही क्षेत्रमा सीमा नजिक एसएसबीले आधा दर्जन राउन्ड फायरसमेत गरेको स्थानीय बासिन्दा बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?